मंगलबार , बैसाख २९, २०८३

राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको प्रमुख दलका शीर्ष नेताहरुको ‘भेटघाट’मा प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावमा जाने प्रस्ताव गरेका छन् । त्यसको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुले त्यसको प्रतिवाद गरेका छन् भने राष्ट्रपतिले समर्थन भाव देखाएकी छन् ।

बंगलादेश भ्रमणको तयारीमा रहेकी राष्ट्रपति भण्डारीले चियापानका लागि भन्दै प्रमुख दलका शीर्ष नेताहरु र पूर्व प्रधानमन्त्रीहरुलाई बोलाएकी थिइन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा नेकपा एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, राष्ट्रिय जनमोर्चा र नेमकिपाका नेताहरु सहभागी थिए । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी पनि उपस्थित भेटमा एमालेका नेता पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल भने अनुपस्थित रहे ।

आमन्त्रित नेताहरु उपस्थित भएपछि सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले कोभिड–१९ का कारण लामो समय भेट हुन नपाएको र आफू बंगलादेश भ्रमणमा पनि जान लागेकाले चियापान पनि गरौं भनेर बोलाएको जानकारी दिइन् ।

अन्तिममा राष्ट्रपति भण्डारी बोलिन् । उनले ‘चुनाव लोकतान्त्रिक प्रक्रिया नै हो, चुनावलाई किन नकारात्मक रुपमा लिनुपर्‍यो ? यद्यपि निर्णय तपाईंहरुको हो’ भनेको एक नेताले बताए ।
प्रमुख विपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बंगलादेश भ्रमणका लागि राष्ट्रपतिलाई शुभकामना दिए ।

एक सहभागीकाअनुसार अरु नेताहरु बोल्न नखोजेपछि सहभागीहरु उठ्न खोजेका थिए । तर प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले म केही बोल्छु भनेर समय लिए ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्ने ५ पुसको आफ्नो कदमको बचाउ गरे । सर्वोच्च अदालतले जे फैसला गरेको भए पनि संसद विघटनसम्बन्धी व्यवस्थामा संविधानमा भएको जिकिर गरेका उनले ‘चुनाव लोकतन्त्र होइन र ? त्यसो भए २ वर्षपछि पनि चुनाव नगर्ने ? भनेर प्रश्न गरेका छन् ।

पुनर्स्थापित प्रतिनिधिसभाले पनि राम्रोसँग काम गर्ने नदेखिएको भन्दै प्रधानमन्त्री ओलीले अब सबै राजनीतिक दल मिलेर चुनावमा जाने प्रस्ताव समेत राखेका छन् ।

भेटमा सहभागी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी भन्छन्, ‘प्रधानमन्त्रीले हिजोअस्ति जे भन्दै आउनुभएको थियो, त्यही दोहोर्‍याउनुभयो । र, अब पनि ताजा जनादेशका लागि चुनावमा जानुपर्छ भन्नुभयो ।’

तर नेताहरुले प्रधानमन्त्रीको भनाइको प्रतिवाद गरे । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले के हो सल्लाह, आफैंले बनाएको संविधान हेर्नुपर्दैन ? भन्दै प्रश्न गरे भने माओवादी नेता श्रेष्ठले सर्वोच्चको फैसला कार्यान्वयन गर्ने कि बहस गर्ने ? भनेर प्रश्न गरेका छन् ।

त्यसपछि कांग्रेस उपसभापति विमलेन्द्र निधि बोले । उनले प्रधानमन्त्री ओलीको अभिव्यक्ति सुनिरहँदा ‘प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्छ कि पर्दैन ? अविश्वासको प्रस्ताव ल्याउन पाइन्छ कि पाइँदैन ? सबै मिलेर चुनाव गर्ने भनेको के हो ?’ भन्ने जस्ता जिज्ञासा आफ्नो मनमा आएको बताए ।

माओवादी नेता श्रेष्ठले राष्ट्रिय संकटका बेला वा राष्ट्रिय मुद्दाहरुमा छलफल गर्न राष्ट्रपतिले दलहरुलाई बोलाउन सक्ने, तर यो सर्वदलीय बैठक नभई चियापान मात्र भएको बताए । संसद विघटनबारे गरेको फैसला कार्यान्वयन गर्नुको साटो प्रधानमन्त्रीले किन बहस गर्न खोज्दैछन् भनेर प्रश्न उठाए ।

श्रेष्ठले संसद विघटन बदर गर्ने फैसला गर्दा सर्वोच्च अदालतले सरकार बन्न नसकेमा मात्र संसद विघटन हुनसक्छ भनेर प्रष्ट भनिसकेको अवस्थामा दलहरुले चाहँदैमा चुनावमा जान सकिन्छ ? भनेर प्रश्न गरेको एक नेताले बताए ।

कांग्रेस उपसभापति निधिले पनि संविधान र संसदीय प्रक्रियाअनुसार मात्र चुनावमा जान सकिने बताए भने चित्रबहादुर केसीले पनि प्रधानमन्त्रीमाथि प्रश्न गरे ।

त्यसपछि बोलेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो यस्तो छलफल गर्ने थलो हो र ? भनेर प्रश्न गरेका छन् । ‘म धेरै बहस त गर्न चाहन्नँ, तर प्रधानमन्त्रीले निकै अरुचिकर अप्रिय कुरा बोल्नुभयो’, उनले भने ।

नेताहरुको तर्फबाट अन्तिम वक्ताका रुपमा राप्रपा अध्यक्ष प्रकाशचन्द्र लोहनी बोले । सरकारको तीन वर्षको कामले जनतामा निराशा छाएकाले अहिलेको संकट आएको भन्दै उनले प्रधानमन्त्रीले सबै पक्षसँग छलफल गरेर संसदबाट निकास खोज्नुपर्ने बताए । लोहनी बोलेपछि नेताहरु त्यहाँबाट उठ्न खोजेका थिए ।

राष्ट्रपतिले के भनिन् ?

अन्तिममा राष्ट्रपति भण्डारी बोलिन् । उनले ‘चुनाव लोकतान्त्रिक प्रक्रिया नै हो, चुनावलाई किन नकारात्मक रुपमा लिने ? यद्यपि निर्णय तपाईंहरुको हो’ भनेको एक नेताले बताए ।

भेटपछि कतिपय नेताहरुले चुनावको वातावरण बनाउन राष्ट्रपतिमार्फत बैठक बोलाइएको त होइन भन्ने आशंका व्यक्त गरेका छन् ।

भेटमा सहभागी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावमा जाने प्रधानमन्त्रीको प्रस्तावमा राष्ट्रपतिको समर्थन भाव देखिएको पुष्टि गरे । यद्यपि चुनावको प्रस्ताव प्रधानमन्त्रीले राखेको भन्दै उनले भने, ‘मैले चुनावपछि सबै समस्याको समाधान हुन्छ भनेर कसले ग्यारेन्टी लिन्छ भनेर प्रश्न गरेको छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP