मंगलबार , जेठ ७, २०८२

गौरीगञ्जमा भारतसँग सिमाना जोडिएको गौरिया खोलामा बाढीले पुरिएको एउटा सीमास्तम्भ दुई वर्ष बितिसक्दासमेत यथास्थितिमा उठाउन पहल भएको छैन । यसबाट सीमाकै अस्तित्व सङ्कटमा परेको छ । गौरीगन्ज गाउँपालिका–४ बाह्रसुदीमा रहेको १४९ शृङ्खलाको २४ नम्बर सीमास्तम्भ २०७६ सालको बर्खा याममा गौरिया खोलाको बाढीले ढलेको थियो । बाढीले ढलेको सीमास्तम्भ गत वर्षा यामको बाढीले झन् पुरिएको छ ।

पानीको सतहमाथि सीमास्तम्भको अलिकति मात्र भाग देखिन्छ । त्यसमाथि बसेर भारतीय नागरिकले लुगा धुने काम गर्दै आएका छन् । ढलेको सीमास्तम्भ बालुवाले पुरिँदै गएको हुँदा यसको तत्काल मर्मतसम्भार गर्न आवश्यक देखिएको छ । सो स्थानको नजिक नेपालतिर मुसहर बस्तीका रुपमा चिनिएको बाह्रसुदी गाउँ छ भने भारततिर किशनगञ्ज जिल्लाको खनियावाद छ । एक किलोमिटर उत्तरमा नेपाल र भारत दुवैतर्फका सुरक्षा पोस्ट छन् ।

बाढीले सीमास्तम्भ ढालेका बेला नै स्थानीय सञ्चारमाध्यमले यसको समाचार प्रकाशित गरेका थिए । त्यसबेला दुवै देशका सीमा सुरक्षा हेर्ने सुरक्षाकर्मी र प्रशासनका अधिकारी ढलेको सीमास्तम्भको निरीक्षणमा आएको स्थानीय आत्माराम राजबंशी बताउँछन् ।

“सीमा जस्तो संवेदनशील विषयमा दुवै देशको प्रशासनिक निकायले बेलैमा ध्यान नपुर्याएको देख्दा आश्चर्य लाग्छ”, गौरीगञ्जका बासिन्दासमेत रहेका सम्पादक राजवंशीले भने, “ढलेको सीमा पिलर तत्काल उठाउनु पर्छ, पुरानै अवस्थामा राख्न मर्मतसम्भार गरिनुपर्छ, नत्र आउँदो बाढीले बगायो भने विवाद निम्तिन सक्छ ।”

एक वर्षअघि आउँदा ढलेको सीमास्तम्भको केही भाग पानीको सतहभन्दा निकै माथि देखेको जनाउँदै उनले अहिले बाढीले झन् क्षति पुर्याएका कारण सीमास्तम्भ बालुवाभित्र पुरिन थालेको बताए । नेपाली सुरक्षा अधिकारी बेलाबेला ढलेको सीमास्तम्भको निरीक्षणमा आउने गरेको उनले जानकारी दिए ।

नेपाल तथा भारतबीचको सीमा खुला र सहज छ । दुवै देशका बासिन्दाको आवतजावत निर्वाध चल्ने गरेको छ । किनमेलका लागि नेपाली भारततिर जाने गरेका छन् । तथापि सीमास्तम्भमा बसेर लुगा धुने कार्यले भने सीमाको संवेदनशीलतालाई बेवास्ता गरेको जस्तो भान हुने गरेको स्थानीयवासीको भनाइ छ ।

नेपाली नागरिकसमेत लुगा धुन र नुहाउन सीमा नदी गौरियामा जाने गर्छन् । भारतीय नागरिकले जसरी सीमास्तम्भमा लुगा धुने कार्य गर्दैनन् । ढलेको सीमास्तम्भदेखि करिब ५० मिटर उत्तरतिर ३३ पीपी लेखिएको जङ्गे सीमास्तम्भ छ । ६ फिटभन्दा अग्लो जङ्गे सीमास्तम्भको वरिपरि दलित मुसहर समुदायलगायत ४० परिवार बसोबास गर्छन् । उनीहरुको बसोवासले जङ्गे सीमास्तम्भको सुरक्षा भएको छ । स्तम्भ वरिपरिका घर हटाउन भारतीय सीमा सुरक्षा बलले बारम्बार दबाब दिए पनि आफूहरुले नटेरेको स्थानीय ७० वर्षीय सुन्दर ऋषिदेव बताउँछन् । उनले खोलाले पुरेको १४९/२४ नम्बरको सीमास्तम्भ छिटो मर्मत गरेर पहिलाको जस्तै उभ्याउने पहल गर्न नेपाल सरकारलाई सुझाए ।
सीमाको रक्षक बनेर वर्षौंदेखि बसोबास गर्दै आएका अधिकांश स्थानीय नेपाली बासिन्दाले जग्गाको धनीपूर्जा र नागरिकता पाउन सकेका छैनन् । सीमा रक्षाका लागि डटेर बसेका सीमा क्षेत्रका नेपालीलाई सम्मान गर्नुको साटो नागरिकतासमेत नदिएर अनागरिकको जस्तो व्यवहार गरिएकामा स्थानीयवासीको गुनासो छ ।

सरकारी तथ्याङ्कअनुसार झापामा ९८८ सीमास्तम्भ रहेका छन् । तीमध्ये ६० वटा विभिन्न कारणले ढलेका छन् । दुई सयभन्दा बढी मर्मत गर्नुपर्ने अवस्थामा रहेका छन् । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले कोरोनाका कारण दुई वर्षदेखि सीमामा ढलेका तथा नदीले बगाएका पिलरको मर्मतसम्भार हुन नसकेको बताए ।

उनले यसको मर्मत सम्भारका लागि ‘फिल्ड सर्भे टिम’ रहे पनि कोभिडका कारण काम गर्न नसकेको जनाउँदै भने, “गृह मन्त्रालयको ध्यानाकर्षण गराएको छु ।” भारत र नेपालका उच्च अधिकारीको बैठक र छलफलपछि मात्र ढलेका सीमा पिलरको मर्मतसम्भार गर्ने कार्य अघि बढाउन सकिने हुँदा सोको पहल भइरहेको उनको भनाइ छ । उनले गत वर्ष वर्षाका कारण १९ र यस वर्ष १२ वटा स्तम्भ ढलेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP