मंगलबार , बैसाख २९, २०८३

जतिसुकै शक्तिशाली भएपनि राजनीतिमा एउटा शक्ति एकातिर बाँकी अर्कातिर भएमा परिणाम एकता बनाउनेहरुको पक्षमा जान्छ । नेपालको राजनीतिमा केपी शर्मा ओलीविरुद्ध बाँकी शिर्ष नेताहरु लाग्दाको परिणाम देखिइसकेको छ ।

तत्कालीन नेकपा हुँदा ओलीविरुद्ध तीन पूर्वप्रधानमन्त्रीहरु एकसाथ सडकमा पुगेका थिए । पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल हामी यहाँ छौं भन्दै सडकमा पुगे । त्यसलाई ओलीले उपहास गरे । ओलीले आफ्नै दलका तीन पूर्वप्रधानमन्त्रीहरुलाई सडकमा पुर्याएको भन्दै चर्चा भयो । तर, विस्तारै परिणाम ओलीको विपक्षमा जानथाल्यो ।

ओलीले केन्द्रको सत्ता गुमाए । ७ मध्ये ६ प्रदेशमा सरकारबाट बर्हिगमन हुनुपर्यो । स्थानीय सरकारमा ओली खुम्चिए । त्यसमा पनि कतिपयले एमाले छाडे ।

राष्ट्रियसभाको बागमती प्रदेश अन्तर्गतको एक सिटका लागि भएको उपचुनावमा भोट क्रस भई कलम चिन्हका खिमलाल देवकोटाले सुर्य चिन्हका बादललाई पराजित गरे । गठबन्धनले कलमलाई जिताएर देखाए । लुम्बिनीको राष्ट्रियसभा उपनिर्वाचनमा पनि गठबन्धनबाट काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका थिए ।

१२ माघमा हुने १९ सिटको राष्ट्रियसभा निर्वाचनमा पनि गठबन्धन एकजुट छन् । एमालेले ८ सिट जितेको विगतका सिटहरु गुमाउने निश्चित जस्तै छ । यसरी ओलीलाई गठबन्धनको शक्ति निकै भारी परिरहेको छ । यतिसम्मकी गठबन्धन यसरी नै टिकिरहेमा आमनिर्वाचनमा नराम्रो धक्का खाने परिस्थिति बनेको छ ।

अबको चुनावमा के होला

सत्ता गठबन्धन आउँदो चुनावसम्म मिलेर जाने चर्चा पनि छ । त्यो कठिन छ तर असम्भव होइन । गठबन्धन रहेर चुनावमा गएमा नेकपा एमालेका लागि ठूलो राजनीतिक धक्का पर्न सक्छ । २०७४ सालको चुनावी मतलाई हेर्ने हो भने पनि एमालेको निकै कम सिटमा जित्ने सम्भावना रहन्छ ।

२०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन बन्दा एमालेले १०३ र माओवादी केन्द्रले ५९ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ चुनावमा उम्मेदवार उठाएका थिए । जनमोर्चालाई एक सिट, हृदयश त्रिपाठीको समूहलाई दुई सिटमा साथ दिएका थिए ।

एमालेको सुर्य चिन्ह लिएर उम्मेदवार बनेका १०३ मध्ये ८० जना विजयी भएका थिए । गोलाकारभित्र हँसिया हथौडा चुनाव चिन्ह लिएर माओवादीका २३ उम्मेदवार विजयी भएका थिए । एमाले र माओवादीको गठबन्धन सफल भएको थियो । एक्लै चुनाव लडेको नेपाली काँग्रेस निकै खुम्चियो । उसले प्रत्यक्षतर्फ २३ सिटमा मात्र जित हासिल गरेको थियो । त्यो भन्दा झण्डै दोब्बर बढी समानुपातिकतर्फ सिट ल्यायो ।

२०७० सालको निर्वाचनमा हार व्यहोरेको धेरै क्षेत्रमा एमाले उम्मेदवार माओवादीसँगको गठबन्धनले विजयी भएका थिए ।

माओवादीसँगको गठबन्धनले ८० स्थानमा प्रत्यक्षतर्फको उम्मेदवारलाई विजय बनाउन सकेको एमालेले आउँदो निर्वाचनमा एक्लै लडेमा विगतको सफलता दोहोराउन असम्भवप्रायः छ । साख जोगाउनै मुश्किल पर्न सक्छ ।

माओवादीसँगको एकता समाप्त भएको छ । एमाले आफै विभाजित छ । काँग्रेस, माओवादी केन्द्र, एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धन बनेको छ । फुटेको एमालेले पाँच दलीय गठबन्धनसँग चुनाव एक्लै लडेमा ठूलो धक्का खान सक्छ ।

विघटित प्रतिनिधि सभामा निर्वाचित एमालेका ८० मध्ये ३१ जनाले १० हजार भन्दा बढी मतान्तरले जित हासिल गरेका थिए । १६ जनाले ७ हजार, ११ जनाले ५ हजार, ६ जनाले ३ हजार, ६ हजारले २ हजार, ५ जनाले १ हजार, ३ जनाले ५ सय र ३ जनाले ५ सयभन्दा कम मतान्तले जीत हासिल गर्न सकेका थिए । यो तथ्यांकलाई आधार मान्ने हो भने माओवादीसँग विना गठबन्धनमा जाँदा एमालेलाई सिधै ५० सिटमा झट्का लाग्ने देखिन्छ । माओवादीको मत एमालेलाई पर्दा कम्तिमा ५० सिटमा जीत सुनिश्चित भएको हो । बाँकी ३० सिटमा पनि फुटेको एमालेका लागि जीत निकै कठिन हुने देखिन्छ । त्यसमाथि काँग्रेससँग माओवादी, नेकपा एस, जसपा र राजमो मिलेर बनेको गठबन्धनसामु एमाले निरिह हुने अवस्था बन्न सक्छ ।

अर्को रोचक पक्ष, १० हजारभन्दा मतान्तरले जीत हासिल गर्नेमा नेकपा एसमा लागेका हालका प्रत्यक्ष निर्वाचित सांसदहरुको संख्या उल्लेख्य छ । जसमा माधवकुमार नेपाल, झलनाथ खनाल, सोमनाथ पाण्डे, विरोध खतिवडा, मेटमणी चौधरी, कृष्णलाल श्रेष्ठलगायत छन् । एमाले छाडेका बलिया नेता तथा उम्मेदवारहरुका कारण पनि एमालेको लागि यथास्थितिमा अबको चुनाव सजिलो छैन ।

गठबन्धन टिकाउन काँग्रेसभित्र दबाब परिरहेको छ । देउवा गठबन्धन जोगाइराख्न चाहन्छन् । उनीपक्षीय काँग्रेस सहमहामन्त्री महेन्द्र यादवले चुनावसम्म गठबन्धन रहने बताएका छन् । उनले एमालेलाई सून्यमा झार्ने ठोकुवा समेत गरेका छन् । यादवको भनाई अपत्यारिलो लाग्न सक्छ । तर, पाँच दलीय गठबन्धन एकजुट भएमा ओलीका लागि अबको चुनाव फलामको च्यूरा सावित हुनसक्छ । त्यसैले उनी कुनैपनि रणनीति चालेर भएपनि गठबन्धन तोड्न लागेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP