बिहिबार , बैसाख १८, २०८२

भ्यानबाट प्रहरी ओर्लेर माथिल्लो तल्लाको हलमा गएको देखेर विद्यार्थीहरु हतार-हतार भर्‍याङ चढ्न थाले।

तीन वटा कक्षाका पढ्ने विद्यार्थीहरू आइतबार एउटै हलभित्र भरिएका थिए।

विद्यार्थीसँगै केही शिक्षक र प्रहरीले हल खचाखच भरिए। सधैंझै झोलामा किताब, कापी बोकेर आ-आफ्नो कक्षामा बस्ने कक्षा ९, १० र ११ का विद्यार्थीहरू एउटै हलमा बस्दा अनुहारमा उत्साह र जिज्ञासा पनि उतिकै झल्किरहेको थियो।

मनमा अनेकौं प्रश्न पनि नब्जिउन कसरी, सधैँभरि विद्यार्थीले फिल्ममा मात्र देखेका पात्र ‘एसपी’ ले पढाउने भनेर शिक्षकले जो भनेका थिए। हलभित्र एसपीसहित बर्दीमै आधा दर्जन प्रहरी देखेपछि विद्यार्थीको मनमा खुलदुली बढ्दै गयो।

प्रहरीले बोकेर आएको साउण्ड बक्स र प्रोजेक्टरमार्फत हलभित्र रहेको ह्वाइट बोर्डमा केही तस्वीर र भिडियो देखिँदै थियो।

अन्य दिनभन्दा विद्यालयहरू उत्सुक देखिन्थे। प्रायः प्रहरी कार्यालय वा ड्युटीमा खटिएको अवस्थामा मात्र देखिने धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाट जनकपुरस्थित याज्ञवल्क्य संस्कृत मावि ज्ञानकुपमा शिक्षकको रुपमा देखिए।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यालयमा आयोजित कार्यक्रममा बालबालिकाका लागि आधारभूत सुरक्षा जानकारी गराउन एसपी रानाभाट आइतबार आफैं विद्यालयमा पुगेका थिए।

विद्यार्थीलाई असहज न होस् भनेर उनले आफ्नो परिचय दिँदै प्रहरीसँगै जोडिएका समान्य कुरासँगै कक्षा सुरु गरे। लगतै प्रोजेक्टरको माध्यमबाट विद्यार्थीलाई झण्डै ६ मिनेटको एउटा भिडिओ देखाइयो।बाल यौन दुर्व्यवहार, त्यसबाट बच्ने उपाय, जबर्जस्ती करणी, बलात्कारबाट बच्ने उपाय, साइबर क्राइम, ट्राफिक दुर्घटना, महिला हिंसा, लागुऔषध दुर्व्यसनबारे भिडिओमा बताइएको थियो।

ती भिडिओमार्फत् दिन खोजिएको सन्देश एसपी रानाभाटले समेत विद्यार्थीलाई राम्ररी व्याख्या गरे।

त्योसँगै समाजमा बढ्दै गएको विभिन्न आपराधिक क्रियाकलाप र त्यसलाई नियन्त्रण गर्ने उपायसमेत उनले बताउँदै गए। विद्यार्थीहरू ध्यानपूर्वक सुन्दै गए।

झन्डै दुई घन्टा चलेको उक्त कक्षामा एसपी रानाभाटसँग विद्यार्थीहरूले अनेकौं सवाल जवाफ गरे।

अपराध नियन्त्रणका लागि सचेत नागरिकले गर्नुपर्ने काम, कर्तव्यसँगै प्रहरीले नागरिकलाई दिने सेवाबारे बुझ्न र आफू चेतनशील भएर समाजमा अरूलाई समेत सचेत गराउने उद्देश्यले सो कार्यक्रममा सहभागी भएको एसपी रानाभाटको भनाइ छ।

यसअघि जिल्ला प्रहरीसँगै विभिन्न इकाइले यो कार्यक्रम आयोजना गर्दै आए पनि एसपी रानाभाट भने आफैं पहिलोपटक विद्यार्थीसँग अन्तरक्रिया गरेका छन्। हप्तामा कम्तीमा दुई दिन जिल्लाका विभिन्न विद्यालयमा पुगेर अन्तरक्रिया गर्ने र विद्यार्थीलाई प्रहरी कार्यालयको भ्रमण गराउने उनले योजना सुनाए।

‘भविष्यका कर्णाधार विद्यार्थीले अपराध तथा खराब क्रियाकलाप नियन्त्रणमा सन्देशवाहकको रूपमा काम गरूँन्। समुदायमा दुर्व्यसन, दुर्घटनाले पारेको क्षति, सुरक्षित र अपराधरहित सभ्य समाज निर्माणका लागि कार्यक्रम निकै प्रभावकारी छ,’ एसपी रानाभाटले भने।

समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत कक्षामा विद्यार्थीसँग छलफल गरिएको विषयवस्तु, सेवा र गुनासो सम्बन्धमा प्रहरी कार्यालयमै लगेर उनीहरूलाई त्यहाँका वस्तुस्थिति, अवस्थाबारे जानकारी गराउने योजना रहेको उनले सुनाए।

‘सेवा कसरी प्राप्त गर्ने, गुनासो कसरी गर्नेबारे हप्तामा कम्तीमा दुई दिन विद्यार्थीलाई प्रहरी कार्यालयमा शैक्षिक भ्रमण गराउँछौं,’ उनले थपे।

कार्यक्रमले पछिल्लो समय प्रहरी, नागरिक तथा विद्यार्थीबीचको दूरी घटेको र अपराध नियन्त्रणमा सहयोग पुगेको उनले बताए। प्रहरीले आयोजना गरेको यस्ता कार्यक्रमले बालबालिकामा समाजमा चेतनाको स्तर बढेको विद्यालयका प्रधानाध्यापक संजयकुमार झाले बताए।

‘अपराध, अपराधी र पीडित र पीडक सबै यहीँ समाजका व्यक्ति हुन्। त्यस्ता विकृति, अपराध र अपराधीलाई कसरी कानुनी दायरामा ल्याउने र अपराध हुन नदिन के गर्नुपर्छ भनी घर परिवार, आफन्त र समाजमा विद्यार्थीले माध्यमको रूपमा काम गर्न सक्छ। यस्ता कार्यक्रमको निरन्तरता जरूरी छ,’ उनले थपे।

प्रहरी-साझेदारी कार्यक्रमअन्तर्गत विद्यालयमा यो तेस्रो कार्यक्रम रहेकाले पछिल्लो समय प्रहरी देख्नसाथ डरको वातावरण न्यून भएको उनले बताए।

‘सुरुमा हामी पुलिसलाई देख्न बितिकै डराउँथ्यौ, बन्दुक बोकेको छ, के गर्ला के भन्ला, कसैलाई पनि पक्रिन सक्छ, कुट्न सक्छ भन्ने डर हुन्थ्यो। तर अहिले छैन,’ कक्षा ११ मा अध्ययनरत विभा यादवले भनिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP