अस्ट्रेलियामा करिब ३ लाख ४० हजार आप्रवासी महिला आफ्नो शैक्षिक योग्यता र सीपभन्दा तल्लो तहको काम गर्न बाध्य रहेको एक अध्ययनले देखाएको छ।
गैरनाफामूलक संस्था सेटलमेन्ट सर्भिस इन्टरनेसनल (एसएसआई) को अध्ययनलाई उद्धृत गर्दै अस्ट्रेलियाको सरकारी सञ्चारमाध्यम एबीसीले प्रकाशित गरेको रिपोर्टअनुसार, योग्यताअनुसारको रोजगारी नपाउँदा धेरै आप्रवासी महिला न्यून आम्दानी हुने काममा सीमित भएका छन्।
अस्ट्रेलियन मल्टिकल्चरल वुमेन्स एलायन्सकी कार्यकारी निर्देशक मालिनी राजका अनुसार, विदेशमा हासिल गरेका शैक्षिक योग्यता तथा व्यावसायिक प्रमाणपत्रले अस्ट्रेलियामा मान्यता नपाउँदा आप्रवासी महिलाहरू आफ्नो क्षमताअनुसारको काम पाउनबाट वञ्चित भइरहेका छन्।
उनले यस्तो अवस्थाले आप्रवासी महिलालाई कम आम्दानी, कम निवृत्तिभरण (सुपरएनुएसन) र भविष्यमा सीमित अवसरको चक्रमा फसाइरहेको बताएकी छन्।
योग्यता र सीपअनुसारको रोजगारीमा पहुँच नहुँदा आप्रवासी महिलाको आर्थिक आत्मनिर्भरता र दीर्घकालीन करियर विकासमा समेत असर पर्ने देखिन्छ। विदेशबाट हासिल गरेको सीप तथा अनुभवको उचित मूल्याङ्कन र मान्यता प्रदान गर्नु उनीहरूलाई अस्ट्रेलियाको श्रम बजारमा समान अवसर दिलाउन महत्त्वपूर्ण हुने देखिएको छ।











