मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीका तर्फबाट प्रतिनिधिसभामा नव निर्वाचित सांसदहरूलाई निर्देशन दिएका छन् ।

कांग्रेसका नव निर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिन आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा उनले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । मन्त्री कार्कीले भने, ‘सम्माननीय प्रधानमन्त्री ज्यूले प्रतिनिधिसभाका सबै सांसदलाई प्रभावकारी भूमिका निर्वाह गर्नका लागि निर्देश गर्नु भएको छ ।’

सत्ता गठबन्धनलाई निर्वाचनमार्फत जनताले अनुमोदित गरेकाले राष्ट्रिय राजनीतिका सन्दर्भमा छिट्टै गठबन्धनको बैठक बसेर अरु निर्णय गर्ने उनले उल्लेख गरे । गठबन्धन सरकारकाबारे सोधिएको जिज्ञासामा सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले भने, ‘कांग्रेसले सत्ता गठबन्धनको नेतृत्व गरेको छ । सत्ता गठबन्धनलाई अहिले जनताले अनुमोदन गरेका छन् । आगामी दिनमा मुलुकको स्थिरता र जनताले चाहेको विकास र समृद्धिका लागि देश त्यस दिशातर्फ अघि बढ्छ ।’

महामन्त्री गगनकुमार थापाले आइतबारदेखि सुरु हुने पार्टीको केन्द्रीय समितिको बैठकले संसदीय दलको निर्वाचनका लागि निर्वाचन समिति गठन गरी आगामी बुधबारसम्म निर्णय आउने बताए । पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी सभापतिले प्रतिनिधिसभाका सम्पूर्ण निर्वाचित सांसदलाई बधाई तथा शुभकामना दिँदै संसदमा सक्रिय र प्रभावकारी भूमिका निर्वाहका लागि निर्देशन दिएको जानकारी दिए । उनले कांग्रेस संसदमा ठूलो दलको हैसियत प्राप्त गरेको र गठबन्धनमा पनि फराकिलो अन्तर रहेकाले स्वभाविकरूपमा कांग्रेस नेतृत्वमा सरकार गठन हुनुपर्ने भए पनि यससम्बन्धी निर्णय गठबन्धनको बैठकबाट हुने बताए ।

नेता डा. शेखर कोइरालाले कांग्रेस प्रतिनिधिसभाको ठूलो दल भएकाले उसकै नेतृत्वमा गठबन्धन सरकार गठन हुनुपर्ने धारणा राखे । अर्का नेता विमलेन्द्र निधिले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने जिकिर गरे । नेता एनपी साउदले पार्टी सभापतिकै नेतृत्वमा गठबन्धनले सफलता पाएकाले उनकै नेतृत्वमा प्रधानमन्त्रीमा सहमति हुने विश्वास व्यक्त गरे ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कूल ८९ सिट जितेर सङ्घीय संसद्को सबैभन्दा ठूलो दल बनेको छ । सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा पाँचदलीय सत्ता गठबन्धनको नयाँ सरकार गठनका लागि कसरत गरिरहेको छ । निर्वाचन आयोगले बुधबार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरी बिहीबार राष्ट्रपति समक्ष प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको चर्चा सुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP