मंगलबार , बैसाख २९, २०८३

महोत्तरी। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगमनविरुद्धको खबरदारी जारी नै रहेको बताएका छन्। आसन्न स्थानीय तह निर्वाचनमा प्रतिगमनकारी जनताबाट पाखा लागेपछि आन्दोलनको एक चरण पूरा हुने उनले बताए।

बर्दिबास नगरपालिका-११ खयरमाराको सुन्दरबस्तीस्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हामीले गत वर्ष असंवैधानिक तवरले संसद् विघटन गर्ने हरकतलाई ठेगान लगायौं, यसपालिको आसन्न स्थानीय तह निर्वाचनले प्रतिगमनकारी झारपात सबै साफ गर्नेछ।’

आसन्न स्थानीय तह निर्वाचनसम्म मात्र नभएर अब हुने संसदीय निर्वाचनसम्म प्रतिगमनविरुद्धको पाँच दलीय गठबन्धन कायम रहने उनको भनाइ थियो। अध्यक्ष प्रचण्डले विगतमा आफू नेतृत्वको जनयुद्धताकाको ऐतिहासिक ठाउँ खयरमारा प्राविधिक शिक्षाको केन्द्र बनेको चर्चा गरे। पाँच करोड ५० लाख लागतको ४० कोठे र चार करोड ८३ लाख लागतको २१ कोठे गरी दुई अत्याधुनिक भवन शिक्षालयका तयार भएका छन्। अध्यक्ष प्रचण्डले यिनै भवन आज एक समारोहबीच उद्घाटन गरेका हुन्।

‘अब यो शिक्षालय मुलुकभरि दक्ष प्राविधिकको परिपूर्ति गर्ने मुलुककै एउटा खास गन्तव्य बन्दैछ,’ उनले भने, ‘यहाँको शैक्षिक उत्पादनले मुलुकको विकासमा महत्त्वपूर्ण योगदान दिने विश्वास गर्न सकिन्छ।’ नेपालको वाम प्रजातान्त्रिक आन्दोलनका योद्धा स्व निर्मल लामाको नाउँमा ‘निर्मल लामा बहुप्राविधिक शिक्षालय’ स्थापना भएर सञ्चालनमा आएको चार वर्ष पूरा भएको छ। शिक्षालयले शिभिल इञ्जिनियरिङ, जोमेट्रिक इन्जिनियरिङ (अमिन, सर्भे), वनविज्ञान, फुड एन्ड डेरी टेक्नोलोजी, होटल म्यानेजमेन्ट, फार्मेसी र रेडियोग्राफी (रेडियोलोजी) विषयको सैद्धान्तिक र व्यावहारिक सीप दिँदै आएको छ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को सम्बन्धनमा शिक्षालयले मधेस प्रदेशका माविलाई विभिन्न विषयको पठनपाठनको स्वीकृति दिने गरेको छ। यसैअनुरुप सिरहाको धनगढीस्थित सामुदायिक विद्यालयले प्राकृतिक चिकित्सा र आयुर्वेदको पठनपाठन सुरु गरेको छ।

बर्दिबास-११ को खयरमारास्थित चनौटेमा अध्यक्ष प्रचण्डले आज नै शहीद पार्क निर्माण कार्यको शिलान्यास गरे। बर्दिबास नगरपालिकाले यो पार्क निर्माणको योजना अघि बढाएको हो। -रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP