मंगलबार , बैसाख २९, २०८३

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा केन्द्रित हुन युवापंक्तिलाई निर्देशन दिएका छन् । माओवादीको सहायक सङ्गठन योङ कम्युनिष्ट लिग (वाइसिएल) को राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै उनले आसन्न निर्वाचनमा पार्टीको पक्षमा एकढिक्का भएर लाग्न निर्देशन दिए ।

‘चुनावी महासङ्ग्राम अगाडि छ, त्यो सङ्ग्राममा युवाले महत्वपूर्ण भूमिका खेल्नु पर्नेछ’, उनले भने, ‘अब तपाईहरु क्रान्तिकारीलाई विजयी गराउने र समाजवादी क्रान्तिको आधार तयार पार्नेमा केन्द्रित भएर लाग्नुपर्नेछ ।’ राजनीतिक सङ्घर्षका क्रममा युवाले खेलेको भूमिका अविस्मरणीय रहेको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा फौजका रुपमा खटिन पनि युवापंक्तिलाई आग्रह गरे । ‘युवा शान्तिपूर्ण फौजका रुपमा खटिनुपर्छ’, अध्यक्ष दाहालले भने ।

राजनीतिक सफलतासँगै अब समाजवादी क्रान्ति सम्पन्न गर्न युवाको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले युवा सक्रियताले माओवादीको नेतृत्वमा समाजवादी क्रान्ति सम्भव हुने बताए । ‘माओवादीकै नेतृत्वमा समाजवादी क्रान्ति अगाडि बढ्ने विषयलाई कसैले पनि रोक्न सक्दैन’, अध्यक्ष दाहालले भने ।

माओवादी केन्द्र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न क्रियाशील रहेको जनाउँदै उनले जनताको विशाल समाजवादी सेना तयार गर्ने र उत्पादन वृद्धिको नयाँ अभियानमा पार्टी केन्द्रित भएको बताए । ‘कम्युनिष्टलाई एकताबद्ध गर्ने अभियान केही कारणले असफल भएको छ, त्यो असफलताबाट हामी निरास हुनु हुँदैन’, उनले भने, ‘फेरि त्यसलाई सफल बनाउन अर्को ढङ्गबाट अगाडि बढाउनुपर्ने छ ।’

वामपन्थीलाई एकताबद्ध गर्दै कम्युनिष्ट आन्दोलनलाई एकीकृत बनाएर समाजवादको यात्रामा अगाडि बढ्ने पार्टीको नीति रहेको उनको भनाइ छ । ‘आत्मनिर्भताका लागि नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गरौँ, सुदृढ सङ्गठन विस्तारका लागि दोस्रो राष्ट्रिय भेला सफल पारौँ’ नारामा आजदेखि सुरु भएको भेलामा भौगोलिक तथा गैरभौगोलिक जिल्ला, प्रदेशबाट ६ सय प्रतिनिधिको सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP