
खरीदका लागि दुबै पक्षबीच प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ। भुसालले टाइगर प्यालेसले लिएको ऋण सकार्नेछन्। होटलका लागि प्राइम बैंकको लिडमा नेपाल इन्भेष्टमेन्ट बैंक, सानिमा बैंक र सिभिल बैंकले ऋण दिएका छन्।
कोभिड संक्रमणसँगै देशब्यापी रुपमा भएको लकडाउन र निषेधाज्ञापछि टाइगर प्यालेस बन्द छ। अधिक लगानी तर त्यो अनुसार बजार नहुँदा टाइगर प्यालेस लकडाउनअघि नै संकटमा परेको थियो।
साढे तीन अर्ब रुपैयाँ माथि मूल्यांकन गरिएको पाँच तारे टाइगर प्यालेसको अन्तिम डिल दुई महिनाभित्र सक्ने तयारी छ। यसअघि टाइगर प्यालेस किन्न चौधरी समूहदेखि, आइएमई, विशाल समूहले प्रयास गरेको थियो। त्यतिबेलै पनि भुसालले खरीदका लागि पहल गरेका थिए। तर त्यो बेला इन्द्रबहादुर थापासँग प्रारम्भिक सम्झौता भएको थियो।
ठूला कर्पोरेट घरानाले नाम नै नसुनेका थापाले टाइगर प्यालेसका लागि तीन करोड ३९ लाख डलर अर्थात तीन अर्ब ७५ करोड रुपैयाँको बोली लगाएका थिए, तर पैसा जुटाउन भने सकेनन्। डिल त्यतिकै खेर गएको थियो।
दुई बर्षपछि फेरि भुसाल समूहले खरीदका लागि पहल गरेर प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेको हो। भुसाल समूहलाई केही बैंकले सहयोग गर्ने भएका छन्। तर, तत्कालै उनले बैंक ऋणभन्दा पनि आफ्नै ‘क्यास रिजर्भ’ बाट खरीद गर्ने बताएका छन्।
भुसाल न्यूहल्यान्ड ट्याक्टरको नेपालको आधिकारिक बिक्रेता हुन्। टाइगर प्यालेसको नाममा झापाको बिर्तामोडमा पनि जग्गा छ। त्यहाँ पनि रिसोर्ट खोल्ने भनेर जग्गा लिइएको थियो। भुसालले त्यो जग्गासमेत गरेर साढे तीन अर्ब रुपैयाँमा टाइगर प्यालेस खरीद गर्न लागेका हुन्।
टाइगर प्यालेस लगानी नै डुब्ने अवस्था आएपछि घाटामा बेचेर बाहिरिन लागेको हो। यसमा प्रारम्भिक लगानी पाँच अर्ब २० करोड भएको थियो।
रिसोर्टले १५ बिघा क्षेत्रफल ओगटेको छ। रिसोर्ट भवनले मात्र दुई बिघा क्षेत्रफल ओगट्छ। क्यासिनोसहितको ‘पाँच तारे’ रिसोर्टले दुई बर्ष अगाडि २ अर्ब ४९ करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको थियो। सहवित्तीयकरणमा लिएको ऋणका लागि कम्पनीले रेटिङ गराएको थियो।
कम्पनीले सन् २०१९ मा ७४ करोडको ब्यापार गरेको थियो। त्यसअघिको वर्ष ३६ करोडको ब्यापार गरेको थियो। २०२० मा भने ब्यापार ५९ करोडमा सीमित भएको थियो। अहिले त रिसोर्ट बन्द छ। टाइगर प्यालेसमा १२० वटा कोठा छन्। अर्को ६० वटा थप्ने योजना कम्पनीले बनाएको थियो।
भुसाल समूहको यस्तो छ व्यवसायिक यात्रा
यो समूहले गत वर्षको लकडाउनमा एक अर्ब २ करोड रुपैयाँमा विशाल सिमेन्ट किनेको थियो। श्यामलाल बैद्य, अमित श्रेष्ठ, लवप्रसाद मल्ली सहित ९ जनाको लगानी रहेको विशाल सिमेन्ट उनले लकडाउनमा किनेका कारण भुसाल चर्चामा आएका थिए।
ट्याक्टर, रियलस्टेटको कारोबारबाट उनले व्यवसायिक साम्राज्य खडा गरेका हुन्। गुल्मीबाट बुटवल झरेका भुसालले सन् १९९५मा भुसाल मोटर्स कम्पनी स्थापना गरेका थिए।
यो कम्पनी न्यु हल्याण्ड ट्रयाक्टरको नेपालको अधिकृत बिक्रेता बन्यो। तीन वर्षको अवधिमै यो कम्पनी सबैभन्दा बढी बिक्री हुने ट्रयाक्टर ब्राण्ड बन्यो। यो कम्पनीका ट्रयाक्टर पहाडमा ९० प्रतिशत बजार हिस्सा ओगटेको समूहको दाबी छ। मात्रै होइन विभिन्न विमानस्थल र विमान कम्पनीले लगेज बोक्न समेत प्रयोग गरे। सन् २०००मा उनले रामकृष्ण इन्टरप्राइजेज स्थापना गरे।
उनले यो कम्पनीले पेट्रोनास कम्पनीबाट उत्पादन भएको लुब्रिकेन्टस बिक्री गर्न थाले। यो समूहले सन् २०१०मा विएस मोटर्स स्थापना गरेर न्यू हल्याण्डको हेभी इक्विपमेन्ट बिक्री गर्न थाल्यो। व्यवसायसँगै यो समूहले सेवा क्षेत्रमा समेत हात हाल्यो। यो समूहले मेगा लुम्बिनी टुर्स एण्ड ट्राभल कम्पनी स्थापना गरे। उनले सन् २०१७मा होटल मेगा दर्ता गरे। पाँच तारे यो होटल निर्माणाधिन छ।