मंगलबार , बैसाख २९, २०८३

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको ध्यान धमाधम क्यासिनो लाइसेन्स वितरणमा रहेको पाइएको छ । मन्त्री आलेले साढे ३ महिनाको बीचमा ६ वटा क्यासिनोलाई सञ्चालन इजाजत पत्र (लाइसेन्स) बाँडेका छन् ।

चुनावी खर्च उठाउनका लागि आलेले विना अध्ययन लाइसेन्स बाँड्ने काम गरेको आरोप मन्त्रालयकै कर्मचारीले लगाएका छन् ।

यता मन्त्री आले भने आफूले मन्त्रीको अधिकार प्रयोग गरेरै लाइसेन्स वितरण गरेको दाबी गर्छन् ।

प्रस्तुत छ,

कुराकानीको सम्पादित अंशः

तपाईं आएपछिको साढे ३ महिनामै ६ वटा क्यासिनोलाई लाइसेन्स बाँडिसक्नुभयो नि किन ?

अनि संस्कृति मन्त्रीले क्यासिनोलाई लाइसेन्स नदिएर के दिन्छ त ? हिजैदेखि भन्दै आएको छु, क्यासिनो सञ्चालन गर्छु भन्नेलाई लाइसेन्स नदिएर के म धानको बाला बिउ बाँड्दै हिँडौं ?

अहिले पर्यटन क्षेत्र ठप्प छ । त्यसमा पनि नेपालका लागि कति आवश्यक छ र कतिलाई अनुमति दिनुपर्छ भन्ने विषयमा अध्ययन हुनुपर्नेमा त्यसो नगरी लाइसेन्स बाँड्नु उपयुक्त हो त ?

अहिले उपयुक्त समय नै हो । यसमा सम्भावना पनि छ । नेपाली क्यासिनोमा जान पाउँदैनन् । विदेशी मात्रै जान पाउँछन् । त्यसैले विदेशी पर्यटक आकर्षित गर्न हामीले अनुमति दिनुपर्छ । क्यासिनो सञ्चालकले मापदण्ड पूरा गरेर आएपछि दिनुपर्छ । ५/६ वटा मात्रै हैन अझै २० वटालाई दिने हो ।

भनेपछि आएकालाई मात्रै कि बोलाएर पनि दिने ?

दिने हो । मापदण्ड पुर्‍याएर आउँछन् भने २० वटालाई पनि अनुमति दिने हो । दिनुपर्छ । जति आउँछन् त्यसलाई रोक्ने काम हुँदैन । यसले राजस्व वृद्धि गर्ने काम गर्छ । पर्यटकलाई उत्साहित गर्छ । त्यसो हुनाले मेरो मन्त्रालय पनि त्यही (क्यासिनो) सम्बन्धित नै भएकोले जति आउँछ, सबैलाई दिनुपर्छ भन्नेमै छ । मापदण्ड नपुगेकालाई दिइँदैन । प्रक्रिया पूरा भएकालाई रोक्ने काम पनि मबाट हुँदैन ।

कतिसम्म आवश्यक छ भनेर हेर्ने कुनै स्पष्ट व्यवस्था पनि त चाहिएला नि ?

त्यो विषयमा मलाई थाहा हुँदैन । पर्यटन विभागको महानिर्देशकलाई थाहा हुन्छ उहाँलाई सोध्नुहोला ।

अहिलेसम्म रोकिएकाको हकमा पनि के कारणले रोकियो भन्नेसम्म सोधखोज भएन । लाभ मात्रै हेर्नुभयो भन्ने आरोप छ नि ?

तपाईं दिने मात्रै कुरा नगर्नुस् । अहिलेसम्म कसैले असुलउपर नगरेको राजस्व मैले असुलउपर गरेको छु । म आएपछि मात्रै क्यासिनोबाट ४० करोड रुपैयाँ राजस्व संकलन भएको छ । यस्तो रकम पुस मसान्तभित्र नबुझाए क्यासिनोको लाइसेन्स क्यान्सिल गर्न भनेर कडा निर्देशन दिएको थिएँ । निर्णय पनि भएको छ । त्यही आदेशले ४० करोड रुपैयाँ उठिसकेको हो ।

एकजना माइक बोल्सोभर भन्ने विदेशी नागरिक क्यासिनो सञ्चालन गरेको पैसा नतिरी अमेरिका भाग्न खोज्दै थियो, मैले समातेर १३ करोड रुपैयाँ बैंक ग्यारेन्टी भराएको छु । यो समेत गरेर ५३ करोड रुपैयाँ राजस्वमा दाखिला भैसक्यो । विगतकाले राजस्व उठाउने काम गरेकै थिएनन्, त्यो काम मैले गरेको छु ।

मन्त्रीको ध्यान थलिएको पर्यटन सुधार गर्नतिर लागेन, क्यासिनोको लाइसेन्समा मात्रै बढी केन्द्रित किन भयो त ?

राजस्व उठाउन, क्यासिनोको माध्यमबाट राजस्व वृद्धि गर्न लागेको हुँ । नेपाल सरकारले अहिले कोरोनाले थिलोथिलो भएको बेलामा राजस्व उठाउनुलाई पनि ध्यान दिनुपर्ने छ । त्यहीँ काम गर्न म पनि लागेको हो । आर्थिक मन्दी भएको बेलामा क्यासिनोले लाइसेन्स पाउँदा राजस्व वृद्धि नै हुन्छ ।

ठूला क्यासिनोले लाइसेन्स पाउँदा दुई महिना होस् वा एक वर्ष, जति चले पनि राज्यलाई एउटैले साढे ६ करोड रुपैयाँ तिर्छ । यसले राजस्व वृद्धि नै भएको छ । कसैले व्यवसाय गर्छु, कर तिर्छु भन्दा दिनुपर्छ, कि त मन्त्रिपरिषद्बाट निर्णय गरेर बन्द नै गर्नुपर्छ । व्यवसायीको क्यासिनो खोल्ने हक अधिकार खोस्नु त भएन नि । कानूनविपरीत म गएको छैन ।

प्रक्रियागत रूपमा तलैबाट आएको प्रस्तावलाई स्वीकार मात्रै गरेको हुँ । क्यासिनोको विषयमा पर्यटन विभागले, मन्त्रालयको फोकल व्यक्तिले हेर्छ भने त्यसको लागि निरीक्षण टोली पनि हुन्छ । प्रक्रिया पुर्‍याएको अवस्थामा मात्रै लाइसेन्स दिने गरेका छौं । प्रक्रिया र मापदण्ड पूरा गरेकालाई हामीले रोकेका छैनौं । रोक्न पनि मिल्दैन । मापदण्ड नपुगेकालाई दिएका छैनौं र दिँदा पनि दिँदैनौ ।

कोरोना भएर आइसोलेसनमा बस्दा पनि लाइसेन्स बाँड्न छाड्नुभएन । त्यो बेला पनि २/४ दिन पनि नपर्खिँदा शंका झन् बढ्यो नि मन्त्रीज्यू ?

अनि मन्त्री होम आइसोलेसनमा हुँदा काम नगरी बस्ने भन्ने हुन्छ? मेरो ड्युटी त २४ सै घण्टा हो नि । मन्त्रीले शनिवार वा बिदाको दिन काम नगर्ने भन्ने हुँदैन । मैले राज्यबाट सेवा सुविधा लिइसकेपछि होम आइसोलेसन होस् कि शनिवार, केही भन्नु हुँदैन । २४ सै घण्टा राज्यका लागि, देश र जनताका लागि काम गर्नुपर्छ ।

चुनावी खर्च उठाउन क्यासिनो लाइसेन्स बाँड्नुभयो भन्ने आरोप छ नि ?

ती फटाहा हुन् । त्यसो भन्ने मान्छेहरू पागल हुन् । त्यो भनाइमा कुनै तुक छैन् । कसैबाट १ रुपैयाँ मात्रै मैले लिएको छ भने प्रमाण देखाऊन् । मेलै मन्त्रीको हैसियतमा के सजाय भोग्नुपर्छ, म अहिल्यै तयार छु । राज्यलाई फाइदा हुन्छ, पर्यटन प्रबद्र्धन हुन्छ भन्ने हेतुले मैले त्यो (लाइसेन्स) दिएको हुँ । त्यो पनि प्रक्रिया पूरा गरेर ल्याएको खण्डमा मात्रै मैले दिएको हुँ । प्रक्रिया पूरा नभएकोलाई हामीले दिएका छैनौं, रोकेका छौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP