
हालै सम्पन्न फिफा विश्वकपमा सट्टेबाजीमा संलग्न भएको आरोपमा महोत्तरीका २० वर्षीय आदर्श ठाकुरलाई प्रहरीले पक्राउ गर्यो । उनको कोठा खानतलासी गर्दा प्रहरीले एनसेल र स्मार्ट टेलिकमका ९४ थान सिमकार्ड र ७० जनाको नागरिकताको फोटोकपी फेला पार्यो । तिनै फोटोकपी हेर्दै इन्टरनेटबाट सम्बन्धित व्यक्तिको फोटो डाउनलोड गरी त्यसलाई प्रिन्ट गरेर सिमकार्ड निकाल्ने गरेको आदर्शले प्रहरीलाई बताएका छन् ।
उनले सामाजिक सञ्जाल र वेबसाइटहरूमा पोस्ट गरिएका विभिन्न व्यक्तिको नागरिकता र फोटो दुरुपयोग गरेर डिजिटल वालेटहरूमा २ सयभन्दा बढी खाता खोलेर कारोबार गर्ने गरेको पनि खुलेको छ । अनुसन्धानको क्रममा फेला पारिएका विभिन्न सेवा प्रदायकका ४ सय ८४ वटा डिजिटल वालेटको कारोबार रोक्का गरी थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । आदर्शले ३ सय रुपैयाँ तिरेर विभिन्न व्यक्तिका नागरिकताको फोटोकपी किन्ने गरेको पनि बयानमा भनेका प्रहरीले जनाएको छ ।
‘सिमकार्ड दुरुपयोगको समस्या नेपालमा डरलाग्दो स्थितिमा छ,’ महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइराला भन्छन्, ‘कतिसम्म हुने गरेको छ भने कसैले सिम हरायो भनेकै भरमा चलिरहेको सिम बन्द गरेर एक जनाको नाममा रहेको सिमकार्ड अर्कै व्यक्तिलाई दिइएका उजुरीहरू पनि हामीकहाँ आउने गरेका छन् ।’ उनका अनुसार वैदेशिक रोजगारीमा गएका र कतिपय दिवंगत व्यक्तिको नाममा समेत जोकसैले सिमकार्ड निकालेर ठगी, सट्टेबाजीलगायत अवैध गतिविधिमा प्रयोग गर्ने गरिएको पाइएको छ ।
सिमकार्ड प्रयोग गरेर मोबाइल वालेट, सामाजिक सञ्जाल, इमेललगायत डिजिटल प्लाटफर्ममा खाता खोल्न र तिनको पासवर्ड परिवर्तन गर्न मिल्छ । मोबाइल नम्बरमै प्राप्त हुने ओटीपी प्रयोग गरी बैंकिङ कारोबार गर्न सकिन्छ । सरकारले नागरिकका डेटा र सरकारी कागजपत्र एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले विकास गरिरहेको ‘नागरिक एप’ मा पनि मोबाइल नम्बरबाटै पहुँच बनाउन सकिन्छ । यसको अर्थ, कसैको नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्र, शैक्षिण प्रमाणपत्र, मतदाता परिचयपत्रलगायत कागजातमा पहुँच बनाउन उसको नाममा रहेको सिमकार्ड फेला पारे पुग्ने भयो ।
पछिल्लो समय सिमकार्डको यस्तै दुरुपयोग बढेको विषयमा प्रहरीले एकपछि अर्को घटना सार्वजनिक गरिरहेका छन् । यस्तोमा सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आफ्नै नाममा मात्र रहेको सिमकार्ड प्रयोग गर्न सेवाग्राहीलाई आग्रह गरेको छ । कम्पनीले सिमकार्ड हराएको/बिग्रिएको खण्डमा आफू स्वयं उपस्थित भई नयाँ सिमकार्ड लिन पनि भनेको छ । यसबारे कम्पनीको धारणा माग गर्दा निजी सेवा प्रदायक एनसेल आजिआटा भने सम्पर्कमा आएन ।
‘अरूको नाममा निकालिएको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल बैंकिङको दुरुपयोग भई अनधिकृत व्यक्तिबाट रकम गुमाउनुपर्नेसम्मको अवस्था तथा सामाजिक सञ्जालको दुरुपयोग भई अनेक कानुनी झमेलामा समेत पर्ने सम्भावना रहन्छ,’ नेपाल टेलिकमको सूचनामा भनिएको छ, ‘ग्राहकहरूको सुरक्षामा विशेष ध्यान दिँदै सहजै सेवा उपलब्ध गराउन नयाँ सिमकार्ड लिँदा वा सिमकार्ड परिवर्तन गर्दा विभिन्न मापदण्डहरू कार्यान्वयनमा ल्याइएको छ ।’
टेलिकमबाट नयाँ सिमकार्ड लिन आवदेन फारममा ग्राहकको नाम, ठेगाना, परिचयपत्र जारी भएको जिल्ला र मिति तथा आधिकारिक परिचयपत्र नम्बर र सम्पर्क नम्बर स्पष्ट रूपमा प्रविष्ट गर्नुपर्छ । स्वयं उपस्थित हुने ग्राहकलाई मात्र सिमकार्ड उपलब्ध गराइने र परिचयपत्रको प्रतिलिपिलाई सक्कल परिचयपत्रको विवरणमा रुजु गराएर मात्रै सिमकार्ड वितरण गर्ने गरिएको टेलिकमको दाबी छ ।
अर्को व्यक्तिको नाममा दर्ता रहेको सिमकार्ड लिन आउने ग्राहकले वास्तविक सिमकार्ड धनी उपस्थित हुन नसकेको कारणसहित ग्राहकको मञ्जुरीनामा र सक्कल परिचयपत्र लिएर जानुपर्ने भनिएको छ । कागजातहरू रुजु कार्य सकिएपछि मात्रै सिमकार्ड एक व्यक्तिको नामबाट अर्कोको नाममा नामसारी गरिने कम्पनीले जनाएको छ । तर, बूढानीलकण्ठकी निर्मला थापा भने टेलिकमले उक्त नियम कार्यान्वयन नगरेको बताउँछिन् । टेलिकमको पुल्चोकस्थित ग्राहक सेवा केन्द्रबाट आफूले दिदीको नाममा रहेको सिमकार्ड बिनाकुनै कागजात २ मिनेटमै आफ्नो नाममा नामसारी गरेको उनको दाबी छ ।
‘मैले बोक्ने गरेको सिम दिदीको नाममा भएकाले मैले नागरिक एपहरू चलाउन पाइरहेकी थिइनँ,’ उनले भनिन्, ‘त्यही भएर केही दिनअघि आफ्नो नाममा नामसारी गर्न गएकी थिएँ । एउटा फाराम भर्नुपर्यो । त्यसमा फोटो टाँसेर ल्याप्चे लगाएँ । फारामको साथमा नागरिकताको फोटोकपी बुझाएपछि २ मिनेटमै दिदीको सिमकार्ड मेरो नाममा नामसारी भयो ।’ यसरी सहजै नामसारी भएको देखेर अचम्म लागेको उनले बताइन् ।
सिमकार्ड दुरुपयोगको समस्या कम गर्न सिम वितरण गर्ने संस्था र वितरकहरू जिम्मेवार हुनुपर्ने प्रहरीको भनाइ छ । साथै, नियमनकारी निकाय, दूरसञ्चार प्राधिकरणले पनि यसमा कडाइ र कारबाही गर्नुपर्नेमा उसको जोड छ । तर, यसको सट्टा सरकारी स्वामित्वकै नेपाल टेलिकमजस्ता कम्पनीले आफ्नै नाममा सिम निकाल्न अर्ति दिँदै सूचना निकालेर कर्मकाण्ड मात्रै पूरा गरेको आरोप लगाउँछन्, महानगरीय अपराध महाशाखाका प्रवक्ता कोइराला । नयाँ सिम लिन आउने वा सिमकार्डको नामसारी प्रक्रियामा सेवा प्रदायक र तिनका वितकरले लापरबाही गर्ने गरेको उनको भनाइ छ । टेलिकमका सहप्रवक्ता रञ्जित लोहियाले भने पहिचान खुलाउने एकभन्दा बढी कागजपत्र रुजु गरेर मात्रै सिमकार्ड वितरण गर्न आफ्ना वितरकलाई निर्देशन दिएको दाबी गरे ।
त्यस्तै, नियामक निकाय दूरसञ्चार प्राधिकरणले पनि हालै विराटनगरलगायत पूर्वी क्षेत्रमा सिमकार्ड दुरुपयोगसम्बन्धी निरीक्षण गरेको जानकारी दिएको छ । यसबारे प्राधिकरणमा पनि उजुरीहरू परेकाले प्राधिकरणको अनुगमन महाशाखाले निरीक्षण गरी प्रतिवदेनसमेत तयार पारिसकेको प्रवक्ता सन्तोष पौडेलले बताए । महाशाखाका निर्देशक विजयकुमार रोयले निरीक्षणका क्रममा सिमकार्ड वितरणमा चरम लापरबाही भएको बुझिन आएकाले यसमा कारबाही गर्नेलगायत पहल हुन लागेको जानकारी दिए ।
‘हाम्रा सेवा प्रदायकले आफ्ना वितरकलाई धेरै संख्यामा सिमकार्ड एक्टिभेट गराएबापत कमिसनलगायत प्रोत्साहन दिने गरेका रहेछन्,’ रोयले भने, ‘यसले गर्दा वितरकहरूले जतिसक्दो धेरै सिमकार्ड बेच्न जोकसैलाई उनीहरूको परिचय खुल्ने कागजातहरू राम्ररी रुजुसमेत नगरिकनै सिम दिने गरेको पाइयो । सिमकार्ड बाँड्दा पालना गर्नुपर्ने नियम/कानुन र प्रक्रियाको बेवास्ता गरेको देखियो । हामी यसलाई नियमन गर्न खोज्दै छौं । यसमा कारबाहीसमेत हुन सक्छ ।’ सिमकार्डको व्यापारलाई बढावा दिँदा लापरबाहीसँगै दुरुपयोग पनि बढेकाले यसलाई न्यूनीकरण गर्न कारबाहीको प्रक्रिया पनि अघि बढाउने उनको भनाइ छ ।
सरकारी वेबसाइटमै परिचय खुल्ने कागजात, दुरुपयोगको सम्भावना
सिमकार्ड मात्रै नभएर परिचयपत्र दुरुपयोगको जोखिम पनि डरलाग्दो अवस्थामा रहेको प्रहरी बताउँछ । सामाजिक सञ्जालका प्लाटफर्म र निजी तथा सरकारी निकायका वेबसाइटहरूमा समेत पर्सनल आइडेन्टिफिकेसन इन्फरमेसन (कुनै व्यक्तिको पहिचान खुलाउने विवरण) हरू सबैले देख्ने गरी पोस्ट गर्ने गरिएको पाइन्छ । कतिपयले ‘नागरिकता, लाइसेन्स वा राहदानी भेटियो’ भनेर तिनको फोटो
खिची फेसबुक, ट्वीटर, इन्स्टाग्राम र टिकटकमा समेत पोस्ट गरिदिने गरेको देखिन्छ । सञ्चारमाध्यमले पनि ‘विदेशी नागरिक पक्राउ’ भन्दै उनीहरूको राहदानी छापिदिने गरेका उदाहरण छन् ।
विदेशस्थित नेपाली दूतावासले ‘तपाईंको राहदानी नवीकरण प्रक्रिया पूरा भयो, लिन आऊनुस्’ भनेर राहदानीकै तस्बिर वेबसाइटमा राख्ने गरेका छन् । निर्वाचन आयोगजस्ता निकायले पनि मतदाता परिचयपत्र, नागरिकता नम्बरलगायत अति संवेदनशील व्यक्तिगत जानकारीहरू सार्वजनिक पहुँचमा पुग्ने गरी अनलाइनमा राखिदिने गरेको पाइन्छ । यसले गर्दा ती व्यक्तिगत जानकारीहरू दुरुपयोग भई बैंकिङ खाता खोल्ने, सट्टेबाजीजस्ता आपराधिक घटनामा समेत प्रयोग हुन सक्ने जोखिम बढेको छ ।
उदाहरणका लागि, वैदेशिक रोजगारसम्बन्धी प्रयोजनको लागि बालाजुस्थित इगल आई कन्सल्टेन्सीमा बुझाइएका २ वटा नागरिकता प्रयोग गरेर कन्सल्टेन्सीकै कर्मचारीले नयाँ कम्पनी दर्ता गरेका थिए । कम्पनीबाट विदेश पठाइदिन्छु भनेर ठगी गर्ने धन्दामा लागेका उनीहरूलाई पनि प्रहरीले पक्राउ गरी हालै मुद्दा चलाएको थियो । ‘कम्पनी कसको नाउँमा रहेछ भनेर खोज्दा कुनै एक जना पाण्डे थरको व्यक्तिको नाममा रहेको थाहा भयो,’ एसपी कोइराला भन्छन्, ‘उनको घर–ठेगाना खोज्दै जाँदा कञ्चनपुर पुगियो । आफ्नो नाममा कम्पनी खुलेको थाहा पाएर नागरिकतावाला आश्चर्यमा परेका थिए ।’
आफ्ना व्यक्तिगत कागजात तथा विवरणहरू राम्रोसँग नबुझिकन अनलाइनमा पोस्ट गर्ने, लापरबाहीसाथ कसैलाई दिने–बुझाउनेलगायतका क्रियाकलापले आफूलाई नै अप्ठ्यारोमा पार्न सक्ने भएकाले यसमा हरेक व्यक्ति सचेत रहनुपर्ने उनको सुझाव छ ।