मंगलबार , बैसाख २९, २०८३

संघीय संसद्को आजबाट शुरु हुने हिउँदे अधिवेशनमा विधेयक प्रमुख एजेन्डा हुने भएको छ । यस अवधिमा दुईपटक प्रतिनिधिसभा विघटन हुुनुका साथै संसद् पुनःस्थापित भएपछि पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद्मा अवरोध कायमै राखेकाले संसद् सचिवालयमा रहेका ५५ वटा विधेयक अगाडि बढ्न सकेको छैन । संसद् सहज रूपमा सञ्चालन हुन नसक्दा सरकार विधेयकमार्फत अगाडि बढेको छ ।

आज बोलाइएको प्रतिनिधिसभाको बैठकमा ६ वटा अध्यादेश पेस हुने भएको छ । संसद् सचिवालयले सोमबार सार्वजनिक गरेको सम्भावित कार्यक्रममा ६ वटा अध्यादेश पेस गर्ने उल्लेख गरेको छ । आज दिउँसो २ बजे बस्ने बैठकमा शुरूमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त संसद् अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने कार्यक्रम रहेको छ ।

त्यसपछि गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ पेस गर्ने कार्यक्रम रहेको छ । उनले नै तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश–२०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश–२०७८ पेस गर्ने कार्यक्रम रहेको छ ।

त्यसै गरी, भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादवले रेल्वे अध्यादेश–२०७८, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पेस गर्ने कार्यसूची तय भएको संसद् सचिवालयले बताएको छ ।

संसद् अधिवेशन चालू नरहेको अवस्थामा सरकारले ल्याएको अध्यादेश संसद्को पहिलो बैठकमा नै पेस गर्नुपर्ने प्रावधान छ ।
यसैबीच नेकपा एमालेले संसद्मा आफ्नो दलले गर्दै आएको अवरोधलाई निरन्तरता दिने बताएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफूहरूले अगाडि सारेको माग सम्बोधन नहुँदासम्म संसद्मा जारी अवरोध कायमै राखिने बताएका हुन् । यसअघि पनि संसद् बैठक शुरु हुनासाथ एमालेका सांसदले सभामुखविरुद्ध नाराबाजी गर्दै विरोध जनाउँदै आएका थिए ।

दोस्रोपटक संसद् पुनःस्थापित भएपछि नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टीका सांसदलाई संसद्मा प्रवेश गर्न दिन नहुने अडान राख्दै सभामुख अग्नि सापकोटाको राजीनामा माग्दै अवरोध गरेको थियो । संसद्को अवरोध हटाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकसमेत एमालेले बहिष्कार गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP