मंगलबार , बैसाख २९, २०८३

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा एमालेले एक्लै ६० प्रतिशत मत ल्याउने दाबी गरेका छन् । यसका लागि अब गाउँ–गाउँमा जनपरिचालन र पार्टी प्रवेश कार्यक्रम शुरु गर्न ओलीले नेता–कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् ।

महाधिवेशनपछि पहिलोचोटि भक्तपुरमा आयोजना गरिएको दुईदिने बैठकमा अध्यक्ष ओलीले आगामी चुनावमा एमालेले तुफानी विजय हासिल गर्ने प्रक्षेपण गरेका हुन् । पार्टीमा जिम्मेवारी बाँडफाँटको एजेण्डामाथि भएको छलफलमा केही असन्तुष्टिहरू देखिए पनि ओलीले अब चुनावमा केन्द्रित हुन नेताहरुलाई निर्देशन दिए ।

‘हामी गर्वका साथ भन्न सक्छौं, समाजवादी आन्दोलन, कम्युनिस्ट आन्दोलन असफलतातिर लाग्दा हामी सफलतातर्फ अगाडि बढेका छौँ । हामी निराश हुनुपर्ने कुनै कारण छैन । अब हामी हाम्रा नीतिहरु लिएर जनतामाझ जानुपर्ने छ’ ओलीले बैठकमा भने, ‘कुनै काम जिम्मा लिएपछि अधिकतम क्षमता, अधिकतम जिम्मेवारी पूरा गर्नुपर्छ । काम गर्न हामीले हाम्रो कार्य क्षमता बढाएर अगाडि बढ्नुपर्छ । साथीहरुलाई बधाई छ, शुभकामना छ । पोलिटब्युरो, स्थायी कमिटी सबैलाई बधाई ।’

दुई दिने बैठकमा ओलीले पार्टीको आगामी लक्ष सुनाउँदै भने, ‘अब चुनाब आएको छ । जिल्ला, प्रदेश अधिवेशनमा ब्यापक जनपरिचालन गरौं । पार्टी प्रवेश कार्यक्रम गरौँ । संगठन विस्तार गरौँ, निर्माण गरौँ र पार्टी प्रवेश गरौँ । कम्तिमा ६० प्रतिशत भोट हाम्रो पक्षमा ल्याऔँ ।’

बैठकमा ओलीले भने, ‘हामी तुफानको रुपमा अगाडि बड्छौँ । आगामी वर्ष चुनावको वर्ष हुनेछ । जनपरिचालनमा ध्यान दिउँ । जति जनपरिचालन गर्न सक्छौं, त्यति हामी सफल हुनेछौँ । आगामी बर्ष जनपरिचालन को बर्ष हुन्छ, विजयको बर्ष हुन्छ ।’

ओलीले नेकपा एमालेलाई समाजवादी एवं अग्रगामी शक्ति र अहिलेको सत्ता गठबन्धनलाई प्रतिगामी एवं दक्षिणपन्थी शक्तिका रुपमा विश्लेषण गरे । उनले बैठकमा भने, ‘अब राष्ट्रिय सभाको चुनाव आउँदैछ । पहिल्यै हाम्रो चुनाव चिन्ह लिएर, प्रतिगामीसँग मिलेर हाम्रा विरुद्ध लागेका छन् । तर, पनि हाम्रो पक्षमा परिणाम ल्याउन तत्पर रहनुपर्छ । पाँचदलीय बन्धन एउटा ध्रुव छ, त्यो प्रतिगामी छ । एउटा हामी हो, हामी समाजवादको आधार तयार गर्दै अगाडि बढेको शक्ति हौं ।’

पूर्वमाओवादी नेता रामबहादुर थापा, लेखराज भट्ट लगायतलाई मञ्चमा राखेर ओलीले भने, ‘अबको राज्य परिवर्तन हिंसाबाट सम्भव छैन । अब जनतासँग मिल्न सक्ने गुण हुनुपर्छ । हाम्रो बिचार सुन्ने हुनुपर्छ । जनताले प्रशंसा गर्ने हुनुपर्छ । हाम्रो शैलीगत पक्ष कमजोर छ । हामी चुनावमा जाँदैछौं । पार्टीको छवि गिर्ने काम नगरौँ । पार्टीको प्रतिष्ठा बढाउने काम गरौं ।’

पार्टीको बैठकमा केपी ओलीले नेपाली काँग्रेस र राप्रपाको पनि सामान्य चर्चा गरे । काँग्रेसको महाधिवेशन भद्रगोल भएको संकेत गर्दै ओलीले बैठकमा भने, ‘हाम्रो अधिवेशन कांग्रेसको जस्तो हुन्थ्यो भने हामीलाई उडाएर चंगाभन्दा माथि पुर्याइन्थ्यो ।’

त्यसैगरी ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई लक्षित गर्दै बाच्छोले हिँड्न नजानेको र उफ्रिएको आफ्नो भनाइ दोहोर्याए । साथै उनले मिडियाले उचाल्ने र पछार्ने गरेको भन्दै सचेत रहन आग्रह गरे ।

असन्तुष्टिप्रति बेवास्ता

भक्तपुरमा शनिबार र आइतबार दुई दिन लगाएर सम्पन्न केन्द्रीय कमिटीको बैठकमा ओलीले गरेको कार्यविभाजनको प्रस्तावप्रति पदाधिकारी एवं केन्द्रीय सदस्यहरुले असन्तुष्टि जनाएका थिए । तर, ओलीले असन्तुष्टिको खासै सम्वोधन नगरेको नेताहरुले बताएका छन् ।

‘साथीहरुले आफ्ना विचारहरु राख्नुभएको छ, सुझाव दिनुभएको छ, केहीले विरोध गर्नुभएको छ’ ओलीले बैठकमा भने, ‘बिरोध गर्न सजिलो छ । भुमिका निर्वाह गर्न गाह्रो हुन्छ । सबै (कमिटीमा) अटाउने कुरा हुन्न । महाधिवेशन भर्खर गरियो, अब यो कमिटी सर्वोच्च संस्था हो पार्टीको । केन्द्रीय कमिटीको कहिलेकाहीँ ठूलो भुमिका हुन्छ । पार्टी एकता गर्ने, फुट्ने हुन्छ, त्यस्तोबेला निर्णय लिनुपर्छ ।’​

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP