आइतबार , बैसाख ७, २०८२

सत्तारुढ दल नेकपा एमालेले हिजो काठमाडौंमा शक्ति प्रदर्शन गर्‍यो । देशमा केही भएको छैन भन्ने जबरजस्ती भाष्य बनाउँदै अराजकतावादीले निराशा छर्न खोजेको ठहरसहित सुशासन, मुलुकको समृद्धि र सुदृढ लोकतन्त्रको सन्देशका लागि भन्दै एमालेले हिजो कार्यकर्ता काठमाडौंको दरबार मार्गमा उतारेको थियो ।

एमालेले जागरणसभाको नाम दिएर सडकमा कार्यकर्ता उतारेपछि सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै काठमाडौं महानगरले एक लाख जरिवाना तोकेको छ । नगर प्रहरी निरीक्षक लीलाराज गाछाले एमालेलाई काटेको पत्रमा महानगरले फोहरमैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ बमोजिम जरिवाना तोकिएको उल्लेख छ ।

मेयर बालेन्द्र शाह (बालेन)को निर्देशनमा महानगरले एमालेलाई जरिवानाको पत्र काटेपछि एमालेका नेताहरु रुष्ट छन् । एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं महानगरका मेयर शाह एमालेविरुद्ध परिचालित छन् भन्ने कुरा पुष्टि भएको दाबी गरेका छन् । त्योमात्रै होइन, सत्तारुढ दल त्यसमा प्रधानमन्त्री आफैं सडकमा ओर्लिएको भन्दै विभिन्न टीकाटिप्पणी भइरहेको छ । काठमाडौं महानगरले काटेको जरिवानाको पत्र, जागरणसभाको औचित्यलगायत विषयमा केन्द्रित रहेर नेपाल प्रेसले एमालेका उपमहासचिव प्रदीप ज्ञवालीसँग गरेको सवालजवाफः

– एमालेले काठमाडौंका सडकमा फोहोर गरेको भन्दै महानगरले एक लाखको जरिवाना तोक्यो । त्यसलाई कसरी लिनुहुन्छ ?
त्यो महानगरको पूर्वाग्रह नै देखिन्छ । हामी जहाँ कार्यक्रम गर्छौं, त्यहाँ हाम्रा स्वयम्सेवकहरुले आफैं सरसफाइ गर्छन् । कार्यक्रम नै नसकिँदै २ बजे नै पत्र लेख्नु त पूर्वाग्रह नै देखिन्छ । त्यसको हामीले क्लियर पारेर जवाफ पनि दिन्छौं ।

कार्यक्रम सकिएको छैन, कार्यक्रम सकिएपछि आयोजकहरुले के गर्छन्, फोहोर व्यवस्थापन गर्छन् कि गर्दैनन् भन्ने कुराको न्यूनतम जानकारी नलिइकन २ बजे त हाम्रो कार्यक्रम सुरुमात्रै भएको थियो । त्यसलाई पूर्वाग्रह राखेर राजनीतिक इस्यु बनाउन खोजिँदैछ । यो एकदमै गलत कुरा हो ।

– महानगरका मेयर बालेन शाह एमालेविरुद्ध यसरी लाग्नुको कारण के देख्नुहुन्छ ?
त्यो त उहाँले जान्ने कुरा भयो । उहाँसँग हाम्रो के प्रतिस्पर्धा छ र ? तर पनि कार्यक्रम सुरु हुँदानहुँदै आयोजकहरुले के गर्छन् नहेरी मानौं, क्षति नै भयो रे ! क्षतिको मूल्यांकन गर्ने कुनै पद्धति होला,

फोहोरको पनि मूल्यांकन गर्ने पद्धति होला । त्यो नै नगरी कार्यक्रमको बीचमा पत्र लेख्नु भनेको एकदमै पूर्वाग्रह हो । त्यसको ठोस जवाफ पनि पठाउँछौं । गलत कुराको करेक्सन गर्न पनि लगाउँछौं ।

– हिजो जुन उद्देश्य राखेर कार्यक्रम राख्नुभएको थियो । त्यो कसरी सफल भयो ?
हिजोको हाम्रो कार्यक्रम एमालेका विरुद्ध भइरहेको भ्रामक प्रचार र देशमा केही पनि हुँदैन सबै खत्तम छ भन्ने ढंगले सिर्जना गर्न खोजिएको निराशालाई चिर्ने प्रयास हो । हिजोको कार्यक्रमले त्यो प्रयासमा राम्रो सन्देश दियो भन्ने निष्कर्ष छ ।

– सत्तारुढ दल त्यसमा पनि प्रधानमन्त्री आफैं सडकमा जानु उपयुक्त होइन भन्ने टिप्पणी पनि गरिरहेका छन् नि ?
यस्ता कार्यक्रम दुई प्रकारले प्रेरित हुन्छ । पहिलो- कसैको विरोध वा विरोध प्रदर्शन गर्न । दोस्रो- जनतालाई जागृत गर्ने, सूचना दिने अर्थमा हुन्छन् । हाम्रो कार्यक्रम जनतालाई सूचना दिने र जागृत गर्ने अर्थमा हो । यसरी नै दलहरु र जनताका बीचमा निरन्तर कनेक्सन भई नै रहन्छ ।

बाहिर रहेका मान्छेहरुले भ्रम फैलाउन खोजेपछि त्यसलाई स्पष्ट पार्न खोज्नुभएको हो, कुनै आन्तरिक कारणले होइन । नेपालमा राजनीतिक अस्थितरता एउटा रोग जस्तै छ।

जनतासँग राजनीतिक दल जोडिने कसरी त ? सेवामार्फत जोडिने हो, अरु विभिन्न कार्यक्रममार्फत जोडिने हो, निर्वाचनमार्फत जोडिने हो । बेला-मौकामा सभा समारोहमार्फत पनि जोडिने हो । त्यसैले हामीले जनतासँग जोडिने माध्यमको रुपमा हिजोको कार्यक्रम गरेका हौं ।

– दुई ठूला दल मिलेर सरकार बनेको छ, तर प्रधानमन्त्रीले हिजोको सभामा पनि सरकारको आयु तोक्नुभयो । किन पटक पटक यो कुरा दोहोर्‍याइराख्नु भएको छ ?
बाहिर रहेका मान्छेहरुले भ्रम फैलाउन खोजेपछि त्यसलाई स्पष्ट पार्न खोज्नुभएको हो, कुनै आन्तरिक कारणले होइन । नेपालमा राजनीतिक अस्थितरता एउटा रोग जस्तै छ। हिजो बीपी कोइरालादेखि अहिले केपी ओलीसम्म आइपुग्दा पनि दुई तिहाइ भएको सरकारलाई पनि टिक्न नदिने, निरन्तर राजनीतिक अस्थिरता सिर्जना गरिराख्ने र त्यो अस्थिरताभित्र अनुचित लाभ लिने प्रवृत्ति छ ।

त्यही प्रवृत्तिको कारणले अहिले यो सरकार बन्दा कतिपय साना दलहरुको बार्गेनिङ गर्ने बाटो पनि टुटेको छ । त्यसैले यो कांग्रेस र एमालेबीचको सहकार्य लामो दिन टिक्दैन भन्ने फैलाइरहेको भ्रमलाई चिर्न खोजेकोमात्रै हो ।

– प्रधानमन्त्रीले मात्रै होइन, कांग्रेस सभापतिले पनि सरकारको आयुबारे बोल्न थाल्नुभएको छ । यता प्रचण्डले हाम्रो जादुको संख्या अझै कायम छ भन्न थाल्नुभएको छ । कतै खटपट भएर प्रचण्डको यो अभिव्यक्ति आएको होइन त ?
होइन, उहाँको त्यो एउटा दिमागी कल्पनामात्रै हो । माओवादी र प्रचण्डले चाहेर सरकार परिवर्तनको कुनै सम्भावना छैन । उहाँको एकखालको बेचैनी हो । उहाँ कहिले बंगलादेश, कहिले श्रीलंका बनाउने कुरा गर्नुहुन्छ । कोशी प्रदेशमा आफ्नै सांसदहरुको सहभागितामा प्रदेशको नामकरण गरेकोविरुद्ध अहिले जातीय संगठनहरुसँग हातेमालो गर्न थाल्नुभएको छ ।

प्रधानमन्त्रीको चीन भ्रमणलाई विवादित बनाउन खोज्नुभएको छ । यो बीचमा दरवारियाहरुसँग पनि बाक्लो बसाइ भइरहेको छ । उहाँ सत्ताबाट बाहिरिएपछि विचलनमा देखिनुभएको छ । त्यही विचलनको अभिव्यक्ति हो । त्यो केही पनि हुनेवाला छैन ।
@NepalPress

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP