बुधबार , बैसाख १७, २०८२

जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३ गते नेपाल रेलवे कम्पनीले भारतसँग दुई बोगीसहितको इन्जिन सेट खरिद गरेको थियो ।

नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार एक वर्षे वारेन्टीसहित नेपाल रेलवेले भारतको कोंकण रेलवे कार्पोरेसनसँग ८४ करोड ६५ लाखमा दुई सेट इन्जिन खरीद गरेको थियो । रेल सञ्चालन नभएपछि ती इन्जिन सेट एक वर्षदेखि सीमावर्ती इनरुवा रेलवे स्टेसनमा थन्किइरहेका छन् ।

‘परीक्षण भइसकेको इन्जिनलाई समय समयमा स्टार्ट गर्नु पर्दछ । मोबिल फेर्नु पर्दछ अनि अन्य मर्मतसम्भार पनि गर्नु पर्दछ । एक वर्षसम्म बन्द रहेको इन्जिनमा अनेकौं प्राविधिक गडबडी भइसकेको होला,’ रेलका एक पूर्व सहचालकले भने ।

तीन वर्षयता जनकपुरवासीले पटकपटक रेल सञ्चालन हुने मिति घोषणा भएको सुनेका छन् । सरोकारवालाहरुको घोषणाले हुरुक्कै भएका स्थानीय अचेल निराश छन् ।

रेल सञ्चालन तथा व्यवस्थापन गर्न केपी ओली नेतृत्वको सरकारले वैशाख २२ गते ल्याएको अध्यादेश बुधबार मध्य रातिदेखि निष्क्रिय भएको छ । रेल सञ्चालन गर्न आवश्यक कानुन नै नबनेको अवस्था सञ्चालन झनै अनिश्चित भएको छ ।

अर्कोतर्फ रेल सञ्चालन, प्राविधिकहरुलाई तालिम तथा अन्य मर्मतसम्भार सम्बन्धी भारतीय कोंकण कम्पनीसँग भएको समझौता अनुसारको पहिलो किस्ता हालसम्म नेपाल सरकारले तिरेको छैन । सम्झौता अनुसारको रकम भुक्तानी नगर्दा भारतीय कम्पनीको ताकेताले रेलवेका पदाधिकारीहरु हैरान छन् ।

नवनियुक्त महाप्रबन्धक निरञ्जन झाका अनुसार कोंकण रेलवे कार्पोरेसन र नेपाल रेलवेबीच २६ सदस्यीय चालकसहितका प्राविधिकको टोलीले रेल सञ्चालनमा सहयोग गर्ने, नेपाली प्राविधिकहरुलाई तालिम दिने तथा अन्य सामग्री उपलब्ध गराउने सर्तमा भारतीय कम्पनीलाई २२ करोड भारतीय रुपैयाँ भुक्तानी गर्ने सम्झौता पूर्वमहाप्रबन्धक गुरु भट्टराईकै पालामा भएको थियो । सम्झौता अनुसार पहिलो किस्ता बापतको करिब ५ करोड भारतीय रुपैयाँ भुक्तानी अझै हुन सकेको छैन । भारतीय रकम भुक्तानी गर्न राष्ट्र बैंकसँग स्वीकृति लिनुपर्ने प्रावधान छ । स्रोतका अनुसार राष्ट्र बैंकले भारतीय रुपैयाँ भुक्तानी गर्न दिएको ३० दिने समय सीमाभित्र नेपाल सरकारले उक्त रकम भुक्तानी गरेको थिएन ।

‘पुन : राष्ट्र बैंकसँग भारतीय रुपैयाँ भुक्तानीको लागि अनुमति माग्दै छौं । केही दिनभित्रै पहिलो किस्ता भुक्तानी हुन्छ,’ महाप्रबन्धक झाले भने ।

यस्तै भारत सरकारको सहयोगमा निर्माण भएको लिक, स्टेसनहरु, आवास गृह, कार्यालय भवनलगायतका भौतिक संरचना अझै पनि नेपाल रेलवे कम्पनी लिमिटेडलाई हस्तान्तरण हुन सकेको छैन ।

प्राप्त जानकारी अनुसार भारत सरकारले निर्माण गरेको रेलवे स्टेसन, कार्यालय भवन तथा अन्य संरचनाहरु कमजोर छन् । केही भवनहरु सामान्य पानी पर्दा पनि चुहिरहेका छन् । भौतिक संरचनाको निर्माण कार्य अझै पनि सम्पन्न भएको छैन । केही रेलवे स्टेसनमा सिगनल, शौचालय, खानेपानी आदिको संरचना निर्माण हुन बाँकी नै छ ।

यता भारत सरकार उक्त संरचनाहरु हस्तान्तरण गर्न नेपाल रेलवेलाई निरन्तर दबाब दिइरहेको स्रोतको दाबी छ ।

तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सन् २०१९ को अक्टुबरसम्म रेल सञ्चालन भइसक्ने घोषणा गरेका थिए । यस लगत्तै सन् २०१९ र २० को विवाह पञ्चमीमा पनि रेल सञ्चालन हुने हल्ला चलाइएको थियो । गएको चैत नवमीमा पनि रेल चल्ने झ्याली पिटिएको थियो । तर हालसम्म रेल सञ्चालनका लागि चाहिने कानुनसमेत बन्न सकेको छैन।

नेपाल र भारतबीच भएको समझौता अनुसार सन् २०१६ मेसम्ममा रेल सञ्चालन भइसक्नुपर्ने थियो । तर, सम्झौताको समय सीमा पाँच वर्ष नाघिसक्दा पनि रेल सञ्चालन हुनसकेको छैन ।

यो समाचार आजको कान्तिपुरमा छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP