
भैरहवा । बेलहिया बाईपासमा लुटपाट गरि एक जनालाई गोली हानेर फरार भएका २ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । साउन २९ गते रोहिणी गाउँपालिका वडा नम्बर १ मा बेलहिया बाइपास सडकमा रहेको न्यू सिद्धार्थ रेष्टुरेण्टमा लुटपाट गरेको र स्थानीय बिकास गुरुङ्ग माथी गोली प्रहार गरेको आरोपमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुपन्देही जिल्ला मायादेवी गाउँपालिका वडा नम्बर ७ महुवारी बस्ने ३२ बर्षिय पवनराज भर र सिद्धार्थनगर नगर पालिका वडा नम्बर ४ दोगहरा बसने २१ बर्षिय मोहम्मद अरसद मुसलमान (काजु) रहेको रुपन्देही प्रहरी प्रमुख एसपी रविन्द्र रेग्मीले जानकारी दिए । यस्तै घटनामै संलग्न भई गोली हान्ने शुटर कृष्ण भुज भने फरार रहेको रेग्मीले बताए ।
प्रहरीले पक्राउ परेका भरबाट ७६ दशमलव एस७ आरएमओ मेड ईन युएसए लम्बर ७११११ लेखेको अटोमेटिक पेस्तोल समेत बरामद भएको जनाएको छ । यस्तै चोरी भएको मोबाईल फोन समेत बरामद भएको प्रहरीको भनाई छ ।
लुटेरा रोक्न खोज्ने गुरुङ्ग माथि गोली प्रहार
घटना साउन २९ गतेको हो । राती करिब पौने ११ बजे रोहिणी गाउँपालिका वडा नम्बर १ मा रहेको न्यू सिद्धार्थ रेष्टुरेण्टमा पसेर ३ जनाको समूहले हतियार देखाई नगद, सुनका गरगहना र मोबाईल समेत लुटपाट गरि बाईपास हुदै धकधई तर्फ भागेको भन्ने प्रहरीलाई जानकारी प्राप्त भयो । प्रहरी चौकी चनुली बगहाका प्रहरी सहायक निरिक्षक बिर बहादुर थापालाई जानकारी आए पछि उनले बसन्तपुर हुदै बाईपास जाने क्रममा भैरहवा परासी सडक खण्डको बाँया तर्फ सिद्धार्थनगर नगर पालिका वडा नम्बर १ बस्ने २८ बर्षिय बिकास गुरुङ्ग गोली लागी घाईते अवश्थामा फेला परे ।
गुरुङ्गले लुटेराहरुको पिछा गर्दै उनिहरुलाई रोक्न खोजेका थिए । सोही क्रममा एकै मोटरसाईकलमा सवार ३ जना मध्ये बिचमा बसेका कृष्ण भुजले गुरुङ्ग माथि गोली प्रहार गरेको एसपी रविन्द्र रेग्मीको भनाई छ । घाईते गुरुङ्गलाई तत्काल भैरहवा स्थित मेडिकल कलेजमा पु¥याई उनलाई लागेको गोली निकालेको बताउदै रेग्मीले अहिले गुरुङ्गको अवश्था सामान्य रहेको जानकारी दिए ।
गोली हानेर फरार भएका लुटेराहरुको खोजतलाश गर्न ईलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरिक्षक जितेन्द्र श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक बेद बहादुर पौडेल र वडा प्रहरी कार्यालय भैरहवाका प्रहरी निरिक्षक मधु नेपालको टोली खटिएको थियो । प्रहरीले आवश्यक सोधपुछका लागी रेष्टुरेण्टका सञ्चालक लक्ष्मी नेपाली सहित ५ जनालाई नियन्त्रणमा लिएको थियो ।
तीन जना प्रहरी निरिक्षकहरुको टोलीले घटनाको अनुसन्धान गरि ६ दिन भित्र नै २ जना अभियुक्तहरुलाई पक्राउ गरि सार्वजनिक गरेको छ भने एक जनाको खोजी गरिरहेको छ ।
पक्राउ परेका मध्ये पवनराज भर यस अघि पनि सार्वजनिक अपराध, लागुऔषध, डाका चोरी र राहजनी सम्बन्धि मुद्दामा जेल सजाय पाई सकेका छन् । जेलबाट ६ महिना अघि निस्केका उनै राजभरको मूख्य योजनामा संगठित अपराध भएको हो । प्रहरीले समयमै उनिहरुलाई पक्राउ गरि थप अपराध गर्नबाट रोकेको छ ।
पक्राउ परेका दुवै जनामाथि चोरी डकैती, ज्यान मार्ने उद्योग, हाथहतियार खरखजाना मुद्दा चलाईएको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।