मंगलबार , बैसाख २९, २०८३

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कोभिड–१९ महामारीको असहज परिस्थितिमा पनि अन्तर्राष्ट्रियतर्फ सन्तोषजनक व्यापार गरेको छ ।

निगमले सन् २०२० मा अन्तर्राष्ट्रिय गन्तव्यमा २५ प्रतिशत बजार हिस्सा ओगटेको छ । महामारीका बेला सीमित सङ्ख्याका अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान भएकाले निगमको व्यापार बढेको हो । महामारीका बेला सीमित सङ्ख्याका अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गरेकाले निगमको व्यापार हिस्सा बढेको निगमका कर्पोरेट निर्देशक अर्चना खड्काले जानकारी दिइन् ।

“महामारीकाबेला सन् २०२० मा निगमको व्यापार हिस्सा राम्रो देखिनुमा सीमित एयरलाइन्सले उडान सञ्चालन गरेर हो । अघिल्लो वर्ष निगमले प्रतिस्पर्धी एयरलाइन्ससँग पनि व्यापार हिस्सा राम्रै गरेको थियो”, निगमले कोभिड महामारीपूर्व सन् २०१९ मा अन्तर्राष्ट्रियतर्फ १७.८० प्रतिशत व्यापार हिस्सा ओगटेको थियो । त्यस्तै सन् २०१८ मा ११।३ र सन् २०१७ मा ९।७० प्रतिशत व्यापार गरेको थियो । त्यसअघि सन् २०१५ मा जम्मा ७.९० प्रतिशत रहेकामा सन् २०१६ मा १०.९० प्रतिशत व्यापार हिस्सा ओगटेको थियो ।

निगमले अन्तर्राष्ट्रियस्तरमा दुई वाइडबडी र दुई न्यारोबडी जहाजमार्फत भारतका तीनसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको छ । भारतका तीन नयाँदिल्ली, मुम्बई र बैङ्लोर तथा जापानको नारितामा, मलेसियाको क्वालालम्पुर, हङ्कङ, थाइल्याण्डको बैंकक, कतारको दोहा र दुबईमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । नेपालले हाल ४० मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको छ । हाल तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमको अन्तर्राष्ट्रिय गन्तव्यमा बजार हिस्सा बढाउने गरी भएका जहाजको प्रभावकारी व्यवस्थापन र आवश्यक जहाज खरिदका लागि कार्ययोजनाका साथ अघि बढेको जानकारी दिए । जहाज थपेर व्यापार बढाउने कार्ययोजनाका साथ काम अघि बढाउन निगम लागि परेको बताए । निगमले दक्षिण कोरिया, चीनको ग्वाङ्जाओलगायत गन्तव्यमा पनि उडान विस्तार गर्ने योजना बनाएको थियो । महामारीले उक्त योजना सार्थक हुन सकेको छैन ।

सिड्नीदेखि लण्डनसम्म उडान योजना

निगमले आगामी छ वर्षभित्र अन्तर्राष्ट्रिय उडानमा थप १४ जहाज गरिद गर्ने योजना बनाएको छ । पाँचवर्षे कार्ययोजना बनाएर सन् २०२७ सम्म अन्तर्राष्ट्रिय उडानमा छ वटा वाइडबडी र आठ वटा न्यारोबडी गरी १४ वटा जहाज खरिद गर्ने योजना बनाएको हो । पाँचवर्षे कार्ययोजना बन्दै गरेको निगमका निर्देशक खड्काले बताइन्।

निगमले अन्तर्राष्ट्रियतर्फ छ वर्षभित्र लण्डनदेखि सिड्नी तथा टोकियो, कोलकाता, ग्वाङ्जाओ, कोलम्बो, सङ्घाई, इन्चेन, अहमदाबाद, रियाद, इण्डोनेसिया र फ्र्यांकफर्ट उडान गर्ने दाबीसहित कार्ययोजना बनाइरहेको हो । निगमले तत्कालै साउदी अरेबियाको रियादमा सातामा दुई उडान गर्नेगरी अन्तिम तयारी गरेको छ । दुबई गन्तव्यमा उडान सङ्ख्या थपेको छ ।

भारतका तीनवटै गन्तव्यमा उडान सञ्चालन गर्ने योजना बनाएको छ । महामारीका कारण हाल नयाँदिल्ली गन्तव्यमा मात्रै उडान भइरहेको छ । छिट्टै बैङ्लोर र मुम्बइमा पनि उडान गर्ने तयारी भइरहेको निगमले उल्लेख गरेको छ । निगमले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै गन्तव्यमा उडान गर्ने आवश्यक जहाज खरिद गर्नका लागि सरकारसँग रु १५ अर्ब माग गरेको छ ।

झण्डै रु ५० अर्ब ऋणभार बेहोरिरहेको निगमको जहाजका लागि लगानीबाहेक भन्सार छुट, ग्राउन्ड ह्यान्डलिङ सेवा निगमलाई नै सीमित राख्न मन्त्रालयसँग अनुरोध पनि गरेको छ । महामारीका कारण निगमले करिब २० महिनाको अवधिमा रु नौ अर्ब आम्दानी गुमाएको जनाएको छ ।

निगमको आन्तरिकतर्फ व्यापार खुम्चिएको छ । उक्त वर्ष निगमले जम्मा दुई प्रतिशत व्यापार गरेको छ । आन्तरिकतर्फ जहाज अभावले व्यापार अभिवृद्धि गर्न नसेकेको निगमले जनाएको छ । निगमसँग आन्तरिकतर्फ जम्मा दुई वटा टुइनअटर जहाज छन् । यी जहाजले विभिन्न १७ गन्तव्यमा उडान भर्दै आएका छन् । काठमाडौँबाट ताप्लेजुङ, भोजपुर, थामखर्क, लुक्ला, खानीडाँडा, फाप्लु, दाङ तथा पश्चिममा नेपालगञ्जबाट बाजुरा, सिमकोट, जुम्ला, रुकुम, ताल्चा, बझाङ, साँफेबगर र डोटीसम्म उडान गर्दै आइरहेको छ ।

निगमले आन्तरिकतर्फ थप १८ थान जहाज खरिदका लागि माग गरेको छ । निगमले दुर्गम तथा हिमाली भेगका लागि आठ वटा र सुगम रुटका लागि १० वटा जहाज खरिदका लागि मन्त्रालयमा कार्ययोजना पेश गर्ने तयारी गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ ३०० हाराहारी उडान भइरहेको छ । ६३ वर्षे इतिहास बोकेको निगममा हाल सीमित जहाज भएकाले अन्य एयरलाइन्ससँग प्रतिस्पर्धा गर्न सकेको छैन । निगममा हाल स्थायी र अस्थायी तथा अन्य प्रकृतिका गरी कूल एक हजार ३६९ कर्मचारी कार्यरत छन् । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP