मंगलबार , भाद्र १६, २०८३

सिन्धुपाल्चोककी १४ वर्षीया किशोरी रोशनी श्रेष्ठमा टाउकोसम्बन्धी समस्या भएपछि उनको परिवार उपयुक्त उपचारको खोजीमा थियो । कैयन् पटक अस्पताल पनि लगियो, तर टाउको दुख्ने समस्या निको नभएपछि उनकी आमालाई कसैले सुनायो– काठमाडौंको नागार्जुन नगरपालिका १ स्थित पानी ट्याङ्कीमा चर्चित धामी छन्, त्यहाँको ‘धामी आश्रम’मा लैजाऊ ।

छोरीको समस्या निको हुने ठानेर श्रेष्ठकी आमा गत पुस ३ गते त्यही धामीकहाँ पुगिन् । उनले छोरीको समस्याबारे धामी उमा शाही ठकुरीलाई बेलिबिस्तार लगाइन् । सबै समस्या सुनेपछि धामीले आफूले समस्या निको पार्नेमा आस्वस्त पार्दै छोरीलाई छाडेर जान भनिन् । धामीले निको पार्ने भनिसकेपछि सोहीअनुसार छोरी छाडेर फर्किइन् आमा । तर, बिडम्बना धामीकहाँ छाडेर गएको २१ दिनपछि अर्थात शनिबार उनै छोरीको कहिल्यै नफर्किने गरी संसारबाट बिदा भएकी छन् ।

पीडितका एक आफन्तले धामीले कुटपिट गरेर रोशनीको हत्या गरेको दावी गरे । मृतकको शरीरका विभिन्न भागमा निलडाम देखिएको छ भने नाकबाट रगत बगेको र रगत जमेको अवस्थामा देखिएको छ । रहस्यमय ढंगले मृत्यु भएको रोशनीको धामीले त्रिशूलले घोचेर गएराति हत्या गरेको आफन्तले दावी गरेका छन् ।

शनिबार बिहानै धामीको त्यो अशुभ खबर !

मृतकका आफन्तका अनुसार टाउको दुख्नेबाहेक मृतकका खासै समस्या थिएन । १४ वर्ष भएपनि १८ वर्षको जस्तै हट्टाकट्टा देखिन्थिन् रोशनी । ‘सामान्य कहिलेकाहीँ टाउको दुख्ने समस्या थियो । आमाले धामीबारे थाहा पाएपछि त्यहाँ लगेर पुस ३ गते छाड्नुभएको रहेछ’, ती आफन्तले भने, ‘धामीले ट्रस हालेर बसोबास गरेको रहेछ । त्यहाँ पुर्याउँदाखेरी तपाईँको बच्चालाई सबै ठीक पार्छु, मेरो जिम्मा छाडिदिनु भनेपछि छाडिएको हो ।’

तर गएराति कुटपिट भएर रोशनी बेहोस भएपछि अवस्था जटिल भएको भन्दै आमालाई खबर गरिएको पीडितको भनाइ छ । धामीले खबर गरेपछि आफन्त पुगेर स्वयम्भुस्थित मनमोहन अस्पताल लगेपनि पहिल्यै बच्चाको मृत्यु भएको जानकारी गराइएको थियो ।

‘नाकबाट आएको रगत जमेर जाम भएको थियो । जिउभरी निलडाम र त्रिशूलले घोचेको देखिने डामहरु थियो’, आफन्तहरुले दावी गरेका छन् । मृतकको शव अहिले पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

धामी पक्राउ, हिरासतमा जादुकला

​पीडित परिवारको उजुरीपछि प्रहरीले धामी ठकुरीलाई पक्राउ गरेको छ । हिरासतमा पनि धामीले काप्नेदेखि अनेक जादुकला देखाउने गरेको पीडितहरुले बताएका छन् । पीडितले शनिबार नै धामीलाई हिरासतमा राखिएको महानगरीय प्रहरी वृत्तमा पुगेर कडाभन्दा कडा कारबाहीको माग गरेका छन् । स्वयम्भुका डीएसपी मिलन केसीले पीडकलाई प्रक्रियाअनुसार कारबाही गरिने विश्वास दिलाएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दीनेशराज मैनालीले पनि घटनापछि प्रहरीले धामी ठकुरीलाई पक्राउ गरेको बताए । मृतकको शव पोस्टमार्टमका लागि पठाइएको भन्दै उनले यसबारे अनुसन्धान सुरु गरिएको बताए ।

मृतक रोशनी कक्षा ७ मा अध्ययनरत थिइन् भने उनका बाबु रणबहादुर विगत ७ वर्षदेखि वैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा छन् । छोरी निको हुने आशमा धामीको जिम्मा लगाएको श्रेष्ठ परिवारलाई छोरीको अप्रत्याशित मृत्युले बज्रपात भएको छ ।

राजधानीमा धामीको उपचार केन्द्रमा यौन हिंसादेखि यातनासम्मका घटनाहरु बेलाबेलामा बाहिरिने गरेका छन् । धामीझाँक्री उपचार पद्धति अन्धविश्वास भएपनि कतिपयले यसमै विश्वास गर्दा बेलाबेलामा यस्तै दुर्घटनाहरु बाहिरिने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP