मंगलबार , बैसाख २९, २०८३

अष्ट्रेलियाको उत्तरी क्षेत्र डार्विनको एक हप्‍ते बसाईलाई बिट मार्नुभन्दा अघिल्लो दिन गत अगष्‍ट महिनाको अन्तिम हप्‍ता क्यासुरिनाको समुन्द्री तटमा सूर्यास्त हेर्ने मौका जुर्‍यो ।

डार्विन आएपछि क्रोकोडाइलस पार्क (Crocodylus Park) र सुर्यास्तको सौंन्दर्य हेर्न छुटाउन हुन्न भन्ने सुनेको थिएँ । एक हजारभन्दा बढीको संख्यामा राखिएका साना बच्चादेखि अजंगको वयस्क गोहीहरू लगायत अन्य थुप्रै जीवजन्तु र चराहरू राखिएको क्रोकोडाइलस पार्क दिउँसो सहृदयी मित्र विष्णुले घुमाईसकेका थिए, अनेक किस्सा र जोकहरू सुनाउँदै । मन लागे जति फोटोहरू खिचिदिएका थिए उनले । अब बाँकी थियो साँझमा सुन्दर सुर्यास्त हेर्नु ।

हिजो नै डार्विनका युवराज भाईले क्यासुरिनाको समुन्द्री तटबाट देखिने सूर्यास्त ज्यादै मनमोहक हुने कुरा भनिसकेका थिए । त्यसैले पनि सूर्यास्त हेर्न मनमा हुटहुटी जागेको थियो ।

उत्तरी अष्ट्रेलियाको डार्विनस्थित टिमोर सागरको तटीय क्षेत्रमा पाईने Casuarina प्रजातिका रुखहरूबाट उक्त ठाउँको नाम नै Casuarina Beach रहन गएको भन्ने भनाई छ ।

 

क्यासुरिनाको समुन्द्री तटनेर पुग्दा स्थानीय समय अनुसार साँझको ६:३० बजेको थियो । घाम अझै एक जुवा माथि नै देखिन्थ्यो ।

जब घडीमा ६:४० बज्यो, तब घामले अस्ताउन लागेको संकेत दियो । त्यसपछि भने युवराज, आशिस र सन्देश भाईहरूसँग समुन्द्री किनारातिर लाग्यौं । वरपर थुप्रै मानिसहरू क्यासुरिनाको समुन्द्री तटमा बसेर सुर्यास्त हेर्न आईपुगेका थिए ।

घाम जति अस्ताउन हतारिदै थियो त्यति नै सुनौला रंगले सजिएका बादलहरूले आकाशलाई रंगीन, मोहक र मादक बनाउँदै थियो । नजिकैको समुन्द्री किनारमा रहेका क्यासुरिनाका रूखहरू तथा चट्टान र बालुवामा समुन्द्रका छालहरूले कोमल स्पर्श गर्दै थिए । सहरको व्यस्त जीवन र कोलाहलबाट टाढा शान्त वातावरणबीच हतारिदै टाढा क्षितिजतिर ओझेल हुन खोज्दै गरेको सुन्तला रङको घामले दर्शकहरूलाई प्रकृतिको भव्यताको बोध गराईरहेको क्षणलाई युवराज भाईले फोटोमा कैद गरिरहँदा म भने सूर्यास्तको मनमोहक दृश्य हेरेर रमाइरहेको थिएँ । तर समय ज्यादै हतारिएको थियो । शायद घामलाई कतै टाढा जानु थियो ।

हेर्दाहेर्दै घाम आधा भयो । अनि हेर्दाहेर्दै घाम टिमोर सागरको क्षितिजको तल डुबेर नदेखिने भयो । घाम नदेखिए पनि टिमोर सागरको सुनौलो क्षितिज पानीभरि छछल्किएर अझ मनमोहक भएको थियो । समुन्द्री छालको पानीसँग केहीबेर जिस्किन म भाईहरूलाई केही वरै छोडेर म छालहरूतर्फ अघि बढें । छालको चिसो पानीलाई स्पर्श गरिसकेपछि छालको पानीमा फोटो खिच्दै गरेका दुई युवतीहरूमध्ये एकलाई मेरो फोटो खिचिदिन आग्रह गरें । उनले मुस्कुराउँदै मेरो हातबाट मोबाईल लिएर केही फोटोहरू खिचेर दिइन् । मैले उनलाई भन्यवाद भन्दै बिदा लिएँ ।

क्यासुरिनाको सुनौलो घाम डुबेर क्षितिजमा हराएजस्तै म पनि आफैमा हराएको थिएँ केही समयको लागि । तर प्रत्येक सूर्यास्तले नयाँ बिहानी लिएर उदाउँछ र उदाउनैपर्छ भन्‍ने सोचेर कासुरिनाको समुन्द्री तटलाई बाईबाई गरें ।

Source: sabdankur.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP