मंगलबार , बैसाख २९, २०८३

रुपन्देही । बुटवलको फूलबारीदेखि ठाडै उक्लिएर करिब दुई घण्टामा नुवाकोटगढी पुग्न सकिन्छ । ऐतिहासिक, प्राकृतिक र सांस्कृतिक महत्वको नुवाकोट गढी लुम्बिनी प्रदेशको महत्वपूर्ण हिल स्टेशनका रुपमा रहेको छ ।

नुवाकोट गढीलाई लक्षित गरेर त्यहाँ अहिले केबलकार समेत निर्माण भइरहेको छ । बुटवल–नुवाकोटगढी नयाँ पदयात्रा (हाइकिङ) पर्यटकीय गन्तव्यका रुपमा विकास थालिएको छ । लुम्बिनी घुम्न आउने भारतीय तथा तेस्रो मुलुकका पर्यटकलाई लक्षित गरी बुटवल–नुवाकोटमा एक दिने हाइकिङका रुपमा विकास गर्ने योजनासहित पर्यटन व्यवसायी लागेका छन् ।

नेपाल एशोसिएशन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशको आयोजनामा पर्यटनका लागि हामी, हाम्रो स्वास्थ्य र पदयात्रा भन्ने नारासहित पदयात्रा (हाइकिङ) को सुरुआत गरिएको छ । फूलबारी–नुवाकोट हाइकिङ पर्यटन प्रवर्द्धनमा नेपालकै महत्वपूर्ण गन्तव्यका रुपमा विकास गर्न लाग्नुपर्ने पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।

उनले भने, ‘यस क्षेत्रका लागि फूलबारी–नुवाकोट पर्यटकीय दृष्टिकोणले मात्रै नभएर स्वास्थ्य, प्रकृति र वातावरणका हिसाबले पनि महत्वपूर्ण ऐतिहासिक गन्तव्य हो ।’ उनले बुटवल–नुवाकोटगढी हाइकिङले पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने विश्वास समेत व्यक्त गरे । लुम्बिनी प्रदेश सरकारका पूर्व पर्यटनमन्त्री लीला गिरीले बुटवलबाट बिहानी हिँडाइमाथि नुवाकोटगढीमा पुगेर पुनः बुटवल फर्किंदा आम मानिसका लागि स्वास्थ्यका हिसाबले अतिउत्तम हुने बताए । उनले विदेशी पर्यटक लागि पनि यो छोटो दूरीको अन्त्यन्तै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने बताए ।

प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले लुम्बिनी घुम्न आउने विदेशी पर्यटकलाई फूलबारी नुवाकोटको हाइकिङमा सहभागी गराउने गरी पर्यटन व्यवसायीले प्याकेज तयार गर्नुपर्ने बताए । सिद्धार्थनगर भैरहवाका प्रमुख इस्तियाक अहमद खानले भैरहवाको गर्मी छल्न नजिकै रहेको फूलबारी नुवाकोट हाइकिङ फलदायी हुने बताए । उनले भने, ‘भैरहवाको मात्रै नभएर छिमेकी राष्ट्र भारतका पर्यटकका लागि पनि यो हाइकिङ महत्वपूर्ण गन्तव्य र आकर्षकस्थल बन्न सक्छ । हामी सबै मिलेर यसको प्रचारमा जुटौँ ।’

पर्यटन प्रवर्द्धनका लागि नाट्टाले हाइकिङका रुपमा विकास गर्ने योजनाले यस क्षेत्रको पर्यटनमा नयाँ गन्तव्यको विकास भएको नाट्टा प्रदेश अध्यक्ष रचना पन्तले बताइन् । यात्रामा विभिन्न सङ्घसंस्थाका प्रमुख, निजी क्षेत्रका अगुवा, सुरक्षाकर्मी, कलेजका विद्यार्थी, पत्रकारलगायत गरी साढे तीन सयभन्दा बढीले साढे तीन किलोमिटरको उकालो चढेर माथि नुवाकोट पुगी पुनः तल फूलबारी फर्केका थिए ।

पर्या–पर्यटनका हिसाबले अत्यन्तै महत्वपूर्ण गन्तव्यका रुपमा रहेको बुटवल–नुवाकोट हाइकिङ यात्रा अत्यन्तै रोमाञ्चक रहेको भैरहवाको सिर्जना जोशीले बताइन् । नुवाकोट प्रवेशद्वारबाट करिब आठ सय मिटरको सिँढी चढ्दा केहीमाथि समथर भूगोल आउँछ । उक्त समथर भूभागमा हाइकिङमा जाने यसो एकछिन आराम गर्न पनि मिल्छ । हाइकिङमा पहिलो पटक जानेको लागि उक्त ठाउँ पहिलो विश्रामस्थल हो ।

उत्तर पश्चिम पहाडको सालघारीको यात्रामा हिँडे झँै लाग्ने र सालका रहर लाग्दा बोटले थप आनन्द दिने हाइकिङका क्रममा पसिनापुछ्दै उकालो उक्लिरहेकी भैरहवाकी ज्ञानुमाया पोखरेलले बताइन् । जैविक विविधताले भरिपूर्ण फूलबारीदेखि नुवाकोटको यात्रामा लागेको थकानलाई नुवाकोटमा रहेको भैरव मन्दिर, नुवाकोट गढी, भ्यूटावर र नुवाकोट गाउले बिर्साउने पर्यटन व्यवसायी अञ्जन श्रेष्ठले बताए ।

भ्यूटावरबाट साँझ बुटवल बजारको झिलिमिली अवलोकन गर्न र चिसो मौसममा स्थानीय उत्पादनबाट बनाइएका खानाको परिकारको स्वादमा नाच्दै गाउँदै पर्यटक रमाउँदा साच्चिकै आनन्द अनुभूत हुने नाट्टाका पूर्व अध्यक्ष सागर अधिकारीले बताए ।

त्यस क्षेत्रको विकासका लागि सबैको सहकार्यमा आफूहरुले योजनाबद्ध काम गरिरहेको नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपालले बताए । उनले नुवाकोट गढीलाई ऐतिहासिक, धार्मिक र पर्यावरणीय हिसाबले पर्यटन प्रवर्द्धन गर्न योजनाबद्धरुपमा काम भइरहेको बताए । नुवाकोटगढी पुग्न अहिले बुटवल उपमहानगरपालिका–१३ बेलवासदेखि करिब एक घण्टामा सडक मार्ग हुँदै सवारीसाधनमा पनि पुग्न सकिन्छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP