बुधबार , बैसाख २४, २०८२

बुधवार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन सुरु भएको छ। राजतन्त्र, हिन्दुराज्यको वकालत गर्दै आएको राप्रपाको महाधिवेशनमा कम्युनिस्ट नेताहरुको एकअर्कालाई दोषारोपण तथा कम्युनिस्ट पाठ पढाउनमा तल्लिन भए। अर्कोतिर राप्रपालाई परिवर्तनलाई आत्मसाथ गर्दै परिवर्तनको बाटो नछेक्न सुझाब समेत दिए।

महाधिवेशन उद्घाटनमा सत्तारुढ दलका नेताहरु साथै संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुले शुभकामना दिएका थिए।

सीपी प्रचण्ड जुहारी, सीपीलाई राप्रपामा स्वागत गर्न लोकेन्द्रबहादुर चन्द तयार

महाधिवेशनको उद्घाटनसत्रमा बोल्ने क्रममा नेकपा (माले)का महासचिव सीपी मैनालीले राजा महेन्द्रलाई राष्ट्रवादीको संज्ञा मात्र दिएनन् माओवादीलाई विदेशीले ऐजेन्डाको भारी बोकाएर पठाएको आरोप लगाए। उनले २०४६ साल र २०६३ सालको परिवर्तनमा बाह्य हस्तक्षेप भएको समेत बताए।

‘पुष्पकमल दाहालले नेतृत्व गरेको २०६२/६३ को परिर्वतन छ। त्यसले पछि अवान्छित बाह्य प्रभाव ल्यायो,’ उनले भने, ‘आतंककारीको बिल्ला हटाउँदा माओवादीलाई विदेशीले ऐजेण्डाको भारी बोकाएर पठायो। त्यो भारीलाई २०६३ सालको परिवर्तन पछि न उहाँ (प्रचण्ड)ले हटाउनु भएको छ। न त्यसपछिको सरकारले हटाएको छ।’

उनले राजा महेन्द्रको आलोचनात्मक प्रशंसा गर्दै भने, ‘उनले चालेको २०१७ सालको कदम दक्षिणपन्थी राष्ट्रवादी थियो। दक्षिणपन्थले निरंकुशतन्त्र ल्यायो, त्यसको पूरा विरोध गरिनुर्थ्यो, मैले पनि गरेँ। तर, समाज सुधारको राष्ट्रवादी कदमको उत्तिकै विरोध गर्नु गलत थियो। कांग्रेसले विरोध गर्नु पनि गलत थियो। सीपी मैनालीले विरोध गर्नु पनि गलत थियो।’

त्यसपछि राप्रपालाई शुभकामना दिन पुगेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निशानामा परे माले महासचिव मैनाली। उनले राजा महेन्द्रको प्रशंसा र परिवर्तनको विरोध गरेकोप्रति लक्षित गर्दै व्यङ्ग्य गरे – ‘मलाई त लाग्यो उहाँ राप्रपाको अध्यक्ष हुने तयारी गर्दै हुनुहुन्छ क्यारे। साँच्चै त्यसो हो भने सीपीजीलाई बधाई छ।’

त्यस भन्दा अगाडि बढ्दै प्रचण्डले थपे – ‘राजतन्त्र सिध्याउनुपर्छ भनेर टाउको काट्न (झापा बिद्रोह) सुरुवात गर्नु भएका उहाँले महेन्द्रलाई महान राजा भनेको सुन्दा अनौठो लाग्यो।’

उनले राप्रपाका नेताहरुलाई राष्ट्रवादको व्यख्या सुनाउन भ्याए।

‘राष्ट्रवादको व्याख्या गर्दा दुईटा आधारभूत कुरा छन्। एउटा, राष्ट्रवाद भन्ने वित्तिकै हिजो भएका सकारात्मक र गौरवपूर्ण कुराहरुलाई आधार बनाएर अहिले पनि इतिहासतिर फर्किन खोज्ने, अर्को सम्पूर्ण जनतालाई राष्ट्रवादको आधार मान्दै जनतातिर नै फर्किन खोज्ने राष्ट्रवाद,’ उनले भने।

प्रचण्डले राप्रपा जस्तै आफू पनि राष्ट्रवादी भएको बताउँदै आफू गणतन्त्रवादी र धर्म निरपेक्षतावादी भएको स्पष्ट पारे।

प्रचण्डले मैनालीलाई राप्रपाको अध्यक्ष बन्ने तयारीमा लागेको भन्दै ब्यङ्ग्य गरेपछि राप्रपा नेता लोकेन्द्र बहादुर चन्दले त्यही मौकामा मैनालीलाई राप्रपालमा स्वागत गर्न तयार रहेको बताएका थिए।

चन्दले मैनालीले उठान गरेको विचारलाई समर्थन गर्दै देशमा बाह्य हस्तक्षेप रहेको भनाइ साँचो रहेको बताए।

राप्रपाको महाधिवेशनमा नेपालको पाठ : सही कम्युनिस्ट पार्टीमा सहभागि हुनुस्

सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काम नगर्न सुझाव दिए।

उनले राप्रपाले उठाएको राष्ट्रियताको झण्डालाई उठाइ राख्न र नेपाली जनताको भावना बमोजिम परिवर्तनको संवाहक शक्तिको रुपमा अघि बढ्न सुझाव दिए।

‘राप्रपाले उठाएको राष्ट्रियताको झण्डालाई अवश्य पनि उठाइराख्नोस्। तर, राष्ट्रियता नेपाली जनताको जुन भावना हो, त्यस भावनालाई ठीक ढंगले आत्मासात गरेर परिवर्तनको संवाहक पनि भएर अघि बढनोस्,’ अध्यक्ष नेपालले भने, ‘परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काममा हामी नलागौं। अगाडि बढिसक्यो इतिहास। इतिहास पछाडि जाँदैन अब। सबैको न्यायोचित प्रतिनिधित्व सुनिश्चित गर्दै अग्रगमनको बाटोमा अघि बढौं। प्रतिगमनतर्फ कोही नलागौं।’

उनले राप्रपा महाधिवेशनको सुरुवातमै कम्युनिस्ट पार्टी कस्तो हुनुपर्छ भनेर त्यसलाई आत्मसाथ गर्न सुझावसमेत दिएका थिए।

उनले राप्रपा नेता चन्दको भनाईलाई व्यङ्ग्य गर्दै बुढो भए पनि कम्युनिस्ट चाहिने बताए।

‘जति बुढो भयो त्यति कम्युनिस्ट चाहिँदो रहेछ। बुढो भए पछि समानता चाहियो,’ उनले भने, ‘नौजवान त आउँछन् आउँछन्। बुढो भएपछि पनि कम्युनिस्टमा आउँछन्,’ उनले भने, ‘त्यसकारण मेरो आग्रह छ तपाईँहरुलाई बुढा पुराना हुनु भएको छ भने पनि युवा हुनुहुन्छ भने पनि सही कम्युनिस्ट पार्टीमा जानुहोस्। गलत पार्टीमा नजानुहोस्।’

उद्घाटन समारोहमा बोल्ने अर्का कम्युनिस्ट नेता थिए – भर्खरै नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा निर्वाचित ईश्वर पोखरेल।

उनले देशको राजनीति दुई ध्रुबमा विभाजन भएको बताए। ‘यो परिस्थितीलाई ठीक ढंगले हामीले बुझ्नुपर्छ,’ उनले भने, ‘एउटा मुलुकको राजनीतिक स्थायित्व हुनुपर्छ भन्ने। राजनीतिक स्थायित्व भएन भने समृद्ध हासिल हुँदैन। यसमा हामी एक हुन सकेनौँ भने देश बनाउने सपना जागृत बनाउन सक्दैनौँ। हाम्रो साझा उद्देश्य पोलिटिकल स्ट्याविलिटी हुनुपर्छ।’

त्यस्तै, अर्को ध्रुवले तमाम स्वार्थका बहाकहरुको गठबन्धन भएको आरोप लगाए।

‘यसमा कुनै सिद्धान्त मिल्नुपर्दैन। कानुनको बर्खिलापमा गए हुन्छ। मूल्य मान्यता त्यागे हुन्छ। राष्ट्रिय स्वाभिमानको चिजलाई लत्याए हुन्छ,’ उनले भने।

उनले नेता र पार्टी भए पछि अपडेट हुँदै जानुपर्ने भन्दै अपडेट नभए विलय हुने बताए।

थोरै पार्टी भए ठिक : देउवा

अर्कोतर्फ प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा धेरै पार्टी हुनुभन्दा कम हुनु राम्रो भएको बताए।

‘राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन छ। तीन वटा पार्टी मिलेर एकता महाधिवेशन हुँदैछ,’ देउवाले भने, ‘पशुपतिशमशेर राणाजीले अध्यक्षता गर्नु भएको पार्टी, कमल थापाजीले अध्यक्षता गर्नुभएको पार्टी र प्रकाशचन्द्र लोहनीजीले अध्यक्ष गरेका पार्टी एक भएर महाधिवेशन गर्नुभएको छ। धेरै दल हुनुभन्दा कम दल हुन राम्रो हो। तपाईंहरुले महत्वपूर्ण स्टेप चाल्नु भएको। पार्टी मिल्नु राम्रो हो। जति पार्टी एक हुन्छन् त्यति नै लोकतन्त्र बलियो हुन्छ।’

यस्तै, देउवाले राप्रपासँग पार्टीगत विचार फरक भए पनि राष्ट्रियता र लोकतन्त्रमा सबैको एक मत रहेको बताए।

‘हाम्रो पार्टीगत विचारहरु फरक फरक छन्। तर राष्ट्रियता र लोकतन्त्रमा हामी सबैको एउटै मत छ,’ देउवाले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP