मंगलबार , बैसाख २९, २०८३

चिसोबाट जोगिन झ्यालढोका बन्द गरी आगो, कोइला, ग्यास गिजर वा हिटर बालेर सुत्दा सतर्क हुनुहोस् । सामान्य असावधानीले ज्यान गुम्न सक्छ । यस्तै घटना बाँकेमा भएको छ । नेपालगञ्जस्थित भेरी अस्पताल परिसरमा रहेको कर्मचारी आवास गृहमा बिहीबार बिहान यस्तै असावधानीका कारण एकै परिवारका चार जनाले अकालमै ज्यान गुमाउनुप¥यो । तीन जना सख्त घाइते छन् ।कर्णाली प्रदेश मेडिकल स्टोर कार्यालयका कर्मचारी कालीकोट खाँडाचक्रका २४ वर्षीय धनप्रसाद भट्टराई, आमा कोकिला, दिदी नन्दकला र नन्दकलाकी तीन महिनाकी छोरीको मृत्यु भएको हो । धनप्रसादकी श्रीमती सुशीला, तीन वर्षको छोरा दिवश र भाइ नरेन्द्रको उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले चिसो बढेपछि कोठा न्यानो पार्न कोइला बालेर सपरिवार आवास गृहको भुइँ तलाको एउटा कोटामा सुतेका र झ्यालढोका पूर्ण रूपमा बन्द रहेको बताए। “चिसोमा कोठा तातो पार्न झ्यालढोका बन्द गरी कोइला बालेर सबै जना सुतेको हुनुपर्छ” घटनास्थल विवरण सुनाउँदै उनले, “थप कारण पोस्टमार्टम रिपोर्टबाट खुल्नेछ ।”

बिहान अबेरसम्म भट्टराई परिवार नउठेपछि अन्य छिमेकीले नै ढोका ढक्ढक्याएर उठाउने प्रयास गरेका थिए । कोही नउठेपछि प्रहरीलाई खबर गरिएको थियो । नन्दकला केही दिनअघि मात्र भाइ र आमा भेट्न आवास गृहमा आएका थिए। यसअघि दोलखाको तामाकोसी गाउँपालिका–२ स्थित झुलेमा पनि श्यामबहादुर तामाङ, उनकी पाँच दिनकी सुत्केरी पत्नी अम्बिका र शिशुको निसास्सिएर मृत्यु भएको थियो । गत मङ्सिर १५ गते सुत्केरीलाई न्यायो पार्न कोइला बालेर सुतेको तामाङ परिवार भोलिपल्ट मृत अवस्थामा फेला परेको थियो ।

सामान्य सावधानी नअपनाउँदा आर्थिक वर्ष २०७८/७९ मा १० जनाले ज्यान गुमाएका छन् । दोलखामा तीन, काठमाडौँमा दुई, बाँकेमा चार र जुम्लामा एक जनाले ज्यान गुमाए । कोइला, दाउरा, ब्रिकेट, ग्यास गिजर, हिटर, होलोजन हिटरबाट प्रशस्त मात्रा कार्बन मोनोअक्साइड ग्यास निस्कने गर्छ । यसले कोठामा अक्सिजनको कमी हुन गई निसास्सिएर मानिसको मृत्यु हुने गर्छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरले चिसोमा आगो, कोइला, ब्रिकेट, ग्यास गिजर र हिटरजस्ता वस्तुको प्रयोग गर्दा असावधानी र लापरबाहीले क्षति पुग्ने गरेको बताए। झ्यालढोका र भेन्टिलेसन बन्द गरेर सुत्दा अक्सिजन अभाव भई ज्यान गुमाएका तथा आगलागीका घटना बारम्बार दोहोरिने गरेका छन् ।

२०७६ साल माघमा मकवानपुरको दामनस्थित एभरेस्ट पानोरा रिसोर्टमा पनि अक्सिजनको अभावमा निसास्सिएर आठ जना भारतीय पर्यटकको मृत्यु भएको थियो । केही दिनअघि काठमाडौँको म्हैपीमा १५ वर्षीय बालिका र बागबजारमा १८ वर्षीय विद्यार्थीको मृत्यु भएको थियो ।

नेपाल प्रहरीका अनुसार २०७५ देखि २०७८ पुस १५ गतेसम्म ३५ जनाको निसास्सिएर मृत्यु भइसकेको छ भने १५ जना घाइते भएका छन् । तीमध्ये ११ जनाको स्नानगृहमा ग्यास गिजर तथा हिटरमा नुहाउँदै गर्दा निसास्सिएर मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP