क्यानबेरा। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बहुसांस्कृतिक पहिचान देशको शक्ति, समृद्धि र राष्ट्रिय एकताको महत्वपूर्ण आधार भएको बताएका छन्। उनले विभिन्न संस्कृति, धर्म र पृष्ठभूमिका समुदायबीच सद्भाव कायम राख्दै विविधतालाई उत्सवका रूपमा मनाउन आह्वान गरेका छन्।
क्यानबेरास्थित संसद् भवनमा बिहीबार आयोजित फेडेरेसन अफ एथनिक कम्युनिटिज काउन्सिल्स अफ अस्ट्रेलिया (FECCA) को राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री अल्बानिजले आप्रवासी समुदायले अस्ट्रेलियाको सामाजिक, सांस्कृतिक र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताए।
“परिवर्तनलाई बुझ्दै अस्ट्रेलियाको स्वरूप निर्माण : अनेक कथा, एउटै भविष्य” विषयमा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै उनले अस्ट्रेलियाको इतिहास कुनै एक समुदायको मात्र कथा नभएको उल्लेख गरे। बेलायती र आयरिस समुदायदेखि ग्रीक, इटालियन, पोर्चुगिज, लेबनानी, भियतनामी, प्रशान्त टापुका तथा अफ्रिकी समुदायसम्मका मानिसले देशको विकासमा योगदान दिएको उनको भनाइ थियो।
प्रधानमन्त्रीका अनुसार आप्रवासीहरू स्वास्थ्य सेवा, निर्माण, शिक्षा, व्यापार, रेस्टुरेन्टलगायत विभिन्न क्षेत्रमा अस्ट्रेलियाको विकासका अभिन्न हिस्सा बनेका छन्। देशका एकतिहाइभन्दा बढी साना व्यवसायका मालिक विदेशमा जन्मिएका व्यक्ति रहेको उल्लेख गर्दै उनले आप्रवासीको उद्यमशीलताले अर्थतन्त्र र रोजगारी सिर्जनामा योगदान दिएको बताए।
घृणा र विभाजनविरुद्ध एकजुट हुन आग्रह
विश्वका विभिन्न भागमा जारी युद्ध र द्वन्द्वको प्रसङ्ग उल्लेख गर्दै अल्बानिजले अस्ट्रेलियामा सामाजिक सद्भावको संरक्षण गर्नुपर्ने बताए। आर्थिक दबाबका बेला केही व्यक्तिले समुदायबीच विभाजन सिर्जना गर्दै अरूलाई दोष दिने प्रयास गर्न सक्ने भन्दै उनले त्यस्ता प्रवृत्तिप्रति सचेत रहन आग्रह गरे।
उनले जातीय भेदभाव, घृणा र असहिष्णुताविरुद्ध सबै समुदाय एकजुट हुनुपर्नेमा जोड दिए।
बन्डीमा भएको आतंकवादी आक्रमणपछि स्थापना गरिएको यहुदीविरोधी भावना तथा सामाजिक सद्भावसम्बन्धी शाही आयोगको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्रीले यहुदीविरोधी भावनाको बढ्दो चुनौतीलाई गम्भीर रूपमा लिनुपर्ने बताए। समुदायबीचको सम्बन्ध बलियो बनाउन विभिन्न संस्थाले गरिरहेको प्रयासको प्रशंसा गर्दै उनले घृणाजन्य गतिविधि रोक्न आवश्यक कदम चाल्नुपर्ने धारणा राखे।
बहुसांस्कृतिक मामिला मन्त्री डा. एनी एलीमार्फत संघीय बहुसांस्कृतिक मामिला कार्यालय पुनःस्थापना गरिएको उल्लेख गर्दै उनले बहुसांस्कृतिकतालाई अस्ट्रेलियाको राष्ट्रिय पहिचानको महत्वपूर्ण हिस्साका रूपमा अघि बढाउनुपर्ने बताए।
आप्रवासी महिलाको सीप पहिचानका लागि ८५ मिलियन डलर
आप्रवासी तथा शरणार्थी पृष्ठभूमिका महिलाले आफ्नो योग्यता र सीपअनुसार रोजगारी पाउन नसकेको विषय पनि प्रधानमन्त्रीले उठाए।
उनका अनुसार करिब तीन लाख ५० हजार महिला आफ्नो योग्यता र सीपभन्दा तल्लो तहका काममा संलग्न छन्। त्यस्तै, ४१ प्रतिशतले मात्र आफ्नो शैक्षिक योग्यतासँग मेल खाने रोजगारी पाएका छन्। समान योग्यता भएका अस्ट्रेलियामा जन्मिएका महिलाको तुलनामा उनीहरूको आम्दानी ३१ प्रतिशत कम रहेको पनि उनले बताए।
यस अवस्थालाई सुधार गर्न आप्रवासीको सीप तथा शैक्षिक योग्यताको पहिचान प्रक्रिया सहज बनाउनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो। यसैका लागि सरकारले यस वर्षको बजेटमा सीप पहिचान सुधार गर्न ८५ मिलियन अस्ट्रेलियन डलर लगानी घोषणा गरेको उनले जानकारी दिए।
विविधताले समुदायलाई जोड्छ : अल्बानिज
बहुसांस्कृतिक उत्सव, चाडपर्व र धार्मिक कार्यक्रममा विभिन्न समुदायका मानिसको सहभागिताले आपसी समझदारी र सम्बन्ध बलियो बनाउने प्रधानमन्त्रीले बताए।
लुनार फेस्टिभल तथा रमजानको इफ्तार कार्यक्रममा सम्बन्धित समुदायबाहिरका मानिसलाई पनि स्वागत गरिने अनुभव सुनाउँदै उनले सांस्कृतिक विविधताले मानिसलाई विभाजित नभई एकअर्कासँग जोड्ने काम गर्ने बताए।
अल्बानिजले आप्रवासीहरूले आफ्नो सांस्कृतिक सम्पदासँगको सम्बन्ध कायम राख्दै अस्ट्रेलियाको साझा भविष्य निर्माणमा सहभागी हुन सक्ने बताए। नयाँ पुस्ताका लागि अझ राम्रो भविष्य बनाउने चाहना सबै समुदायलाई जोड्ने साझा भावना भएको उनको भनाइ थियो।
अन्त्यमा, FECCA तथा समुदायस्तरका संस्थाहरूले सामाजिक सद्भाव र बहुसांस्कृतिक सम्बन्ध बलियो बनाउन गरिरहेको कामको प्रशंसा गर्दै प्रधानमन्त्रीले सहिष्णुतामा मात्र सीमित नभई आधुनिक अस्ट्रेलियाको विविधतालाई खुलेर उत्सवका रूपमा मनाउनुपर्नेमा जोड दिए।











