मंगलबार , बैसाख २९, २०८३

नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र विवाद चर्किपछि बैठकका निर्णय सार्वजनिक गर्नमा ढिलाइ भएको छ । अध्यक्ष केपी शर्मा ओलीको ‘मनोमानी’ कार्यशैलीप्रति पदाधिकारी खरो रूपमा उत्रिएपछि विवाद बढ्दै जाँदा बैठकका निर्णय सार्वजनिक हुन नसकेको हो ।

विवादकै कारण गत २५ र २६ मंसिरमा बसेको केन्द्रीय कमिटीको बैठकका निर्णय बिहीबार साँझसम्म सार्वजनिक हुन नसक्नुमा ओलीको व्यवहारलाई लिइएको छ ।

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले आफूखुसी नेताहरूको कार्यविभाजन, स्थायी कमिटी र पोलिटब्युरो गठन, केन्द्रीय सदस्यमा मनोनयन र प्रदेश पदाधिकारी नियुक्त गरेका थिए । ओलीको मनोमानी कार्यशैलीको १० बुँदे सहमति पक्षधर नेता, पूर्वमाओवादी समूहका साथै ओली समूहकै केही नेताले विरोध गरेका छन् ।

‘पहिला–पहिला एमालेका निर्णय बैठक सकिने बित्तिकै सार्वजनिक हुन्थ्यो । तर, अहिले नेताहरूकै असन्तुष्टिका कारण निर्णय सार्वजनिक हुन सकेको छैन । अध्यक्ष ओलीको कार्यशैलीप्रति नेताहरूको असन्तुष्टि छ । त्यसलाई मिलाउने काम भइरहेको छ । सम्भवतः एक÷दुई दिनभित्रै पार्टीले पत्रकार सम्मेलन गरेर बैठकका निर्णय सार्वजनिक गर्नेछ,’ एक नेताले भने ।

स्रोतका अनुसार अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायतका नेताहरूले असन्तुष्ट नेतासँग छलफल गरिरहेका छन् । छलफलपश्चात् बैठकका निर्णय सार्वजनिक गर्ने तयारीमा अध्यक्ष ओली रहेका छन् ।

बैठकमा ओलीको कार्यशैलीलाई लिएर उनी निकटकै नेताहरूले असन्तुष्टि व्यक्त गरेपछि ओली तनावमा छन् । ओलीनिकट भनिएका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बैठकमै आपत्ति जनाएका थिए ।

यस्तै, १० बुँदे सहमति पक्षधर नेताहरूले समेत आपत्ति जनाएका थिए । उपाध्यक्षत्रय अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराईका साथै नेताहरू घनश्याम भुसाललगायतले ओलीको प्रस्तावको सशक्त विरोध गरेका थिए ।

पूर्वमाओवादी समूहका उपाध्यक्ष रामबहादुर थापा, सचिव टोमबहादुर रायमाझी, सचिव लेखराज भट्ट, स्थायी समितिका सदस्यद्वय प्रभु साह, मणि थापालगायतका नेताहरूसमेत ओलीबाट असन्तुष्ट छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP