
अष्ट्रेलिया | पुराखबर
गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २०२५ कार्यकालका लागि सदस्यता आवेदन दिने समयावधि आइतबार राति सकिँदा सम्म आवेदन दिनेहरूको संख्या ऐतिहासिक रुपमा १६,०२७ पुगेको छ।
एनआरएन अष्ट्रेलियाका अनुसार, तीमध्ये १०,००० जनाको सदस्यता स्वीकृत भइसकेको छ भने ५,१९९ जनाको सदस्यता प्रक्रिया अन्तिम चरणमा पुगेको छ। यस्तै, १५६८ आजीवन सदस्यमध्ये करिब आधाले मात्रै विवरण अद्यावधिक गरेका छन्। सबै विवरण अद्यावधिक भएमा कुल सदस्य संख्या १७,०७५ पुग्ने अनुमान गरिएको छ।
अध्यक्ष अनिल पोखरेलले यो उपलब्धिलाई अष्ट्रेलियामा रहेका नेपाली समुदायको विश्वास र सहयोगको नतिजा भनेका छन्। उनले भने, “आईसीसीमा देखिएको अन्योल र चुनौतीका बीच पनि अष्ट्रेलियामा सदस्यता दर उच्च रहनु ठूलो सन्देश हो। हामी सबैलाई समेट्दै आगामी कदम चाल्नेछौं।”
उनका अनुसार सुरुवाती दुई हप्तामा सदस्यता आवेदक संख्या निकै कम थियो। तर, अन्तिम तीन दिनमा मात्र करिब १० हजार आवेदक थपिएको देखिन्छ। नयाँ समूह ‘एनआरएनए अष्ट्रेलिया लिमिटेड’ खुल्ने खबरपछि केही दिन सदस्य बन्ने क्रम सुस्त भएको भए पनि, समुदायस्तरमा संवाद र सकारात्मक अपीलपछि पुनः वृद्धि भएको हो।
एनआरएन अष्ट्रेलियाले आवश्यक कागजात अपलोड नगरेका वा त्रुटिपूर्ण सदस्यता आवेदन दिएका २६४ व्यक्तिहरूलाई एक हप्ता समय थपिएको जनाएको छ। उनीहरूलाई ईमेलमार्फत सम्पर्क गरिनेछ।
यसैबीच, एनआरएनए आईसीसीका उपाध्यक्ष डा. विनोद श्रेष्ठ र सचिव डा. ज्ञानेन्द्र रेग्मीले अष्ट्रेलियाको यो उपलब्धिलाई “ऐतिहासिक” भन्दै खुलेर प्रशंसा गरेका छन्। योग्यताको आधारमा सदस्यता सुनिश्चित गर्न उजुरी प्रणाली र पारदर्शी तथ्यांक सार्वजनिक गरिएको जानकारी पनि दिइएको छ।
एनआरएनका मुख्य सक्रिय देशहरूमध्ये अष्ट्रेलिया अहिले अमेरिका, जापान, र बेलायतसँगै अग्रस्थानमा रहेको छ।
News & Pic Source : KBCKHABAR