मंगलबार , बैसाख २९, २०८३

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई अस्थिरताका संवाहक शक्तिको रूपमा चित्रण गर्नुभएको छ । अध्यक्ष ओलीले प्रचण्ड र नेपालकै कारण देश स्थिरता र स्थायित्वतर्फ केन्द्रित हुन नसकेको दाबीसमेत गर्नुभयो ।

ललितपुरको च्यासलमा रहेकाे तुलसीलाल अमात्य स्मृति भवनमा आज बुधवार आयोजित पार्टीका मनोनित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा बोल्दै उहाँले कतिपय बाह्य शक्तिले देशमा नियन्त्रित अस्थिरता मच्चाउन क्रियाशील रहेको र त्यसको संवाहक शक्तिको रूपमा प्रचण्ड र नेपालले काम गरिरहेको आरोप लगाउनुभयो ।

अध्यक्ष ओलीले देशलाई अस्थिरतातर्फ धकेल्ने यस्ता तत्त्वहरूसँग एकता गरेर जाने अवस्था नरहेको पनि बताउनुभयो । उहाँले प्रचण्ड र नेपालकाे कनेक्शन कहाँ छ ? भन्ने कुरा पनि आफूहरूलाई थाहा भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले देश दुई ध्रुवमा विभाजित हुँदै गएको छ । यसलाई अलि समन्वयात्मक ढङ्गले सुव्यवस्था, सुशासन र समृद्धितर्फका हाम्रा प्रयासहरूमा सिङ्गो देश केन्द्रित हुनु पर्दथ्यो । तर भएन, भएको छैन र यतापट्टि जाने स्थिति पनि देखिँदैन । किनभने अस्थिरता मच्चाउन खोज्ने शक्तिहरू क्रियाशील छन् । नियन्त्रित अस्थिरता । खुलस्त भनिराखेका छन् । नेपालको सन्दर्भमा त्यो भनिराखेका छन् र त्यसका लागि र ती काम गर्ने शक्ति चाहिँ यहाँ छ । अहिले ती शक्तिहरूमा सबैभन्दा चर्को गरी चल्ने प्रचण्ड एन्ड कम्पनी र माकुने एन्ड कम्पनी । सबैभन्दा अहिले अस्थिरताका संवाहक तत्त्वहरू यिनै हुन् । यसमा कुनै भ्रम राख्नुपर्दैन । यस्ता अस्थिरताका शक्तिहरूसँग एकता गरेर कहीँ पुगिन्छ ? त्यो एकीकरण सम्भव नै छैन । हामीले राम्ररी चिनिसकेका छौँ, यिनको कनेक्शन कहाँ छ ? तार कहाँ जोडिएको छ ? कहाँबाट स्विच अन–अफ हुन्छ । यो हामीले देखेका छौँ । छर्लङ्गै देखेका छौँ ।’

अध्यक्ष ओलीले माओवादीले जनयुद्ध भनेर देशलाई अस्थिरतातर्फ धकेल्ने काम विगतमा पनि गरेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयाे, ‘महान् जनयुद्ध भनेर युवा र जनतालाई, महिलालाई दुर्गम ठाउँबाट उरालियो । सुगम ठाउँबाट उरालियो । युवाहरू ज्यान दिन तयार भए, होमिए परिवर्तन भनेर । हतियार कहाँबाट आयो ? त्यतापट्टि फर्किएर हेर्न दिइएन । एउटा सेन्टिमेन्ट ल्याइयो । तर यति बुझिएन, यति हेरिएन । कहाँबाट कसले हतियार दिँदैछ नेपालमा ? अस्थिरता ल्याउनलाई । नेपालमा जनयुद्ध नामको सफल हुँदैनथ्यो किनभने सफल गर्न सुरु गरेकै होइन । त्यो त अस्थिरता सिर्जना गर्न, त्यो त एउटा बार्गेनिङ चिप्स हो । महान् क्रान्तिको सेन्टिमेन्ट त्यतातिर लगियो । बुझ्न उनीहरूले राम्ररी पाएनन् । के गर्न खोजिँदैछ त ? र मामुली कर्मचारी, मामुली पेड मान्छेहरू नेता भए । धोकापूर्ण ढङ्गले र देशले अलि दुःख पायो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP