अस्ट्रेलियाको राष्ट्रिय अपाङ्गता बीमा योजना NDIS मा हुने ठगी र अनियमितता नियन्त्रणका लागि सरकारले अघि बढाएका सुधारलाई अन्तर्राष्ट्रिय उदाहरणका रूपमा प्रस्तुत गरेको छ।

सिड्नीमा मंगलबार भएको International Public Sector Fraud Forum मा NDIS मन्त्री जेनी म्याकअलिस्टरले Five Eyes समूहका साझेदार राष्ट्रका प्रतिनिधिसमक्ष NDIS मा ठगी नियन्त्रणका प्रयासबारे जानकारी दिएकी हुन्।
सरकारका अनुसार नोभेम्बर २०२२ देखि जुन २०२६ सम्म गरिएका ‘integrity interventions’ मार्फत १.२ अर्ब डलर बराबरका ठगी तथा गैरअनुपालना भएका भुक्तानी रोकिएको छ। यस्तै, थप ९० करोड डलर सहभागीको बजेट गलत पक्षबाट हटाएर वैध सेवा तथा सहयोगमा पुनःनिर्देशन गरिएको सरकारको दाबी छ।
मन्त्री म्याकअलिस्टरका अनुसार नयाँ सुधारपछि NDIS मा दाबी गर्नुअघि नै दाबीकर्ताको पहिचान र अस्ट्रेलियाली बैंक खातासँगको सम्बन्ध जाँच गरिनेछ। कम्पनीको नाम परिवर्तन गरेर पुनः ठगी गर्ने सम्भावना रोक्न पनि कडा व्यवस्था गरिने उनले बताएकी छन्।
अब NDIS का सबै दाबीमा आवश्यक प्रमाण पेश गर्नुपर्ने र आफैंले आफ्नो दाबी प्रमाणित गर्ने वा मिलेमतोमा रसिद स्वीकृत गराउने अभ्यास अन्त्य गरिने सरकारको भनाइ छ।
अस्ट्रेलिया सरकारले NDIS मा ठगी तथा गैरअनुपालन नियन्त्रणका लागि हालसम्म १.३५ अर्ब डलरभन्दा बढी खर्च गरिसकेको जनाएको छ, जसमा चालु बजेटमा मात्रै ८० करोड डलरभन्दा बढी छुट्याइएको छ।
यसैबीच, विपक्षी दलकी NDIS प्रवक्ता मेलिसा म्याकइन्टोसले सरकारको दाबीको आलोचना गर्दै NDIS बाट अझै पनि प्रत्येक वर्ष अर्बौं डलर ठगी तथा ‘integrity leakage’ का कारण गुमिरहेको बताएकी छन्।
NDIS को यस आर्थिक वर्षको लागत ५६.१ अर्ब डलर पुग्ने अनुमान गरिएको छ भने करिब ४ अर्ब डलर ठगी तथा अन्य अनियमिततामा गुम्न सक्ने अनुमान छ।











