मंगलबार , बैसाख १६, २०८२

जनप्रतिनिधिका रूपमा गरेको कामबाट वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले जति समर्थक जुटाएका छन्, आलोचक पनि त्यत्ति नै बढाएका छन् । चुनाव जितेयता पार्टी लाइनअनुसार काम नगरेको भन्दै आफ्नै पार्टी जनता समाजवादी पार्टीका नेताहरू समेत असन्तुष्ट थिए ।

एकातिर पार्टीले दोहोर्‍याएर टिकट दिने नदिने अनिश्चित, दिइहालेपनि जित्न कठिन छ भन्ने बुझेका उनी यो पटक पार्टी परिर्वतन गर्न चाहन्थे । ताकि फेरि मेयर बन्न सहज होस् । सरावगी शनिबार नेकपा एमालेमा प्रवेश गरे । वीरगञ्ज पुगेका एमाले अध्यक्ष ओलीले उनलाई पार्टी प्रवेश गराए ।

सरावगीको चाहना नेपाली कांग्रेसमा प्रवेश गर्ने थियो । विद्यार्थी जीवनमा नेविसंघको राजनीति गरेको र शेरबहादुर देउवाले कांग्रेस प्रजातान्त्रिक गठन गर्दा साथ दिएको नाता पनि थियो । त्यसैले करिब तीन महिनाअघि प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवालाई भेटेर पार्टी प्रवेश गर्न चाहेको बताएका थिए ।

देउवाले आफू निकट केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य रमेश रिजाललाई भेट्न सुझाए । सरावगीले पर्साका नेता रिजाललाई भेटेर कुराकानी पनि गरे । तर मेयरको टिकट पनि दिनुपर्ने भएकाले रिजालले पार्टीका अरू नेताहरुको राय बुझे ।

नेताहरुले ‘साह्रै अनपपुलर छ, उनलाई पार्टीमा ल्याएर बद्नामी बोक्नु हुँदैन, छोडिदिनुस्’ भनेपछि आफूले धेरै चासो देखाएको कांग्रेस नेता रिजाल बताउँछन् ।

२०७४ सालको स्थानीय निर्वाचनमा मेयरमा निर्वाचित सरावगीले १९ हजार ३९३ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार अजय द्विवेदीले १९ हजार १९७ मत पाएका थिए । अर्थात सरावगीसँग करिब दुई सय मतले कांग्रेसका उम्मेदवार पराजित भएका थिए ।

तर उपमेयरमा भने नेपाली कांग्रेसकी उम्मेदवार शान्ति कार्की निर्वाचित भएकी थिइन् र उनले मेयर सरावगीले भन्दा पनि बढी मत पाएकी थिइन् । कार्कीले १९ हजार ६०७ मत पाउँदा उनकी निकटतम प्रतिद्वन्द्वी तत्कालीन समाजवादी फोरमकी पिंकी यादवले १८ हजार पाँच सय ३० मत पाएकी थिइन् ।

त्यसैले सरावगी एमालेमा जाँदा जसपाको भोट घट्ने र आफूलाई सहज हुने कांग्रेसको विश्वास छ । कांग्रेसले भाउ नदिएपछि सरावगी एमालेतिर लागे । सरावगीले पूर्वमन्त्री एवं उद्योगी मोती दुगडमार्फत् एमाले अध्यक्ष केपी शर्मा ओलीसम्म पार्टी प्रवेशको प्रस्ताव पुर्‍याए ।

२०७४ को स्थानीय तह चुनावमा वीरगञ्ज महानगरमा पाँचौं भएको एमालेले मेयरले नै पार्टी प्रवेश गर्छु भन्दा अस्वीकार गर्ने कुरै भएन । व्यापारी समेत रहेका सरावगीका कारण जति भोट थपिन्छ, त्यो उसका लागि लाभ नै हो ।

अघिल्लो साता काठमाडौं आउँदा आफूलाई भेटेर एमाले आउने पक्का गरेका मेयर सरावगीलाई पार्टी प्रवेश गराउन ओली शनिबार वीरगञ्ज पुगे । सरावगीले भनेका छन्, ‘म अर्कै पार्टीमा गइसकेको थिए । पूर्वमन्त्री मोती दुगडजीले बीच बाटोमै समातेर ओलीजीसँग भेटाइदिनुभयो । त्यसपछि एमालेमा आएँ ।’

यद्यपि, उनी अन्तिम समयसम्म काँग्रेसमा प्रवेश गर्न प्रयासरत थिए । शुक्रबार साँझसम्म काँग्रेस महामन्त्री गगन थापासम्म आफ्नो चाहनाबारे सम्पर्क सुत्रमार्फत् कुरा पुर्‍याइरहेका थिए ।

जसपा नेताहरुलाई सरावगीले पार्टी छाड्दैछन् भन्ने थाहा नभएको होइन । तर मेयरमा निर्वाचित भएदेखि नै पार्टीलाई सहयोग नगरेको र जनप्रतिनिधिको रूपमा गरेको काम पनि सन्तोषजनक नभएकाले रोक्न प्रयास नगरेको पर्साका जसपा नेता प्रदीप यादव बताउँछन् ।

तीन ‘खेलाडी’ एमालेमा

मेयर सरावगीको प्रवेशसँगै वीरगञ्जको राजनीतिका तीन खेलाडी एमालेमा भेला भएका छन् ।

एमालेले अघिल्लो स्थानीय चुनावमा मेयरको उम्मेदवार बनाएका नेशनल मेडिकल कलेजका सञ्चालकसमेत रहेका बसरुद्दिन अन्सारी अहिले पनि पार्टीमै छन् । तत्कालीन राजपाबाट मेयरमा प्रतिस्पर्धा गरेका राजेशमान सिंह एक महिना पहिले मात्र एमालेमा प्रवेश गरेका थिए ।

उनी महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर २८ माघमा एमाले प्रवेश गरेका हुन् । उनी पनि वीरगञ्जको मेयरको उम्मेदवार बन्ने सहमतिमा एमाले प्रवेश गरेका उनी निकटहरू बताउँछन् । सरावगी थपिएपछि भने ३० वैशाखको चुनावमा अरु दलसँग लड्नुअघि टिकटकै लागि प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।

एमाले नेताहरू भने सिंहलाई प्रदेशसभा सदस्य र सरावगीलाई मेयरमा उम्मेदवार बनाउने विकल्प देख्छन् । उनीहरूकाअनुसार जसपामा असन्तुष्ट रहेको प्रतिनिधिसभा सदस्य विमल श्रीवास्तवलाई पनि पार्टी प्रवेश गराउने प्रयास भइरहेको छ । त्यसो भएमा व्यक्तिगत भोट भएका तीन नेताको बलमा वीरगञ्जको चुनावी परिणाम आफ्नो पक्षमा पार्न सकिने नेताहरू बताउँछन् ।

व्यापारिक घरानामा जन्मिएका विजयी सरावगी मेयर निर्वाचित हुनु अघिसम्म वीरगञ्जमा सफल उद्योगी व्यवसायी थिए । उनी उद्योग वाणिज्य संघको अध्यक्ष समेत बनेका थिए ।

२०६३ को लोकतान्त्रिक आन्दोलनको बेला वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष थिए । पछि नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पनि बने । २०७४ सालको स्थानीय निर्वाचन हुनुभन्दा ६ महिनाअघि तत्कालीन संघीय समाजवादी फोरममा प्रवेश गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP