
तिनाउ नदीको काखैमा रहेको पुरानो बटौलीको २०० वर्ष पुरानो ३ तले घर । जहाँ चलचित्र निर्देशक/निर्माता गणेशदेव पाण्डेले शुरू गरेका छन्, चिया पसल ।
आश्चर्यलाग्दो चिया पसल भएको ठाउँ निमचोकले समेत परिचित छ । निमचोकमा आजभन्दा ६०–६५ वर्षअघिसम्म पहाडबाट नून खेप्न बटौली आउने भरियाहरू भारी बिसाउँथे । पहाडबाट ल्याइएका घ्यू ठूलो कराईमा राखेर खारिन्थ्यो । बुटवलको सांस्कृतिक शहरका रूपमा अगाडि बढाइएको त्यो पहाडको काममा अहिले नयाँ तरिकाबाट युवा गणेशदेवले चिया खार्दैछन् ।
जुन ठाउँ बुटवल उपमहानगरपालिका–१ मा पर्छ । त्यहीँ चिया पिएर आनन्द लिने चोकमा बुटवलका गणेश (४२) ले स्थापित हुन पाइला लम्काएका छन् । जहाँ चिया ब्राण्डको थालनीकर्ता पाण्डे बनेका छन् ।
काठमाडौंको बाग्मती करिडोर आलोकनगरमा गत वर्ष उनले शुरू गरेको चियाको व्यापार आफ्नै घरनेर विस्तार भएको छ । बुटवलमै जन्मिएका पाण्डेले बाल्यकाल यतै बिताए । उच्च शिक्षापछि उनी भारतमा चलचित्र सम्बन्धी अध्ययनमा हानिए । नेपाल फर्किएर गाँजाबाँजा, मञ्जरी, मालतीको भट्टी लगायत आधा दर्जन नेपाली चलचित्रको निर्देशन गरिसकेका उनमा बिस्तारै रुचि हराउँदै गयो । नेपालमा चलचित्र सम्बन्धी झन्झटले उनको रुचि फक्रिन पाएन । फिल्म क्षेत्रबाट केही पछाडि हटेपछि उनी एउटा निचोडमा पुगे – म चिया पसल नयाँ ढंगले चलाउँछु ।
जीवनको एउटा खुशी, जुन उनलाई चिया बेचेर मिलेको छ । उनी अहिले चियामा रमाएका छन् । बुटवलमा भर्खरै खुलेको ‘चियावाला’मा पाण्डे समर्पित देखिन्छन् ।
‘चिया पकाउने नयाँ काम होइन, विश्वरभरका प्रायः मानिसले खाने चियालाई ब्राण्ड बनाएर बिक्री गर्न सकिन्छ भन्ने सोचका साथ चियावाला सञ्चालन गरेको हुँ । जहाँ खुुशी मिल्छ, त्यहाँ काम गर्न रमाइलो हुन्छ । म अहिले चिया बिक्रीमा खुशी छु,’ पाण्डे भन्छन् ।
गणेशदेवले शुरू गरेको चिया पसल पाण्डे परिवारको लागि नयाँ काम भने होइन । उनले थालेको ‘चिया व्यापार’ तेस्रो पुस्ताको हो ।
गणेशदेवका हजुरबुवाले पनि चिया बेचे । बुवा घनश्यामले पनि चिया बिक्री गरे । अहिले त्यही पेशालाई गणेशले नयाँ र आधुनिक ढंगले अँगालेर अगाडि बढाएका हुन् । पाण्डे परिवारको ३ पुस्ता चियाको व्यापारमा लागेको हो ।
अहिले बुटवलमा सबै उमेर समूहका ग्राहक चियाको फरक स्वाद लिँदै चिसो सिरिठोको शितलता लिन पाण्डेको चियावालामा पुग्छन् ।
गणेशका हजुरबुवाले स्याङ्जाको कारिकोटमा व्यापारसँगै चिया पसल गर्थे । कारिकोटमै गणेशदेवका हजुरबुवा यज्ञप्रसादको चियापसल प्रख्यात बन्यो । पाण्डे परिवार विक्रम संवत् २०३० को दशकमा बसाइँसराइँ गरी बुटवल झर्यो । यज्ञप्रसादको प्रख्यात चियाको व्यापार गणेशदेवका बुवा घनश्यामले बुटवलमा झारेर चिया बिक्री गर्न आगोमा किट्ली बसाले । बुटवलको व्यापारिक केन्द्र अमरपथमा काठको ट्यांकी बनाएर २०३४ सालदेखि शुरू गरेको चिया व्यापार लोकप्रिय बन्यो ।
त्यहीँ चिया पसलमा व्यापार चलिरहेका बेला जन्मिएका गणेशदेवले हाटबजार लाइनस्थित कान्ति माविमा अध्ययन गरे । जागिरप्रति खासै रुचि नराख्ने र केही फरक काम गर्ने इच्छुक पाण्डेले भारतमा अध्ययन गरेपछि चलचित्रमा दशकभन्दा बढी समय बिताए ।
फिल्म क्षेत्रमा काम गर्दा अहिले चियावाला शुरू गरेको ठाउँ फिल्म सुटिङको रोजाइँमा पनि पर्थ्यो । बिस्तारै त्यहीँ ठाउँलाई पाण्डेले पाल्पाका सञ्जिव मास्के परिवारको २ शताब्दी पुरानो घरमा मर्मत सम्भार गरी पारिवारिक व्यवसायमा जोडिएर ‘चियावाला’ बने ।
उनको पसलभित्र सन् १९५६ लेखिएको छ । उनका हजुरबुवाले त्यो समयदेखि चियाको व्यापार शुरू गरेका थिए । उनले निर्देशन गरेका चलचित्रका पोस्टर पनि पसलभित्र राखेका छन् ।
‘मैले पैसा कमाउनको लागि बियर रक्सी बिक्री गर्थे होला । त्यो गरिनँ । चियामा मेरो भावनात्मक सम्बन्ध जोडिएकाले यहीँ पेशा रोजें,’ उनले मुसुक्क मुस्कुराउँदै भने ।
पाल्पाका मास्के परिवार २ शताब्दी अगाडि पनि ठूला व्यापारी थिए । नेपाल अंग्रेज युद्ध हुँदा मास्के परिवारले कर्नेल उजिर सिंह नेतृत्वको नेपाली फौजलाई रासन बिक्री गर्ने गर्थे ।
पाण्डेको चिया पसलमा १०० प्रकारका चिया पाक्छन् । त्यसमध्ये दूध चिया मात्रै १२ प्रकारका छन् । घनश्याम चिया, मेरो खुशी चिया, तराई चिया, मड्का चिया, रोयल टी, मावा चिया, लेमन मिल्क टी, हनी जिन्जर चिया, हनी सिनामन, केसर र मावा आइसी चियामा दूध प्रयोग हुन्छ ।
उनी भन्छन्, ‘घनश्याम चिया चाहिँ मेरो बुवाले पकाउने चिया हो । यो चियामा ग्राहकको च्वाइस हुन्न । मेरो खुशी चिया ग्राहकको रोजाइँ अनुसारको स्वाद हुन्छ । तराई चियामा तराईको टेस्ट हुन्छ । रोयल टीमा काजु किसमिस सहितको चिया हो,’ पाण्डे थप्छन्, ‘चियावालामा न्यूनतम ४० रुपैयाँदेखि ८०० रुपैयाँसम्मको चिया पाइन्छ ।’ ८०० पर्ने चिया ब्लूमिङ चिया हो । गणेशका बुवा–छोराको चिया पसलमा सितलता खान आउँदा ग्राहकले घनश्याम चिया मागेर खाँदा उनी दंग पर्छन् । उनले अहिले आमाको नाममा मनरुपा चिया पनि बनाउन थालेका छन् । घनश्याम चिया धेरै बिक्री होस् भन्ने गणेशदेवको ‘इन्टेस्ट’ छ ।
चियावालामा चिया मात्र पाइन्छ । कफी पाइँदैन, खाजा पनि पाइँदैन । ‘मैले एउटै चिजको ब्राण्ड गर्दैछु । त्यो चिया मात्र हो । अन्य होइन,’ पाण्डेले भने । परिवारले उनलाई अन्य व्यवसाय रोज्न भन्थे तर उनी बुवाको बिडो थाम्ने गरी चिया बिक्री गर्न थालेपछि परिवार मात्र होइन, बुटवलको युवा ‘जेनेरेसन’ उत्साही छ ।
पाण्डेले भारतमा अध्ययन गर्न जाँदा चियाका धेरै प्रकार हुन्छन् भन्ने बुझे । उनी भन्छन्, ‘धेरै प्रकारका चिया पनि पिएँ । त्यसपछि त्यस्तै गरी आफूले पनि सञ्चालन गर्नुपर्छ भन्ने सोचले म चियामै जोडिए ।’ उनले अहिले बुटवलबाट मात्रै दैनिक ५०० कपभन्दा बढी चिया बिक्री गर्न थालिसकेका छन् ।
अबको उनको योजना त्यहीँ बटौलीको विकाससँग जोडिने छ । त्यो पुरानो बटौलीका ऐतिहासिक धरोहर हेर्न मानिसहरू आउन् भन्ने उनको चाहना छ । ‘यहाँ ३०० वर्ष पुरानो नारायण मन्दिर छ । २ वर्ष पुराना केही घरका संरचनाहरू छन् । ती भग्नावशेषलाई संरक्षण गरिनुपर्छ । अंग्रेजहरू आफू पराजित भएको ठाउँ कस्तो रहेछ ? हाम्रा पुर्खाले घ्यूसँग नून साटेको पुरानो शहर कस्तो रहेछ भनेर हेर्ने वातावरण बनाउन स्थानीय सरकारले बटौलीको संरक्षण र प्रवद्र्धन गर्न आवश्यक छ,’ उनले भने ।
नयाँभन्दा पनि पुराना वस्तुप्रति आकर्षण बढ्दो छ । यही बटौली हुँदै पृथ्वीनारायण शाह, कर्नेल उजिरसिंह, पश्चिमतर्फ जाँदा यहीँ निमचोक हुँदै गएको पढ्न पाइन्छ । सुनसान बटौलीमा चिया पसलले चहलपहल बढाएको छ । जहाँ वडा कार्यालयले निःशुल्क वाइफाई वितरण गरिदिएको छ ।
@PrakashAcharya