अस्ट्रेलियामा विदेशी दक्ष कामदारलाई निश्चित मापदण्डसहित भित्र्याउने विषयमा बहस तीव्र बनेको छ। विशेषगरी निर्माण क्षेत्रमा देखिएको दक्ष जनशक्तिको अभाव पूर्ति गर्न निर्माण उद्योगका विभिन्न सरोकारवाला निकायहरूले सरकारलाई विदेशी ट्रेडीलाई आकर्षित गर्ने छुट्टै तथा प्रभावकारी मार्ग बनाउन सुझाव दिएका छन्।
निर्माण क्षेत्रमा दक्ष कामदारको अभाव लामो समयदेखि कायम रहेको छ। Jobs and Skills Australia का अनुसार निर्माण ट्रेडसम्बन्धी सबै पेशा राष्ट्रिय सीप अभावमा परेका थिए। पछिल्लो समय Housing Industry Association (HIA) ले पनि आवास निर्माण क्षेत्रमा दक्ष ट्रेडीको गम्भीर अभाव अझै कायम रहेको जनाएको छ।
उद्योग क्षेत्रका प्रतिनिधिहरूको तर्क छ—“यदि अस्ट्रेलियाले विदेशी विद्यार्थीलाई निश्चित मापदण्ड र भिसा प्रक्रियामार्फत ल्याउन सक्छ भने, आवश्यक सीप भएका विदेशी ट्रेडीलाई पनि त्यस्तै व्यवस्थित प्रक्रियाबाट किन नल्याउने?”
यसरी सरकार अघि बढेमा ब्रिकलायर, टायलर, इलेक्ट्रिशियन, पेन्टर, जोइनर, ड्रेनर, कारपेन्टरलगायत निर्माण क्षेत्रमा आवश्यक दक्ष कामदारलाई अस्ट्रेलिया आउने अवसर विस्तार हुन सक्नेछ।
HIA ले यसअघि नै निर्माण ट्रेडमा दक्ष विदेशी कामदारका लागि भिसा प्रणाली सुधार गर्न र विदेशबाट आएका विद्यार्थी तथा दक्ष व्यक्तिलाई निर्माण क्षेत्रमा तालिम तथा कामसँग जोड्ने नयाँ मार्ग बनाउनुपर्ने प्रस्ताव अघि सारेको छ।
संघीय सरकारले पनि दक्ष ट्रेड कामदारको सीप परीक्षण र मान्यता प्रक्रियालाई तीव्र बनाउनेतर्फ कदम चालेको छ। २०२६–२७ को बजेटमा सरकारले यसका लागि ८५.२ मिलियन अस्ट्रेलियन डलर छुट्याउँदै सीप मूल्यांकन र लाइसेन्सिङ प्रक्रिया छिटो बनाउने योजना अघि सारेको छ।
हालै लागू भएको Ministerial Direction 119 ले पनि निर्माण क्षेत्रका पेशालाई दक्ष भिसा आवेदन प्रक्रियामा उच्च प्राथमिकता दिएको छ।
उद्योग क्षेत्रको अपेक्षा भनेको यस्तो प्रणालीलाई अझ विस्तार गर्दै आवश्यकता पहिचान, सीप परीक्षण, लाइसेन्सिङ र रोजगारदातासँगको समन्वयमार्फत विदेशबाटै दक्ष ट्रेडी ल्याउने स्पष्ट बाटो खोल्नु हो। यसले एकातर्फ निर्माण क्षेत्रमा रहेको जनशक्ति अभाव कम गर्न र अर्कोतर्फ अस्ट्रेलियाको आवास निर्माण लक्ष्य पूरा गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।











