
सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरेर वैशाखमै चुनाव गर्न सकिने निष्कर्ष निकालेको हो। गठबन्धनको शनिबार बसेको बैठकले संविधान र स्थानीय तहको निर्वाचनसम्बन्धी ऐन बाझिएकोले त्यसलाई संशोधन गरेर जुनसुकै समयमा पनि चुनाव गर्न सकिने निष्कर्ष निकालेको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको बैठकमा स्थानीय तहको निर्वाचन मिति घोषणा गर्नुअघि संविधानसँग बाझिएका कुरा कानुन संशोधन गर्न कानुनविहरुसँग छलफल गर्नुपर्ने निष्कर्षसमेत निकालेको बैठकमा सहभागी एक नेताले जानकारी दिए।
उनले भने, ‘संविधान र स्थानीय निर्वाचनसम्बन्धी ऐन बाझिएको छ त्यसलाई के गर्ने? पदावधि बाँकी रहेका जनप्रतिनिधिलाई कसरी मिलाउने? भन्ने विषयमा छलफल केन्द्रित रह्यो।’
राष्ट्रपतिको दबाब असंवैधानिक
स्थानीय तह निर्वाचन मिति तोक्न राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको दबाबबारे पनि बैठकमा छलफल भएको थियो ।
बैठकमा राष्ट्रपतिले कसैलाई सम्बोधन नगरी लेखेको पत्र सबैलाई वितरण समेत गरेर अध्ययन गर्न दिइएकोसमेत बताइएको छ। राष्ट्रपतिले प्रधानमन्त्रीलाई दिइएको पत्र संवैधानिक नभएको निचोडसहित राजनीतिक र कूटनीतिक भन्दा दबाब दिन खोजिएको निष्कर्ष बैठकले निकालेको छ।
सेरेमोनियल राष्ट्रपतिले निर्वाचन गराउनका लागि कार्यकारी भूमिकामा रहेकोजस्तो गरेर दिएको दबाब असंवैधानिक भएको पनि गठबन्धनका नेताहरुको निष्कर्ष रहेको छ।
यसअघि निर्वाचन आयोगले सरकारलाई एक लेख्दै स्थानीय तहको निर्वाचनको मिति तोक्न आग्रह गरेको थियो। यस्तै निर्वाचन आयोगले विज्ञप्ति निकाल्नु समेत गलत भएकोले त्यसको प्रतिवाद गर्नुपर्ने बैठकमा सहभागी नेताहरुले बताएका थिए।
चुनावसँग आत्तिएका छैनौं, वैशाखमै भए पनि सामना गर्छौं : नेता नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन वैशाखमै भए पनि सामना गर्न तयार रहेको बताएका छन्। काठमाडौंमा शनिबार आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले चुनावबाट आफूहरू भाग्न खोजेको भन्ने हल्ला गलत भएको बताएका हुन्।
उनले भने, ‘चुनावसँग हामी आत्तिएका छैनौं। चुनाव वैशाखमै हुन्छ भने पनि हामी सामना गर्न तयार छौं। चुनाव यदि जेठमा हुन्छ भने पनि हामी सामना गर्न तयार छौं। असारमा गर्ने हो भने सामना गर्न तयार छौं। असोजमा गर्ने हो भने पनि सामना गर्न तयार छौं। स्थानीय तहको चुनाव पहिले हुन्छ भने पनि सामना गर्न तयार छौं। केन्द्रीय चुनाव पहिले हुन्छ भने पनि सामना गर्न तयार छौं। चुनावबाट हामी आत्तिएका छैनौं। जनतामा जाने कुराबाट हामी अत्यन्त खुसी पनि हुन्छौं।’
नेता नेपालले आगामी चुनावसम्म सत्तारुढ गठबन्धन कायम रहने दाबी गरेका छन्। साथै एमाले अध्यक्ष केपी शर्मा ओली सत्तारुढ गठबन्धन फुटाउन चर्को रूपमा लागिपरेको आरोप लगाउँदै त्यो प्रयास सफल हुन नदिने उनको टिप्पणी छ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेसका नेताहरू सत्तारुढ गठबन्धनलाई कायमै राखेर निर्वाचनमा जान प्रतिबद्ध रहेको उनले दाबी गरे। भने, ‘चुनावको कुराबाट बरु अरु आत्तिएका होलान्। गठबन्धनको एकता तोड्न खोजिरहेका होलान्। भ्रम पैदा गर्ने कोसिस गरिरहेका होलान्। अनि चुनावको कुरा गरिसकेपछि गठबन्धन दलको बीचमा उम्मेदवारीमा कुरा मिल्दैन। नमिलेपछि गठबन्धन टुट्छ। टुटिसकेपछि त्यसको फाइदा उठाउँला भनेर कोही त्यो मौकाको ताकमा पनि कोही होलान्। तर आज बिहान भएको बैठकमा पनि नेपाली कांग्रेसका सबै नेताहरूले यो गठबन्धन चुनावसम्म कायम राख्नुपर्छ भन्ने साझा प्रतिबद्धता व्यक्त गर्नुभएको छ। स्वयम् प्रधानमन्त्रीले पनि त्यही हिसाबको प्रतिबद्धता व्यक्त गर्नुभएको छ।’
धर्मसंकटमा कांग्रेस
गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष नेपालले आगामी चुनावसम्म गठबन्धन हुने बताइरहेक पनि नेपाली कांग्रेस भने धर्मसंकटमा परेको छ। तर, नेपाली कांग्रेसको शेखर कोइराला समूह भने आगामी चुनावमा एक्लै जानुपर्ने अडानमा रहेको छ।
यसअघि शेखर समूहले गरेको भर्चुअल सम्मेलनमा सभापति शेरबहादुर देउवाले पार्टीमा एक्लौटी निर्णय गरेको र गठबन्धन कायम गर्न खोजेको आरोप लगाउँदै आगामी चुनावसम्म गठबन्धन कायम गरे पार्टीलाई घातक हुने निष्कर्ष निकालेको थियो।
कांग्रेस महामन्त्रीसमेत रहेका शेखर समूहका नेता गगन थापाले कांग्रेस एकल शक्तिका रुपमा निर्वाचनमा गए बहुमत आउने दाबी गरेका छन्।
आगामी निर्वाचनमा गठबन्धन गरेर जाँदा कांग्रेसका मतदाताको भावना पनि बुझ्न जरुरी रहेको उल्लेख गर्दै भने, ‘रुखमा मतदान गर्दै आएको मतदातालाई हामीले कम्युनिष्टलाई मत हाल्नुस् भन्दा कसरी सोच्छ भन्ने बुझ्न जरुरी छ। यसैकारण हामी आफ्नो तागत र शक्तिका आधारमा एक्लै निर्वाचनमा जानुपर्छ।’
तर, २०७४ को निर्वाचनमा भने माओवादीसँगको गठबन्धन कायम गर्न नसकेको भन्दै थापासहितका १२ नेताहरुले विज्ञप्ति निकालेर सभापति देउवाको आलोचना गरेका थिए।
विज्ञप्ति निकाल्नेमा तत्कालीन केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, गगनकुमार थापा, प्रदीप पौडेल र बद्री पाण्डे थिए। उनीहरुले सभापति देउवालाई प्रश्न गरेका थिए, ‘हामीले गरेको भनिएको लोकतान्त्रिक गठबन्धनलाई किन राष्ट्रव्यापी, भरपर्दो र कसिलो बनाउन सकिएन?’
तर, देउवालाई भने तत्काल गठबन्धन तोड्ने हो भने फेरि बृहत वाम गठबन्धन बन्नसक्ने र आगामी निर्वाचनमा पराजय भोग्नुपर्ने डर छ। गठबन्धन कायम राख्दा पार्टीभित्रको विरोध र गठबन्धन तोड्दा आगामी निर्वाचनमा फेरि २०७४ को अवस्था दोहोरिने चिन्तामा सभापति देउवा रहेका छन्।