
नेपाली सेनाले संयुक्त राज्य अमेरिकासँग दुई वटा सैनिक हेलिकोप्टर अनुदानस्वरुप माग्न कूटनीतिक पहलका लागि सरकारसमक्ष अनुरोध गरेको छ।
उच्च सरकारी स्रोतका अनुसार नेपाली सेनाले हेलिकोप्टर अनुदानमा माग गर्ने विषयमा असार अन्तिम साता रक्षा मन्त्रालयमा पत्र पठाएको थियो।
पत्रमा सेनासँग रहेका चार वटा हेलिकोप्टरमध्ये दुई वटा ग्राउन्डेड भएको र दुई वटा मात्रै चालु रहेको उल्लेख छ। ती दुई वटा हेलिकोप्टर आपत्कालीन राहत तथा उद्धारका लागि अपर्याप्त रहेको नेपाली सेनाले पत्रमा उल्लेख गरेको रक्षा मन्त्रालय स्रोतले जानकारी दियो।
सेनाको पत्रअनुसार रक्षाले परराष्ट्र मन्त्रालयलाई अमेरिकासँग अनुदानमा हेलिकोप्टर माग्न आवश्यक कूटनीतिक प्रक्रिया अघि बढाउन पत्राचार गरेको थियो।
अमेरिकी अनुदान सहायतामा हेलिकोप्टर ल्याउनु पर्ने भएकाले परराष्ट्रले अर्थ मन्त्रालयसँग सहमतिका लागि लेखेअनुसार केही दिनअघि अर्थले सहमति प्रदान गरिसकेको छ।
अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेको र अब चाँडै अमेरिकालाई पत्र लेख्ने तयारी रहेको परराष्ट्र मन्त्रालय उच्च स्रोतले नेपालखबरलाई जानकारी दियो।
जानकार स्रोतका अनुसार प्रधानसेनापति प्रभुराम शर्माले अनुदानमा हेलिकोप्टर उपलब्ध गराइदिन अमेरिकी पक्षलाई आग्रह गरेका थिए। गत महिना सम्पन्न अमेरिका भ्रमणका क्रममा प्रधानसेनापति शर्माले रक्षा मन्त्रालय पेन्टागन तथा अमेरिकी सेनाका उच्च अधिकारीसँग भएको भेटमा हेलिकोप्टर अनुदानस्वरुप उपलब्ध गराइदिन आग्रह गरेको सैनिकसम्बद्ध स्रोतले बतायो।
रक्षा मन्त्रालयका अधिकारीहरुले अमेरिकी सेनाका तर्फबाट अनुदानमा हेलिकोप्टर पाउने ‘ग्रिन सिग्नल’ नेपाली सेनाले पाइसकेको अनुमान गरे।
‘अमेरिकाले सकारात्मक जवाफ दिइसकेकै कारण आवश्यक सरकारी प्रक्रिया पुर्याउन सेनाले अहिले पत्र लेखेको हुनसक्छ,’ ती अधिकारीले भने।
मुलुकमा आर्थिक संकट रहेकाले अमेरिका वा अन्य मुलुकबाट हेलिकोप्टर किन्ने अवस्था नरहेको नेपाली सेनाले निक्र्यौल निकालेको थियो। सायद त्यसकारण नेपाली सेनाले अमेरिकाबाट दुई वटा हेलिकोप्टर अनुदानमा माग्न लागेको हो।
नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले चाहिँ आधिकारिक रुपमा आफूलाई यसबारे केही जानकारी नरहेको बताए।
‘यसबारे मैले बुझेर मात्रै केही भन्न सक्छु। मलाई यसबारे जानकारी छैन,’ उनले भने।
नेपाली सेनाले अमेरिकासँग अनुदानमा माग्न चाहेका दुई हेलिकोप्टर स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अन्तर्गत पर्ने/नपर्ने स्पष्ट भएको छैन। विवादबीच सरकारले अमेरिकी सेनासँगको एसपीपी सम्झौता अघि नबढाउने निर्णय गरिसकेको छ। तर, अमेरिकी दबाबकै कारण सरकारले एसपीपीमा अघि नबढ्ने निर्णयबारे अमेरिकालाई पत्राचार गर्न नसकेको आरोप लाग्दै आएको छ।
एसपीपीमा अघि नबढ्ने सरकारी निर्णयबाट अमेरिकी सेनाले दिने अन्य सहयोग पनि प्रभावित हुन्छ कि भन्नेमा सैनिक नेतृत्व चिन्तित देखिएको अर्का एक सरकारी अधिकारीले बताए। एसपीपी अघि नबढाउने एक महिनाअघिको मन्त्रिपरिषद्को निर्णय कसरी कार्यान्वयन गर्ने भन्ने सम्बन्धमा सरकारको स्पष्ट निर्देशन नआएको परराष्ट्र अधिकारीहरु बताउँछन्।
परराष्ट्रले एसपीपी अघि नबढाउने मन्त्रिपरिषद्को निर्णयबारे रक्षा मन्त्रालय र नेपाली सेनासँग परामर्श लिइरहेको परराष्ट्र प्रवक्ता सेवा लम्सालले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बताएकी थिइन्। उनले सरकारी निकायबीचको सल्लाहपछि मात्रै अमेरिकालाई पत्र लेखिने बताएकी थिइन्।
‘अहिले पनि हामी सरकारी निकायबीच आन्तरिक छलफलमै छौँ। तयारी हुँदैछ,’ उनले भनिन्।
अमेरिकाले दिने भनेको दुई स्काइ ट्रक अझै आएन
अमेरिकाले लामो समयअघि नेपाली सेनालाई अनुदान सहयोगमा चार वटा स्काइ ट्रक दिने प्रतिबद्धता जनाएको थियो। तर अहिलेसम्म दुई वटा मात्रै स्काइ ट्रक नेपाली सेनाले अमेरिकाबाट पाएको छ। पोल्यान्डमा निर्मित दुई वटा पीजेडएल एम–२८ स्काइ ट्रक अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमान्डले सन् २०१९ मा नेपाललाई दिएको थियो। अमेरिकी सेनाको रेखदेखमा नेपाललाई हस्तान्तरण गरिएका ती स्काइ ट्रक सैन्य प्रयोग मापदण्डअनुसार निर्माण भएका थिए।
इन्डो–प्यासिफिक सुरक्षा मामिलासम्बन्धी तत्कालीन अमेरिकी सहायक रक्षामन्त्री र्यान्डल स्राइबर नेपाल भ्रमणमै रहेका बेला ती दुई स्काइ ट्रक ल्याइएको थियो। ती स्काइ ट्रक अमेरिकाको स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) अन्तर्गत नै भित्रिएको प्रधानसेनापति शर्माले गत महिना संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बताएका थिए। तर, बाँकी दुई स्काइ ट्रक कहिले अमेरिकाले उपलब्ध गराउँछ भन्ने टुंगो छैन।
‘स्टेट पार्टनरसिप अन्तर्गत हामीले चार वटा सैनिक हवाइजहाज पाउने सहमति अमेरिकासँग भएको थियो। त्यसमध्ये दुई वटा नेपाल आइसकेका छन् र ती मेडिकल काममा प्रयोग भइरहेका छन्,’ शर्माले भनेका थिए।