
काठमाडौं : ललितपुर महानगरपालिका–१६ स्थित पट्को टोल। रातको १ बजे। सेतो ल्यान्डक्रुजर गाडी रोकियो। केही मान्छे गाडीबाट ओर्लिए। सरासर नारायण मन्दिरमा भएको वासुदेव–कमलाजाको मूर्ति निकाले। गाडीमा राखेर क्षणभरमै अलप भए। स्थानीयका अनुसार सन् १९८४ अर्थात् २०४१ सालतिर उक्त मूर्ति हरायो। पछि थाहा भयो, मूर्ति त अमेरिका पुर्याइएछ। त्यही मूर्ति ३६ वर्षपछि नेपालको हात परेको छ।
अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबीआई)का उपसहायक निर्देशक टिमोथी एन. ड्युनह्यामले अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडालाई शुक्रबार हस्तान्तरण गरेका छन्। उक्त मूर्ति नेपाल ल्याउने प्रक्रिया सुरु भएको छ।
‘झन्डै ६ महिनाअघि अमेरिकी अनुसन्धानकर्ता र पुरातत्वविद्हरूले मूर्ति भेटिएको सूचना दिएका थिए। अमेरिका सरकारले अमेरिकाका लागि नेपाली राजदूतलाई हस्तान्तरण गरेको छ’, सम्पदाविद् रवीन्द्र पुरीले अन्नपूर्ण पोस्ट्सँग भने, ‘विगतमा कार्गोबाट ल्याउँदा दुई–तीन सातामा आइपुग्थ्यो। यो मूर्तिका सम्बन्धमा परराष्ट्र मन्त्रालयको पहलमा भर पर्छ।’
सम्पदाविद् पुरीको समूहले नेपालबाट चोरी भई अन्य देश पुर्याइएकामध्ये उत्कृष्ट ५० मूर्तिको रेप्लिका (उस्तै खालको मूर्ति) बनाइरहेको छ। पुरीका अनुसार ९ सय वर्षअघिको प्राचीनता र स्वरूपले पनि महत्वपूर्ण अर्धनारीश्वर (विष्णु र लक्ष्मी) को उक्त वासुदेव–कमलाजाको मूर्तिको पनि रेप्लिका बनाइएको छ।
करिब दुई महिना लगाएर प्रमाण जुटाएपछि सञ्जय अधिकारीले तयार पारेको निवेदन ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र १६ नम्बरका वडाध्यक्ष निर्मलरत्न शाक्यले चार महिनाअघि प्रहरीमा उजुरीका रूपमा दर्ता गरेका थिए। मूर्ति फिर्ता गर्न कहाँबाट कुन मन्दिरबाट हराएको हो सोको प्रमाण पनि पेश गर्नुपर्ने प्रावधान छ। संयुक्त राष्ट्रसंघको सदस्यता लिएका देशले मूर्ति भेटिएपछि फिर्ता गर्नुपर्ने हुन्छ। ‘यो प्रावधानले र यसरी फिर्ता हुने प्रचलनले अबका दिनमा किन्ने र बेच्नेहरू पनि तर्सिन्छन् भन्ने हाम्रो बुझाइ छ’, पुरीले भने, ‘आजसम्म झन्डै १० वटा मूर्ति फिर्ता आइसकेका छन्। आठ वर्षअघि एकैपटक चारवटा फिर्ता ल्याइएका थिए।’
यसअघि फिर्ता ल्याइएका मूर्ति छाउनीस्थित राष्ट्रिय संग्रहालयमा राखिन्थे। यसपटक भने ललितपुर महानगरका जनप्रतिनिधिले उक्त मूर्तिलाई जहाँको त्यहीँ पुनःस्थापना गर्ने निर्णय गरेका छन्। मेयर महर्जनले भनेका छन्, ‘यो ललितपुर महानगरको पुरातात्विक सम्पदा हो। त्यस बेला हराएर पनि फिर्ता आउने प्रक्रिया सुरु भएको छ। ल्याउने खर्चकै कारण हाम्रो सम्पदा उतै अड्किँदैन, लागेको खर्च व्यहोर्न तयार छौं।’
एफबीआई, विज्ञहरू, वासिङ्टन डीसीस्थित दूतावासका कर्मचारी सबैको सत्प्रयासमा मूर्ति फिर्ता ल्याउने प्रक्रिया अघि बढेको पुरीले बताए। टेक्सासको डल्लास म्युजियमले भने पाँच महिनाअघि नै एफबीआईलाई हस्तान्तरण गरेको थियो। मेयर महर्जनले परराष्ट्र मन्त्रालयलाई मूर्ति फिर्ताका लागि प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्। उक्त मूर्तिबारे लैनसिंह बाङ्देलले आफ्नो किताब ‘स्टोलन इमेजेज अफ नेपाल’मा उल्लेख गरेका थिए। मूर्तिको उचाइ ३३.५ इन्च र चौडाइ १९.२५ इन्च रहेको जनाइएको छ।
‘वासुदेव–कमलाजा नामक मूर्ति सन् १९८४ मा ललितपुरको नारायण मन्दिरबाट चोरी गरी अवैध रूपमा अमेरिका ल्याइएको रहेछ’, मूर्ति ग्रहणपछि दूतावासले उल्लेख गरेको थियो। दूतावासका अनुसार उक्त मूर्तिलाई युनेस्कोको महासन्धिलगायत सबै प्रावधान र प्रक्रिया पूरा गरी नेपाल पठाइनेछ।
राजदूत खतिवडाले विशेष समारोहमा भनेका थिए, ‘महत्वपूर्ण उक्त ऐतिहासिक मूर्ति फिर्ता गर्न सहयोग गरेकोमा अमेरिका सरकारलाई धन्यवाद !’ सोही समारोहमा अमेरिकी विदेश मन्त्रालयका प्रमुख उपसहायक विदेशमन्त्री एर्भिन मेसिंगाले भनेका थिए, ‘नेपाललाई सांस्कृतिक सम्पदाको संरक्षणमा अमेरिकाको सधै साथ रहनेछ।’