शनिबार , बैसाख २०, २०८२

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले एमसीसीका आपत्तिजनक बुँदा संशोधन नगरीकन संसद्बाट अनुमोदन गर्न नमिल्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग विशेष कुराकानी गर्दै पूर्वप्रधानमन्त्री खनालले भने, “एमसीसीमा हस्ताक्षर भएको ५ वर्ष भयो । त्यसलाई २ वर्षसम्म गुपचुप राखियो । तीन वर्षदेखि बहसमा छ । अब अमेरिकाले एक वर्ष पर्खियोस् । यो सम्झौतामा धेरै खालका आपत्तिजनक कुरा छन् । तिनलाई नसच्चाईकन संसद्बाट अनुमोदन गर्नुहुँदैन । त्यसैले एमसीसीका बारेमा प्रधानमन्त्री शेरबहादुर देउवा चिन्तित हुनुपर्ने कारण छैन । उहाँसँग त्यसलाई कुन ऐन अन्तरगत संसद्मा लैजाने भन्ने गेट पास नै छैन ।”
मुलुकलाई विभाजित गरेर एससीसी अनुमोदन गर्न नहुने उनको जिकिर छ । नेता खनालले भने, “एमसीसीमा उदार लोकतन्त्र र उदार अर्थतन्त्र मान्नैपर्ने भनेको रहेछ । जब कि हामीले संविधानमा समाजवाद उन्मुख लेखेका छौं । अब हामीले समाजवाद लेखेको संविधान मान्ने कि अमेरिकाको उदार लोकतन्त्र ? अमेरिकी कानुन कस्तो छ, कस्तो बन्छ, हामीले कसरी मान्ने ? अमेरिकी राष्ट्रिय सुरक्षा स्वार्थ हामीलाई थाहा छैन । उसका ८० देशमा ८०० सुरक्षा पोस्ट छन् । कतै अमेरिकी सुरक्षा छाताभित्र राख्न खोजिएको त होइन ? यसबारे अमेरिकाका कुनै व्यक्तिले बोलेर हुँदैन, सम्झौताका प्रावधानले बोल्नुपर्यो ।”

एमसीसी पास गर्छु भनेर कसैले धमास दिन नहुने उनले बताए । नेता खनालले भने, “राजतन्त्र खुइलिएर गइसक्यो । अब म होइन, हामी भन्नुपर्यो । कसैले धमासका कुरा गर्नुहुँदैन । यस्ता मुद्दामा बहुमत, अल्पमत होइन, राष्ट्रिय सहमति बन्नुपर्छ । एमसीसीले धेरै गम्भीर प्रश्न उठाएको छ । सैन्य गठबन्धनको पनि केही संकेत गर्छ । त्यसमा राष्ट्रिय हितभन्दा पर गएर राखिएका प्रावधान रहेछन् । दुनियाँको कुनै शक्तिले भने पनि एससीसी पास गर्न सक्दैन ।”
पूर्वप्रधानमन्त्री खनालले आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई तीन महले दिएको पनि बताए । उनले थपे, “हामीले बल्ल एमसीसीका नौ वटा दस्तावेज पाएका छौं । त्यो उपलब्ध गराउनुभएकामा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई धन्यवाद छ । हामीले तीन वर्षअघि माग्दा तत्कालीन परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले दिन चाहनुभएको थिएन । अहिले मैले प्रधानमन्त्रीलाई तीन महले दिएको छु । एमसीसीमा विद्यमान पक्ष, विवादित पक्ष र संशोधन गर्नुपर्ने पक्ष समेटिएको छ त्यसमा ।”
एमसीसी अहिलेको मतभेद नभएकाले त्यसले गठबन्धनमा असर नगर्ने नेता खनालको जिकिर छ । उनले भने, “यो गठबन्धन कुनै दल वा व्यक्तिको चाहनाले बनेको होइन । ५ दलीय चाहना र जनताको भावनामा बनेको हो । त्यसैले एमसीसीको विषयले गठबन्धन टुट्दैन । एमसीसी भनेको एउटा असहमतिको मुद्दा हो । त्यसमा अहिले मतभिन्नता भएको होइन । पहिलेदेखिकै छ । त्यसैले निर्वाचनको मुखमा असहमतिलाई थाती राखेर जानुपर्छ ।”

गठबन्धन टुट्दैमा आकाश नखस्ने पनि उनले बताए । उनले थपे, “कसैले एमसीसीलाई अमेरिकाको साम्राज्यवादी हतियार भएकाले रिजेक्ट गर्नुपर्ने तर्क गरेका छन्, कसैले यसलाई कमा, फुलस्टप पनि नबिगारीकन लिनुपर्छ भनेका छन् । तर हामी यसभित्र आपत्तिजनक कुरालाई हटाएर अमेरिका सहयोग लिनुपर्छ भन्ने पक्षमा छौं । तर नेपालको स्थायित्वको विरोधी तत्वको अनेक अफवाह र चलखेल गरिरहेका छन् । प्रधानमन्त्रीले यसो भन्नुभयो, उसो भन्नुभयो, धम्की दिनुभयो भनेर लेखिरहेका छन् । म त के भन्छु भने गठबन्धन तोडिँदै मा कुनै आकाश खस्ने कुरा छैन । हाम्रा निम्ति देश, जनता सार्वभौसत्ता नै ठूलो हो ।”
तत्काल संसद्बाट एमसीसी अनुमोदन गर्न अध्ययन नपुग्ने उनको भनाइ छ । खनालेले भने, “अध्ययन नपुगेको अवस्थामा हतारपतारमा अघि बढाएकाले समस्या भएको हो । हामी सकेसम्म ग्रान्ट नगुमोस् भन्ने चाहन्छौं । तर आत्मसमर्पण गरेर जाँदैनौं । हामीले अमेरिकाभन्दा पहिले भारत र चीनसँग सम्बन्ध राम्रो बनाएर जानुपर्छ । छिमेकीसँग राम्रो सम्बन्ध नबनाईकन बाँकी विश्वसँग राम्रो सम्बन्ध बनाउन सक्दैनौं । हामी राष्ट्रिय हितलाई सर्वोपरि राखेर अमेरिकी सरसहयोग लिन चाहन्छौं । नेपाली चस्मा लगाएर यथार्थ हेर्नुपर्छ ।”
अर्को प्रसंगमा उनले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोग लगाउन खोज्नु असफल कसरत हुने दाबी पनि गरे । खनालले भने, “सभामुखविरुद्ध महाभियोगको प्रस्ताव असफल कसरतबाहेक केही हुनेवाला छैन । उहाँले संसद् संविधान र लोकतन्त्रका निम्ति काम गर्नुभएको छ । उहाँलाई किन हटाउने ?”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP