मंगलबार , बैसाख २९, २०८३

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले विचारमा अस्पस्टता हुँदा कम्युनिस्ट आन्दोलन समस्यामा पर्दै आएको बताएका छन्। आइतबारबाट काठमाडौंमा सुरु भएको माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत सोमबार बन्दसत्रमा पेस गरेको ४५ पृष्ठ लामो प्रतिवेदनमा कम्युनिस्ट आन्दोलन र नेकपा माओवादी केन्द्रमा समेत विचारको अस्पष्टता रहेको उनले स्वीकार गरेका हुन्।

‘आज राष्ट्रिय राजनीतिदेखि कम्युनिस्ट आन्दोलन र हाम्रो पार्टीमा समेत देखा परेका समस्याहरूको प्रमुख र चुरो कारण विचारको विकास र स्पष्टताको अभाव हो भन्ने तथ्यलाई आत्मसाथ गरिनुपर्दछ,’ दाहालले पेस गरेको २१ औ शताब्दीमा समाजवादको नेपाली बाटो नामक प्रतिवेदनमा उल्लेख छ।

दाहालले विचारधारात्मक र राजनीतिक कार्यदिशामा विकास र स्पष्टताको प्रश्नलाई राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय आयामबाट समेत हेर्नुपर्नेमा जोड दिएका छन्।

उनले वित्तीय पुँजीवादका रूपमा व्यक्त भूमण्डलीकृत सामाज्यवादका विशेषताहरू, सूचना प्रविधिमा भएको क्रान्तिको समग्र प्रभावका साथै आजको उत्पादन शक्ति र उत्पादन सम्बन्धको वस्तुवादी आकलन गरेर तथा आफ्नै आर्थिक राजनीतिक र सामजिक विकासको ठोस अवस्थालाई ठोस रूपमा विश्लेषण र संश्लेषण गरेर मात्र विचारमा विकास र स्पष्टता हासिल गर्न सकिने धारणा राखेका छन्।

विकासको वर्तमान अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थितिमा उभिएर सही विचारधारा र राजनीतिक कार्यदिशाका आधारमा क्रान्तिकारी पार्टी र क्रान्तिकारी रूपान्तरणको ठोस आधार प्रस्तुत गर्ने चुनौती पार्टीसामु रहेको दाहालको भनाइ छ।

दाहालले आफ्नो प्रतिवेदनमा नेकपाको राजनीतिक र विधानको मूल भावना एकता महाधिवेशन नहुँदासम्म समान हैसियतमा दुई अध्यक्ष रहने र आलोपालो गरेर बैठकको अध्यक्षता र सरकारको नेतृत्व पनि समान अवधिका लागि गर्ने भए पनि ओलीले त्यसको उल्लंघन गरेको आरोप लगाएका छन्।

‘राजनीतिक प्रतिवेदन, विधान र संगठनात्मक व्यवस्थापनको सहमतिले एकता प्रक्रियालाई सही साबित गर्छ। केपी ओलीको चरम व्यक्तिवादी अहंकार, सहमतिका विपरीत निरङ्कुश ढंगले पार्टी र सरकार चलाउने धृष्टता एवं उनमा रहेको माक्सवादविरोधी सामन्ती, दलाल पुँजीवाद, वैदेशिक प्रतिक्रियावादका अघि आत्मसमर्पण गर्ने चरित्रका कारण पार्टीभित्र चरम गुटबन्दी, अस्वस्थ अन्तरसंघर्षको विकास भयो,’ दाहालको प्रतिवेदनमा भनिएको छ।

दाहालले पार्टीभित्रको अन्तरसंघर्षमा आफ्नो पराजय निश्चित देखेपछि ओली गुटले संविधान नै खारेज गर्ने नियतले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन्। संसद् विघटनले अस्वस्थ अन्तरसंघर्षलाई शत्रुतापूर्ण अन्तरसंघर्षमा परिणत गरेको उनको तर्क छ। पार्टीले त्यस किसिमको विषम परिस्थितिमा पनि एकताको रक्षा गर्दै ओलीका गलत विचार, प्रवृत्ति र कार्यशैली सच्याउन अन्तिमसम्म प्रयास गरे पनि ओली नसुध्रिएको बरु प्रतिगमनको यात्रामा अघि बढेको दाहालको आरोप छ।

उनले ओलीलाई केन्द्रीय समितिको दुईतिहाइभन्दा बढी मतले कारबाही गरे पनि तत्कालीन निर्वाचन आयोग र संसद् सचिवालयले जानीबुझी गरेको ऐन र नजिरविपरीत क्रियाकलाप तथा अदालतको अस्वाभाविक राजनीतिक फैसलाका कारण एकता असफल भएको प्रतिवेदनमा उल्लेख रहेको आजको नागरिक दैनिकमा खवर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP