बुधबार , बैसाख २४, २०८२

गत जेठमा निर्माण सम्पन्न नभएपछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पूरा गर्न नयाँ मिति विसं २०७९ असार मसान्त तोकिएको छ।

यसअघि लक्ष्यभन्दा छ महिना अगावै निर्माण सम्पन्न गर्ने भनिएको भए पनि महामारीका कारण व्यवधान उत्पन्न भएको थियो।

सन् २०२२ मा नयाँ विमानस्थलबाट आन्तरिक उडान र नेपाली नयाँ वर्ष २०७९ बाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने लक्ष्य बनाएर काम भइरहेको बताइएको छ।

स्थानीय र सङ्घीय तहका सरकारी निकायको सहयोगमा सक्नुपर्ने केही महत्त्वपूर्ण कामहरू बाँकी रहेको हुँदा तोकिएको समयमा उडान सुरु हुनेमा संशय भने बाँकी नै छ।

तोकिएकै समयमा विमानस्थल सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा नागरिक उड्डयन कार्यालयका प्रमुख विक्रमराज गौतमको संयोजकत्वमा एक कमिटी गठन गरेको छ।

गौतमका अनुसार अहिलेकै गतिमा काम भएमा आन्तरिक र बाह्य उडान तोकिएको समयमा गर्न सकिने छ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल किन?

पोखरा पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो।
पदयात्रा पर्यटनका लागि अन्नपूर्ण क्षेत्रले सबैभन्दा बढी पर्यटक आकर्षित गर्ने बताइन्छ।
उक्त पदयात्राको प्रवेश द्वारको रूपमा रहेको पोखराको झनै महत्त्व बढेको पर्यटन व्यवसायी टीकाराम सापकोटाको मत छ।

प्यासिफिक एशिया ट्राभल एसोसिएसनले पर्यटकीय सम्भावनालाई मध्यनजर गर्दै पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिनु पर्ने सुझाव दिएको थियो।
नयाँ विमानस्थल निर्माणका लागि विसं २०३२ सालमा ३,१०० रोपनी जग्गा सरकारले अधिग्रहण गरेको पर्यटन व्यवसायी विश्वशङ्कर पालिखे स्मरण गर्छन्।

कस्तो खाले विमानस्थल बन्दै छ?

पोखरा साँघुरो उपत्यका भएका कारण पूर्वबाट मात्र अवतरण र उडान गर्न सक्ने विज्ञहरूको धारणा अनुसार वाइडबडी भएका जहाजको सट्टा करिब १८० सिट क्षमताका न्यारोबडीका जहाज मात्र सञ्चालन गर्न सकिने हिसाबले २,५०० मिटर धावनमार्ग भएको विमानस्थल निर्माण भइरहेको छ।

नेपालमा नै पहिलो पटक कङ्क्रिटको धावनमार्ग निर्माण गरिएको जानकारी पोखरा विमानस्थल आयोजनाका प्रमुख ईन्जिनिअर विनेश मुनंकमीले दिए।
मर्मतसम्भार छिटो-छिटो गर्नु नपर्ने, लामो समयसम्म टिक्ने र धेरै पानी पर्ने ठाउँमा यो प्रविधि उपयोगी हुने उनको दाबी छ।
टर्मिनल भवनबाट जहाजसम्म सिधै जान नेपालमै पहिलो पटक बोर्डिङ ब्रिजको व्यवस्था गरिएको पनि उनले बताए।

कति काम पूरा भयो?

मुनंकमीका अनुसार अहिलेसम्म विमानस्थलको ८४ प्रतिशत निर्माण कार्य पूरा भएको छ। बोर्डिङ ब्रिज र अग्नि नियन्त्रणका सामान छिट्टै आउने र अरू रङ्गरोगनका काम भइरहेको बताइएको छ। निर्माणाधीन विमानस्थलको पूर्वमा रहेको रिठ्ठेपानी डाँडाको उचाइ ४० मिटर काट्न बाँकी नै छ।
विमानको उडान र अवतरणका लागि डाँडालाई छिटो कटान गर्नु पर्नेछ।

तर यो डाँडामा रुखहरू भएको र सङ्घीय सरकारको समन्वयमा यसलाई कटान गरेपछि मात्र डाँडा कटान गर्न सकिने मुनंकमीले बताए।
विमानस्थल सुरक्षित सञ्चालनका लागि नजिकै रहेको पोखराको फोहर व्यवस्थापन गरिँदै आएको ल्यान्डफिल साइटलाई अन्यत्र स्थानान्तरण गर्नु आवश्यक छ।
पोखरा महानगरपालिकाको जिम्मामा रहेको यो काममा पनि ढिलाइ भइरहेको हुँदा चराहरूको विमानस्थल वरपर हुने गतिविधिका कारण व्यवधान हुनसक्ने औँल्याइएको छ। वर्षाको भेल र सेती सिँचाइ योजनाको पानी व्यवस्थापनको काम पनि बाँकी नै छ ।

आयोजनाको खर्च कति छ?

चीनको एक्जिम ब्याङ्कको ऋण तथा अनुदान सहयोगमा करिब २२ अर्ब रुपियाँको लागतमा चिनियाँ ठेकेदार कम्पनी सीएएमसी विमानस्थलको निर्माण कार्यमा संलग्न छ। सरकारले कूल ३,८९९ रोपनी जग्गा अधिग्रहण गरेको छ। मुआब्जा वितरणमा मात्र चार अर्ब ५० करोड रुपैयाँ खर्च हुनेछ।
आयोजनाले आवश्यक जग्गा एकै पटक नलिई पटक-पटक लिँदा पटक-पटक उठीबास हुनुपरेको स्थानीय जनगुनासो पनि छ।
यो आयोजना पूरा भएर अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन हुन सकेमा समग्र गण्डकी प्रदेशले पर्यटन क्षेत्रमा फड्को मार्न सक्ने यस क्षेत्रका पर्यटन व्यवसायीको विश्वास पाइन्छ।

यो समाचार बिबिसी नेपालि बाट लिईएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP