मंगलबार , बैसाख २९, २०८३

१० दिनपहिले नगरकोट पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटघाट बढाएका छन्। नगरकोटको सोल्टी वेस्ट इन रिसोर्टमा बसेर उनले राजावादी दल र अभियन्ताहरूसँग छलफल गरेका हुन्।

वैशाख १५ गते नागार्जुनबाट उनी नगरकोट पुगेको सुरक्षा स्रोतले पुष्टि गर्‍यो। उनी सरकारले उपलब्ध गराएको सशस्त्र प्रहरीका डीएसपीसहितको सुरक्षा टोली लिएर नगरकोट पुगेका हुन्।

नगरकोटमा बसेर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापासहितका नेताहरूलाई भेटेका छन्।

प्रहरी उच्च स्रोतले भन्यो, ‘१० दिनदेखि होटलमा राजावादी नेताहरूको चहलपहल बाक्लो छ। दुवै दलका शीर्षनेताहरू पुगेका छन्। हामीले बाहिरबाट वाच गर्ने मात्रै हो, भित्रको सुरक्षा सशस्त्र प्रहरीले हेर्छ। तर त्यहाँ पूर्वराजा गएदेखि नै राजावादी दलका नेताहरूको ओहोरदोहोर बाक्लो छ।’

यसअघि राजावादी दलहरू एकजुट नहुँदा राजावादी आन्दोलन नै कमजोर भएपछि त्यहाँ बसेर उनले नयाँ रणनीति बनाउन थालेका छन्। उनले नगरकोटमा छलफल थालेको १० दिनपछि बिहीबार मात्रै राजावादी शक्तिहरू एकजुट भएर आन्दोलन गर्ने घोषणा गरेका छन्।

राजतन्त्र पुनर्स्थापनाका लागि भन्दै गठन गरेको संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेको छ। समितिका संयोजक नवराज सुवेदीले बिहीबार राप्रपा र राप्रपा नेपालका अध्यक्षलाई छेउमा राखेर आन्दोलनको घोषणा गर्दै यसमा राजावादी सम्पूर्ण शक्तिहरू एकजुट हुने दाबी गरेका छन्। घोषणा कार्यक्रममा राजेन्द्र लिङ्देन र कमल थापा पनि सहभागी थिए।

कार्यक्रमपछि राप्रपा नेपालका अध्यक्ष थापाले पहिलोपटक हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाका निम्ति सबै शक्तिहरू एकजुट भएको दाबी गरेका छन्। थापाले राप्रपा नेपालसँगै, राप्रपा, राष्ट्रिय शक्ति नेपाल, नेपाली कांग्रेस (बीपी), शिव सेना लगायत ४४ समूह एकजुट भएको बताएका छन्।

जिल्ला, पालिका हुँदै वडा तहसम्म नै संयुक्त आन्दोलन समिति गठन गर्ने पनि सुवेदीले दाबी गरे। पूर्वराजा शाहले राजावादीलाई एकजुट बनाउन नगरकोट बसेर छलफल गरिरहँदा काठमाडौँबाट सुवेदीले यस्तो कार्यक्रम घोषणा गरेका हुन्।

यसअघि ज्ञानेन्द्र फागुन गते पोखराबाट फर्किंदा उनलाई राजावादीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट र्‍यालीसहित नागार्जुन पुर्‍याएका थिए। त्यही दिनबाट थप हौसिएका राजावादीहरूले चैत १५ गते दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौँको तीनकुनेमा प्रदर्शन गरे।

तर उक्त प्रदर्शन हिंसात्मक बन्दा राजावादी आन्दोलन नै कमजोर बनेको थियो। त्यसपछि राप्रपाले बल्खुमा गरेको कार्यक्रम र राप्रपा नेपालले शान्तिवाटिकामा गरेको प्रदर्शन निराशाजनक देखिएपछि राजावादी शक्तिहरू समीक्षामा जुटेका थिए।

तीनकुनेको प्रदर्शनको नेतृत्व गरेका प्रसाईंसहित राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र अझै हिरासतमा छन्। उनीहरूसहित २५ जनालाई राज्यविरुद्धको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

तीनकुनेको प्रदर्शन हिंसात्मक बन्दा २ जनाको मृत्यु भएको थियो। आन्दोलनकारीले सरकारी तथा व्यक्तिका सम्पत्तिमा तोडफोड र आगजनी गर्दा सहानुभूति गुमाएको राजावादी आन्दोलन उठाउन एक महिनापछि पूर्वराजा शाह आफै सक्रिय भएका हुन्।

तीनकुनेको घटनापछि गणतन्त्रवादी दलहरूले राजालाई कानुनी कारबाही गर्नेसम्मको चेतावनी दिएका थिए। त्यसपछि एक महिना शान्त रहेका शाह पुनः आन्दोलन उठाउने कसरतमा लागेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP