मंगलबार , बैसाख २९, २०८३

प्रधानमन्त्री शेरबहादुर देउवा आउँदो २५ पुसमा भारत भ्रमणमा जाने तयारी रहेको छ । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा तीनदिने भारत भ्रमणमा जान लागेका हुन् ।

२९ असारमा देउवा प्रधानमन्त्री बनेपछि ३ साउनमा संसद्बाट दुई छिमेकी देश चीन र भारतबीच कूटनीतिक सन्तुलन कायम गर्ने उद्घोष गरेका थिए ।

नेपालसँग पछिल्लो दुई वर्षमा सीमा विवादका कारण चिसिएको सम्बन्ध सुधारका लागि प्रधानमन्त्री देउवाले द्विपक्षीय भेटवार्ताबाट कसरी हल गर्छन् हेर्न बाँकी छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा सबै दलको सहमतिमा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई संसद्बाट संविधान संशोधन गरेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरिएको थियो ।

सो भूमि नक्सामा कायम भए पनि अझै पनि नेपालको अधीनमा आइसकेको छैन । नेपालको मिचिएको सो भूमिकै कारण दुई देशको सम्बन्धमा तिक्तता आएको थियो । प्रधानमन्त्री देउवाको सो विषयलाई आफ्नो एजेन्डा बनाएर भारतीय समकक्षीसँग आफ्नो कुरा राख्नुपर्ने चुनौती छ ।

नेपालले नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेपछि कालापानी र सुस्ता क्षेत्र १३ वर्षअघि नेपाल र भारतका अधिकारीले यसलाई ‘नटुंगिएको मुद्दा’का रूपमा थाती राख्न सहमत भएका थिए । तर, अहिले नेपालले नयाँ नक्सा जारी गरेपछि भूमि फिर्ताको विषय मुख्य एजेन्डा बनेको छ ।

त्यस्तै नेपाल र भारतबीच भएका सन्धिसम्झौता पुनरावलोकनका लागि सुझाव दिन बनेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी)ले प्रतिवेदन तयार गरेको तीन वर्ष बितिसक्दा पनि भारतीय पक्षले त्यसलाई बुझ्न आलटाल गरिरहेको छ ।

कहिले प्रधानमन्त्रीको व्यस्तता त कहिले चुनावको बहाना बनाउँदै भारतले प्रतिवेदन बुझ्न आनाकानी गर्दै आएको हो । प्रधानमन्त्री तहमा भएको सहमतिअनुसार नेपाल–भारत १९५० लगायतका सन्धि र सम्झौता पुनरावलोकनका लागि सुझाव दिन २०७३ सालमा ईपीजी गठन गरिएको थियो ।

ईपीजीको दुईवर्षे समयावधि २० असार २०७५ मै सकिएको हो । काठमाडौंमा बसेको ईपीजी अन्तिम (नवौं) बैठकमा दुवै पक्षका सदस्यले संयुक्त प्रतिवेदनमा हस्ताक्षर गरेका थिए । अन्तिम बैठकमा दुवै मुलुकका प्रधानमन्त्रीलाई औपचारिक कार्यक्रमबीच प्रतिवेदन हस्तान्तरण गर्ने तालिका तय भएको थियो ।

साथै पहिले भारतीय प्रधानमन्त्रीलाई र त्यसपछि काठमाडौंमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाउने समझदारी भएको थियो । तर, भारतीय पक्षको अनिच्छाका कारण ईपीजी प्रतिवेदन ‘औचित्यहीन’ बनेको छ । ईपीजी प्रतिवेदन बुझ्ने विषयमा भारतीय प्रधानमन्त्रीसँग देउवाले भेटवार्तामा आफ्नो कुरा राख्ने विषय एजेन्डा बनेको छैन ।

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार आउँदो २५ पुसमा प्रधानमन्त्रीको भारत भ्रमणको कार्यतालिका बनाइएको आजको राजधानी दैनिकमा खवर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP