बुधबार , बैसाख १७, २०८२

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समयअघि समाजवादी केन्द्र निर्माणको बल गरे।

नेपाली कांग्रेससँग गठबन्धन हुँदा हुँदै पनि उनले एमालेइतरका वामहरुलाई एक ठाउँ ल्याएर उक्त केन्द्र बनाउन खोजेका थिए।

मंसिर ४ मा तोकिएको चुनावअगाडि नै समाजवादी केन्द्र बनाउने उनको प्रयासले मूर्तरूप लिन सकेन।

उनकै प्रयासमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी पनि माओवादीकै चुनाव चिह्नमा लड्न तयार भएका थिए।

तर नेपाल र यादवको पार्टी समानुपातिक प्रणालीका कारण माओवादीको चुनाव चिह्नबाट लड्नबाट पछि हटे।

यस्तोमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतमको नेकपा एकता राष्ट्रिय अभियान गोलाकारभित्रको हँसिया हथौडा चिह्नबाट चुनाव लड्न र साझा घोषणा पत्र जारी गर्न तयार भएका छन्।

जनता समाजवादी छाडेपछि नयाँ पार्टी खोलेका डा. भट्टराई पनि प्रचण्डकै योजनाअनुसार ९ वर्षमा पहिलो खोलो फर्काउँदै माओवादीबाटै चुनाव लड्न तयार भए।

अर्थात्, माओवादीलाई भत्केको घरको संज्ञा दिएर हिँडेका बाबुराम अन्तत: त्यही घरमा आश्रय लिन आइपुगेका छन्।

बाबुरामको यही यु टर्नका कारण ३१ साउनको दिनभर नेपाली राजनीति तरङ्गित भइरह्यो

बाबुरामले माओवादी केन्द्रको चुनाव चिह्न लिएर दुई मंसिर ४ को प्रतिनिधि र प्रदेश सभा चुनाव लड्ने सहमति गरिसकेका छन्।

लगत्तै निर्वाचन आयोगमा दल दर्ता पनि गरियो। त्यसपछि प्रचण्ड, बाबुराम, नारायणकाजी श्रेष्ठ र नेपाल समाजवादी पार्टीका दोस्रो अध्यक्ष महिन्द्र राय यादव मुस्कुराइरहेको सामूहिक तस्बिर प्रचण्डको सचिवालयले सार्वजनिक गर्यो।

त्यस्तै अध्यक्ष भट्टराईले पनि पुरानै घरमा फर्किएपछि सुखद क्षण भन्दै प्रचण्डसहित चार नेताको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।

मंगलबार अन्तिम दिन प्रचण्ड र बाबुरामको हस्ताक्षरसहित माओवादी केन्द्र निर्वाचन आयोगमा दर्ता भयो।

त्यस्तै आजै गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस पनि दर्ता भएको छ। निर्वाचन आयोगका अनुसार आगामी चुनावका लागि ८४ दलले दर्ताका लागि निवेदन दिएका छन्।

त्यसमध्ये माओवादी केन्द्रको हँसिया हथौडा लिएर नेपाल समाजवादी पार्टी (नेसपा) र नेकपा (राष्ट्रिय एकता अभियान) ले प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवारी दिनेछन्।

चुनाव लगत्तै पार्टी एकता गर्न तयार भएर १५ वर्षदेखि माओवादी केन्द्रले अभ्यास गरेको चिह्नबाटै उठ्न दुई दल सहमत भएका हुन्।

वामदेव गौतम नेतृत्वको नेकपा (एकता राष्ट्रिय अभियान) ले प्रतिनिधि र प्रदेश सभामा ३ सिट मागेको छ। उसले कति सिट पाउँछ? निश्चित छैन तर, बाबुराम र महिन्द्र नेतृत्वको नेसपाले कम्तीमा १ सिट पाउने सहमति भइसकेको छ। उसले २ सिट पाउने निश्चित छ।

त्यो सुरक्षित भएको सिट हो- गोरखा २। त्यस्तै सर्लाही २ महिन्द्र रायका लागि गठबन्धनले छाड्न सक्नेछ।छलफलमा सहभागी एक नेताले डाक्टर बाबुराम भट्टराईले गोरखाबाट प्रत्यक्ष चुनाव लड्न मन नगरेको बताए।

गोरखा २ बाट डा. बाबुराम भट्टराईलाई उठाउने गरी सहमति गरेको स्रोतले जनाएको छ। सर्लाही २ मा महिन्द्र राय यादव उठ्नेछन्। यी क्षेत्रबाट २०७४ को चुनाव दुवै नेताले जितेका थिए।

बाबुराम आएपछि प्रचण्ड : हामी फुट्दा देशले दु:ख पायो, ठेस लागेपछि बुद्धि फिर्‍यो
भट्टराईले तत्कालीन एमाले-माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई हराएका थिए।

सर्लाही २ मा तत्कालीन राजपाबाट महिन्द्र राय निर्वाचित भएका थिए।

यसरी सुरक्षित बने बाबुराम
यदि कुनै कारण सहमति नतोडिए डा. भट्टराईले हँसिया हथौडा लिएर गोरखा २ बाट उम्मेदवारी दिनेछन्।

लिखित नगरिएको भनिएको सहमतिले डा. भट्टराईको निर्वाचन क्षेत्र सुरक्षित गरिएको उनीनिकट नेताहरुले बताएका छन्।

लिखित गर्दा अविश्वास हुने भएकोले मौखिक समझदारी बनाइएको स्रोतको दाबी छ।

यदि उनले त्यही क्षेत्र पाए भने २०६४ को पहिलो संविधानसभा चुनावदेखि २०७४ को प्रतिनिधि सभासम्म गरेर ४ पटक डा. भट्टराईले निरन्तर चुनाव उठ्ने रेकर्ड राख्नेछन्।

‘अहिले डा. भट्टराईको गोरखा २ मात्र कन्फर्म गरिएको हो, अन्य क्षेत्र र सिटको बारेमा कुरै भएको छैन,’ ३१ साउनको सहमतिबारे जानकार एक नेताले भने, ‘ठूलै कुनै कारण आइनलागे उहाँले चुनाव पुरानै क्षेत्रबाट लड्नुहुन्छ।’

तर, यो सहमतिलाई गोप्य राख्ने प्रयास भएको छ। माओवादी केन्द्रका नेताहरूले भने सिटबारे कुनै सहमति नभएको प्रतिक्रिया दिएका छन्।

माओवादी केन्द्रका वरिष्ठ नेता श्रेष्ठको गृहक्षेत्र पनि गोरखा २ नै हो।

अहिले राष्ट्रिय सभा सदस्य रहेका श्रेष्ठले यसपटक प्रतिनिधि सभामा सोही क्षेत्रबाट उम्मेदवारी दिन खोजेका छन्।

त्यसका लागि उनले एक वर्षदेखि उक्त क्षेत्रमा विकास निर्माणदेखि सामाजिक काम गरिरहेका छन्।

यसै महिना मात्रै ३ पटक उनी गृहजिल्ला पुगिसकेका छन्।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा चार नेताबीच ३१ साउन (मंगलबार) मा छलफल भएको थियो।

छलफल सकारात्मक भएको र पार्टी एकता गर्ने लक्ष्यसहित एउटै चुनाव चिह्न लिन डा. भट्टराई सहमत भएका हुन्।

भट्टराईनिकट एक नेताका अनुसार गोरखा २ मा भट्टराईलाई सहयोग गर्न प्रचण्ड पनि तयार छन्।

‘त्यही निर्वाचन क्षेत्रमा उठ्नुहुन्छ भने तपाईँलाई सहयोग हुन्छ भनेर प्रचण्डले भन्नुभएको छ,’ ती नेताले ठोकुवा गर्दै भने, ‘अन्य नेताहरुबारे गठबन्धनमा सहमति गर्ने कुरा भएको छ।’

भट्टराईनिकट अर्का एक नेताका अनुसार उनले सुरुमा प्रत्यक्षमा चुनाव लड्ने इच्छा गरेका थिएनन्।

स्थानीय तहको चुनावमा आफ्नो पार्टीको लज्जास्पद परिणामले उनी चिन्तित थिए।

त्यही भएर भट्टराईले प्रत्यक्ष चुनाव नलड्ने संकेत गरेका थिए।

उनले २५ साउनमा एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै कोही योग्य युवा आए आफू गोरखाबाट प्रत्यक्षमा चुनाव नलड्ने बताएका थिए।

तर, भट्टराईले हँसिया हथौडा चिह्न र गठबन्धनको साथ पाउने भएपछि फेरि एकपटक प्रत्यक्ष लड्न खोजेको ती नेताले बताए।

भट्टराईले छोरी मानुषी यमी भट्टराईलाई संसदीय राजनीतिमा डेब्यु गराउन खोजिरहेका छन्।

उनी आफू समानुपातिकमा बसेर मानुषीलाई अगाडि बढाउन खोजेको पनि चर्चा छ। मानुषीलाई भट्टराईले मिलेमा काठमाडौं ७ यदि नभए प्रदेशमा भए पनि उठाउने योजना बनाएको स्रोतको दाबी छ।

३१ साउनमा माओवादी अध्यक्ष प्रचण्ड लगायत नेताहरुसँग समझदारी बनेपछि उनले गोरखा २ बाटै उम्मेदवारी दिने निश्चित भएको नेताहरु बताउँछन्।

अहिलेसम्म नेसपाले कति सिट पाउने निश्चित छैन। गठबन्धनका पाँच दलमै सिट संख्याको टुंगो लागेको छैन।

तर, नेसपाले प्रत्यक्षमा कम्तीमा ४ सिट र समानुपातिकमा २ सिट प्रस्ताव गर्दैछ।

प्रदेशको हकमा प्रत्यक्ष र समानुपातिक गरेर ८ सिट माग गर्ने तयारी छ।

सहमतिपछि प्रचण्ड-बाबुराम, नारायणकाजी र महिन्द्रको हाँसो

त्यही भएर नेसपाले गठबन्धनमै आफ्नो सहभागिता खोजेको छ।

माओवादी केन्द्रसँग माग गर्दा सिट पाउने सम्भावना कम देखेर उसले गठबन्धनकै बैठकमा प्रस्ताव गर्न चाहेको छ।

२३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर अध्यक्ष भट्टराई र यादवले गठबन्धनमा सहभागी गराउन आग्रह गरिसकेका छन्।

प्रचण्डसँग सहमति गरेर माधव नेपाल भेटे
प्रचण्डसँग सहमति गरेर भट्टराईले ३१ साउनकै बेलुका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका छन्।

नेपाल निवास कोटेश्वर पुगेर उनले आधा घण्टा छलफल गरेका हुन्।

एक नेताका अनुसार भेटमा मिलेर समाजवादी केन्द्र बनाउने अभियान सफल पार्न भट्टराईले प्रस्ताव गरेका थिए।

‘प्रचण्डजी समाजवादी केन्द्र बनाउन तयार त हुनुभयो तर, उहाँ नेकपा छोड्न मान्नुभएको छैन,’ भट्टराईको भनाई उद्धृत गर्दै ती नेताले नेपालखबरसँग भने, ‘यदि साझा नाममा नआए नेकपा समाजवादी केन्द्र नै बनाएर चुनावपछि पार्टीहरू एकै बनाउनुपर्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख १८, २०८२ बिहिबार 23 Views

सरकार र आन्दोलनरत शिक्षकबीच सहमति

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP