शुक्रबार , बैसाख १९, २०८२

स्थानीय तहको निर्वाचन अन्तर्गत बुटवल उपमहानगरपालिका मेयरका लागि ५ र उपमेयरका लागि ४ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । मेयरका लागि नेकपा एमालेबाट बाबुराम भट्टराई, सत्तारुढ गठबन्धनका तर्फबाट काँग्रेसका खेलराज पाण्डे, राप्रपाबाट मृगेन्द्र शेरचन, जसपा नेपालबाट सुरज घिताड मगर र नेपाल मजदुर किसान पार्टीबाट हरिसुन्दर बासीले उम्मेदवारी दिएका हुन् । यस्तै, उपमेयरमा एमालेबाट सावित्रा अर्याल, सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका चीनबहादुर गुरुङ, जसपा नेपालबाट सम्झना पौडेल र राप्रपाबाट भगवती पाण्डेले उम्मेदवारी दिएका छन् ।

मेयरमा को कस्ता उम्मेदवार ?

एमालेबाट मेयरको उम्मेदवार बनेका बाबुराम भट्टराई राजनीतिक रुपमा भन्दा पनि व्यावसायिक रुपमा बढी परिचित छन् । धेरैले उनलाई बुटवलमा औषधि व्यवसायीका रुपमा चिन्छन् । औषधि उद्योगी र अस्पतालमा लगानीकर्ता समेत रहेका भट्टराई नेपाल औषधि व्यवसायी संघका पूर्व राष्ट्रिय अध्यक्षसमेत हुन् ।

त्यसो त उनले पार्टी राजनीतिमा पनि भूमिका निर्वाह गर्दै आएका छन् । उनले एमालेको केन्द्रीय स्वास्थ्य विभागमा रहेर पनि काम गरे । आफू २०३२ सालदेखि नेपालको कम्युनिस्ट आन्दोलनमा सक्रिय रहेको बताउने भट्टराईले २०६२÷६३ सालको जनआन्दोलनमा आकस्मिक राहत कोषका संयोजक भएर बुटवलमा काम गरेका थिए ।

एमालेको लुम्बिनी प्रदेश कमिटी सदस्यका रुपमा रहेकै अवस्थामा उनले पार्टीका तर्फबाट बुटवल उपमहानगरको मेयरमा उम्मेदवारी पाएका हुन् ।

सत्तारुढ गठबन्धनबाट मेयरमा उम्मेदवारी दिएका काँग्रेस नेता खेलराज पाण्डे २०७४ सालको निर्वाचनमा पनि मेयरमा उम्मेदवार बनेका थिए । तीन पटकसम्म काँग्रेसको बुटवल नगर सभापति बनेका पाण्डेले २०३९ सालदेखि राजनीतिक जीवन सुरु गरेका थिए ।

पाण्डे २०४७ सालमा बुटवल बहुमुखी क्याम्पसमा नेविसंघको उपसभापति भएका थिए भने तरुण दलको विभिन्न पदमा बसेरसमेत काम गरे ।

राप्रपाको तर्फबाट बुटवलको मेयरमा उम्मेदवारी दिएका मृगेन्द्र शेरचन बुटवलवासीका लागि परिचित नाम हो । उनी बुटवलमै जन्मिएका हुन् भने बुटवललाई नै कर्मथलो बनाएका छन् । विद्यार्थी जीवनमै स्काउट सचिव भएर काम गर्दै समाज सेवामा सक्रिय उनी काठमाडौंस्थित पब्लिक युथ कलेजमा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिसमेत बनेका थिए । २०४६ सालको राजनीतिक परिवर्तनपछि भएको पहिलो स्थानीय तहको निर्वाचनमा पनि उनी बुटवलको मेयरमा उठेका थिए ।

जसपा नेपालबाट मेयरमा उमेदवार दिएका सुरज घिताड मगर बुटवल वडा नम्बर ८ निवासी हुन् । विद्यार्थी राजनीतिबाट आएका मगर अहिले जसपाको बुटवल नगर सदस्य र पार्टीको भ्रातृ संगठन युवा समाजवादी बुटवलका नगर अध्यक्ष हुन् । देशको विकासका लागि युवाहरु राजनीतिमा आउनुपर्छ भन्ने मान्यताका साथ आफू राजनीतिमा अगाडि बढेको उनको भनाइ छ ।

यस्तै नेपाल मजदुर किसान पार्टीबाट मेयरमा उम्मेदवारी दिएका हरिसुन्दर बासीले जन्मथलो भक्तपुर हो । पार्टीले संगठन बनाउन खटाएपछि उनी २०५८ सालमा बुटवल आएका हुन । बुटवल बहुमुखी क्याम्पसमा अध्ययन गर्दै उनले पार्टीको संगठन विस्तारको काम सुरु गरेका थिए । पार्टीको जिल्ला नेतृत्व सम्हालिसकेका उनी यसअघि पनि बुटवलको मेयरमा उम्मेदवार बनेका थिए ।

यी हुन् उपमेयरका चार उम्मेदवार

नेकपा एमालेबाट उपमेयरमा उम्मेदवारी दिएकी सावित्रा अर्याल महिला अधिकारको क्षेत्रमा क्रियाशील नाम हो । अधिकारकर्मीका रुपमा विभिन्न संघ संस्थामा काम गरे पनि अर्याल पार्टीको केन्द्रीय सदस्यसमेत हुन् ।

सत्तारुढ गठबन्धनबाट उपमेयरका उम्मेदवार बनेका चीनबहादुर गुरुङ नेकपा एकीकृत समाजवादीका स्थानीय नेता हुन् । यातायात मजदुरको नेताबाट राजनीतिमा उदाएका उनी २०४० देखि बुटवलमा बसेर काम गर्दै आएका छन् । सरल स्वभावका गुरुङ २०५५ सालदेखि एमालेमा सक्रिय थिए । उनी २०६२/६३ को जनआन्दोलनमा घाइतेसमेत भएका थिए ।

हाल एकीकृत समाजवादी पार्टीका प्रदेश सदस्य तथा बुटवल नगर अध्यक्ष रहेका उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा बुटवल–३ मा वडा सदस्यमा निर्वाचित भएका थिए ।

यस्तै जसपा नेपालबाट उपमेयरमा उम्मेदवार बनेकी सम्झना पौडेल बुटवल–११ देवीनगरकी स्थायी बासिन्दा हुन् । उनी जसपा नेपालको नगर समिति सदस्य पनि हुन् । उनले समाजसेवामा पनि आफूलाई सक्रिय गराउँदै आएकी छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उपप्रमुखमा उम्मेदवार बनेकी २५ वर्षीय भगवती पाण्डे राप्रपाको क्षेत्रीय कोषाध्यक्ष हुन् । उनी नेपाल ट्रेड युनियन महासंघको जिल्ला अध्यक्ष पनि हुन् । १६ वर्षको उमेरमा एसएलसी दिएसँगै राजनीतिमा सक्रिय भएको बताउने उनी एक सफल उद्यमी पनि हुन् ।
@ratopati

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP