
साउन–भदौतिर तीनकुनेस्थित सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेको भवनको पहिलो तला भाडामा लिन केही मानिस आए।
भरखरै भेटेरीनरी अस्पताल सरेर खाली भएकाले फ्ल्याट भाडामा दिन सकिनेमा सहकारीका सञ्चालक प्रेमबहादुर श्रेष्ठ पुगे। यद्यपि, सहकारी संस्थाको भवन भएकाले केही प्रक्रिया पूरा गर्नुपर्ने बताए।
उनले अघि सारेका सबै सर्त र प्रक्रिया पूरा गर्न उनीहरू तयार भए। भाडामा कुरा मिल्यो २३ हजार ५ सय। त्यसपछि तालाचाबी जिम्मा दिए।
नेपाल अडिटर एसोसिएसनका महासचिवसमेत रहेका श्रेष्ठको कार्यालय पनि सोही भवनको चौथो तलामा छ।
आफ्नै सहकारीको भवनको फ्ल्याट खाली राख्न नहुने विचारले सो निर्णयमा पुगेको उनी बताउँछन्।
तर, सबै सर्त मान्न तयार भएका युवाहरूले कुनै कागजात ल्याएनन्। उनले पटकपटक ल्याउन आग्रह गरिरहे। केही सीप नचलेपछि ७ दिनको अल्टिमेटम दिए।
त्यसपछि ती युवाहरू देखिएनन्, फ्ल्याट नै छोडेर भागिसकेपछि मात्र श्रेष्ठले चाल पाए।
भाडा नतिरी जुन घरको फ्ल्याटबाट मानिस भागेका थिए, त्यसैमा चैत १५ गते राजावादीहरूले लगाइदिएको आगोले चारतले सो भवन सबै सखाप भएको छ।
आगोको मुस्लोले भएभरका सामान खरानी बनेको घरभित्र केही कुरा सग्लो छैन। श्रेष्ठ अहिले दैनिक गएर भवन हेर्छन्, केही तस्बिर खिच्छन् अनि निराश बनेर फर्कन्छन्।
अराजक भीडले सोही घरलाई किन निसाना बनाएको होला, उनी ठम्याउन सकिरहेका छैनन्। अनेकथरीका भिडिओ फुटेज उनले हेरिसके। थरीथरीका तर्क सुनिसके। तर, वास्तविकता पत्ता लागेको छैन।
सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बोर्ड भएकोले सोही घर प्रदर्शनकारीको तारो बनेको हुन सक्ने उनी अड्कल काट्छन्।
तर, त्योभन्दा पनि उनलाई केही महिनाअगाडि सो भवनको एउटा फ्ल्याट भाडामा लिएर बसेका मानिसहरूको याद आइरहेको छ। उनी शंकाको सुई त्यता पनि तेर्स्याउँछन्।
ती मान्छे दुर्गा प्रसाईंकै भएको उनको भनाइ छ।
‘जुन कोठाबाट आगो लगाइएको भनिएको छ, ७/८ महिनाअघि दुर्गा प्रसाईंका मान्छेले भाडामा लिएका थिए। ६० दिन अनसन बस्यौँ, अहिले दुर्गा प्रसाईंसँग सम्बन्ध छैन भन्ने कुरा गर्थे। दुर्गा प्रसाईं फटाहा रहेछ भन्दै छुट्टिएको बताउँथे,’ श्रेष्ठले मंगलबार नेपालखबरसँग भने, ‘झन् भाडा पनि घटाएर दिएँ। पछि त एक महिनाको भाडा नतिरी उनीहरू भागे।’
फोन आयो : तपाईंको अफिस जलाए
भुइँतलामा स्टेसनरी, पहिलो तलामा स्टेसनरीको गोदाम। दोस्रोमा कुरियर। त्यसभन्दा माथि ल फर्म र चौथो तलामा अडिटरको अफिस।
यही भवनको तेस्रो तलामा पत्रकार सुरेश रजकको जलेर ज्यान गएको छ।
र, यो उत्पातका कमान्डर दुर्गा प्रसाईं थिए। प्रसाईं तीनकुने आएलगत्तै प्रदर्शन हिंसात्मक भयो। एकैछिनमा यो क्षेत्र रणमैदान बन्यो। हिंस्रक भीडले निजी सम्पत्तिमा तोडफोड, लुटपाट र आगजनी गर्यो।
उनीहरूको पहिलो निसाना भने यही घर थियो। सटर फोरेर चेन गेट तोडेर उक्लेको अराजक जत्थाले लुटपाट गरी पहिलो तलाबाटै आगो लगाइदिएको प्रत्यक्षदर्शीबाट सुनेको श्रेष्ठ बताउँछन्।
चैत १५ गते नेपाल अडिटर एसोसिएसनको कार्यसमिति बैठक थियो।
तर, प्रदर्शन हुने केही दिनदेखिको हल्लाले हिँडडुल गर्न अप्ठेरो होला भनेर भर्चुअल बैठक राखियो। नयाँ बानेश्वरमा रहेका उनी सवा २ बजेसम्म कतै निस्कन पाएनन्। सञ्चारमाध्यम हेर्ने कुरै भएन।
‘खाजा खान निस्किँदा ३ जति बज्न लागेको थियो होला, फोन आयो। सहकारीको घरमा आगो लगाएको कुरा सुनाए,’ श्रेष्ठले त्यो दिनको सम्झना गर्दै थपे, ‘अनि मैले तत्काल दमकललाई फोन गरेँ। आफू भने नयाँ बानेश्वर अवरुद्ध भएकोले शंखमूलको बाटोबाट तीनकुने पुग्दा साढे ३ जति बजेको थियो। घर पूरै क्षति भएको रहेछ। दमकललाई त पुग्नै दिएको रहेनछ। दमकल त फर्काइएको सुनेँ।’
आफ्नै अडिटर कार्यालय दनदनी बलेर धुँवा निस्किरहेको देख्दा उनले केही सोच्नै सकेनन्। यद्यपि, सहकारीका सञ्चालकलाई जानकारी गराए। र, प्रत्यक्षदर्शीसँग त्यहाँको घटना विवरण लिन थाले।
‘त्यो सहकारीको भवनमा केही छ कि भनेर टार्गेट गराएको हुन सक्छ र त्यहाँ सहकारीको कार्यालय थिएन,’ उनी लख काट्छन्।
केहीबेर तोडफोड गरेपछि आगलागी गराएको उनलाई कसैले सुनायो।
‘त्यो बेलामा तेस्रो तलामा कुरियर गर्ने साथीहरू मात्र हुनुहुँदो रहेछ। ढुङ्गामुढा हुन थालेपछि उहाँहरूले तलैदेखि सटर बन्द गरेर च्यानल गेट लगाएर बस्नुभएको रहेछ,’ श्रेष्ठले भने, ‘भीडबाट आएर लुटपाट गर्न खोजे। सहकारीको भवनमा केही नपाएपछि आगो लगाएछन्।’
सहकारीका कोषाध्यक्ष अर्जुन भण्डारी ५ वर्षअघि सो भवन किनिएको बताउँछन्।
‘मौका छोपेर बसेको समूहले आगो लगाएको हुन सक्छ,’ उनले भने, ‘भवन पूरै जल्दा १ करोड बराबरको क्षति भएको छ।’
सो क्षेत्रमा प्रदर्शन गर्न दिएकोमा उनले असन्तुष्टि जनाए।
यहाँ भाडामा फ्ल्याट लिएर बसेकाहरूका भनाइमा यस घरमा लुटपाटपछि आगजनी गरिएको थियो।
प्रहरीले कौसीमा बसेर अश्रुग्यास प्रहार गरेको भन्ने हल्लाचाहिँ असत्य भएको उनीहरूको भनाइ छ।
तेस्रो तलामा ल फर्म चलाइरहेका अधिवक्ता राज सुवाल त्यस दिन भक्तपुरमा थिए।
तीनकुनेको कार्यालयमा अर्का साथी मात्र थिए। ११ बजे उनी बन्द गरेर अदालततिर लागे।
दिउँसो २ बजेतिर सो क्षेत्रमा उपद्रव मच्चियो। कार्यालय जलेको भिडिओ देखे। लुटपाट गर्नै त्यसो गरिएको उनी बताउँछन्।
२ जना मान्छेले पनि लडाउन नसक्ने दराज लडाएर सिसा फुटाउँदै भित्र छिरेको र सबै तोडफोड भएको उनले जानकारी दिए।
‘हाम्रो अफिसबाट त सात-आठ वर्षअगाडि ८० हजार तिरेर किनेको काठको मूर्ति लुटेर लगेछ। त्यो जलेको अवशेष पनि छैन। खरानी पनि छैन। र, मूर्ति पनि छैन,’ सुवालले भने।
प्रदर्शनको नाममा ठूलो अपराध घटेको उनी बताउँछन्।
‘बन्द भएको अफिससँग जतिसुकै रिस उठेको भए पनि प्रदर्शनकारीलाई केको सरोकार भयो? अनि तिनलाई अपराधी नभनी के भन्ने हो र? यो त ठूलो अपराध हो नि,’ उनी भन्छन्।
उनलाई जति आफ्नो अफिस जलेर दुःख लागेको छ, त्योभन्दा बढी पत्रकार सुरेश रजकको मृत्युका विषयमा बाहिर आएका हल्लाले बनाएको छ।
‘बदमासी गर्नेहरू भाग्न पाए। पत्रकार कसरी निसास्सिएर मर्छ? दुई तलामुनि आगो लागेको छ, दुई तलामाथिको मान्छे निसास्सिएर मर्छ?’ सुवाल प्रश्न गर्छन्, ‘त्यो आगो पनि कागज जलेको हो। अरु केमिकल जलेको होइन। केमिकल थियो भने बेहोस भएर भाग्न नसकेको भनी पत्याउन सकिन्थ्यो। कसैले केही गर्यो।’
@nepalkhabar