मंगलबार , भाद्र १६, २०८३

बस्ती नजिकै प्राकृतिक स्रोत, सम्पदा उपलब्धता हुँदाको प्रत्यक्ष अप्रत्यक्ष फाइदा स्थानीय बासिन्दाले मनग्गे लिने गरेका उदाहरण धेरै भेटिने गरेका छन् । प्राकृतिक सम्पदा वरदान साबित हुँदा स्थानीय बासिन्दाको आर्थिक स्तरमा वृद्धि भई जीवनशैलीमा पनि परिवर्तन हुने गरेको छ तर मकवानपुरको चुरे, शिवालिक भेगका बासिन्दाका लागि बस्ती नजिकै रहेको युरेनियम खानी वरदान होइन, अभिशापजस्तै भएको छ ।

खानी नजिकका बासिन्दा वर्षौंदेखि युरेनियम विकिरणयुक्त पानी खान बाध्य हुँदै आएका छन्, जसका कारण यहाँका बासिन्दा जटिल खालका रोगबाट पीडित हुने गरेका छन् । जिल्लाको बकैया गाउँपालिका–२ स्थित धियाल क्षेत्रमा खोज अनुसन्धानबाट युरेनियमको खानी भेटिएको पत्ता लागेको लामो समय भइसक्दासमेत उचित व्यवस्थापन नहुँदा स्थानीयवासीका लागि युरेनियम खानी दुःख बन्दै आएको छ । खानी नजिकका बासिन्दालाई रोजगारीका अवसर दिनुपर्ने बेलामा खानी पत्ता लागेर पनि सुखको अनुभूति गर्न सकेका छैनन् ।

सन् १९९० को दशकमा साबिकको धियाल गाउँ विकास समितिमा पर्ने कालापानी खोला, तीनभँगाले, आँपदमार खोलालगायत स्थानमा अन्वेषणबाट बहुमूल्य युरेनियम खानी फेला पर्दा अन्वेषणकर्ता र सरकारी अधिकारीहरू जति खुसी थिए, त्योभन्दा बढी स्थानीय बासिन्दाले हर्ष मनाएका थिए । स्थानीय बासिन्दामा विकास आउने आशा र अपेक्षा थियो तर अहिले युरेनियम खानी हुँदै बग्ने पानी खान बाध्य स्थानीय बासिन्दाका लागि युरेनियम खानी वरदान होइन, अभिशापमा परिणत हुँदै गएको छ ।

खानी तथा भूगर्भ विभागले पछिल्लो पटक आर्थिक वर्ष २०६९/२०७० र आव २०७०/२०७१ मा प्रारम्भिक अन्वेषण गरेको थियो । खानेपानीको वैकल्पिक स्रोतको व्यवस्था नहुँदा कालापानी, बरबोट, झल्ला, तीनभँगाले, दोभान, लामाडाँडा, टोङटोङ बस्तीका झन्डै तीन सय घरधुरीसहित स्थानीय भूमेश्वरी आधारभूत विद्यालयका छात्रछात्रा युरेनियम खानीबाट निस्किएको विकिरणयुक्त पानी पिउन बाध्य छन् । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP