
नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले आइतबार रिपोर्टर्स क्लब नेपालमा १०औं महाधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गरे । उनको उम्मेदवारीलाई लिएर एमालेभित्र कतिपयले व्यङ्ग्य गरे । विशेषगरी अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरुले रावल चर्चामा आउन खोजेको टिप्पणी गरेका छन् ।
रावलले ओलीलाई चुनाव हराउने सम्भावना देखिदैन । बरु ओलीले रावललाई भारी मतान्तरले पराजित गर्ने अवस्था छ । तैपनि, रावलले उम्मेदवारी दिनुलाई सामान्य रुपमा लिन मिल्दैन । उनको उम्मेदवारी र प्राप्त मतबाट एमालेभित्र ओलीप्रति असन्तुष्टहरुको प्रतिशत बुझ्न सकिन्छ ।
एमाले फुटेर माधव नेपाल समूहले नयाँ दल गठन गरेपछि पनि ओली विरोधी रहेको सन्देश प्रवाह भएको छ । त्यसको नेतृत्व रावलले गर्न खोजेका छन् ।
महाधिवेशनमा पराजित भएपनि रावलले ओलीविरोधी धारलाई एकजुट बनाएर नयाँ तरिकाले शक्ति सञ्चय गर्ने रणनीति अपनाएको देखिन्छ । विगतमा अन्य पार्टीमा पनि त्यसरी नै अध्यक्ष हार्ने जान्दा जान्दै उ्रम्मेवारी दिएकाहरु पछि पार्टीको नेतृत्वमा पुगेको इतिहास छ ।
नेपाली काँग्रेसभित्र शेरबहादुर देउवाले तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाविरुद्ध उम्मेदवारी दिएर पराजित भएका थिए । उनी हार्ने निश्चित थियो । तर, उनले कोइरालाविरोधी समूहलाई उम्मेदवारीमार्फत् एकजुट बनाउँदै लगे । १३औं महाधिवेशनमा सभापति बन्न सफल भए ।
रावलले पनि अहिलेको उम्मेदवारीबाट ओलीलाई चुनौती दिदै भविष्यका लागि सन्देश दिन खोजेका छन् । ओलीविरोधी मोर्चामा आफू नै अग्रपंक्तिमा रहेको र विभाजन हुँदा पनि जोखिम मोलेर एमालेमै रहेको सन्देश दिन खोजेका छन् । यो सन्देशमार्फत् उनले भविष्यमा एमालेको अध्यक्षको सशक्त दाबी प्रस्तुत गर्ने रणनीति बनाएको देखिन्छ ।