डार्विन — अष्ट्रेलियाको डार्विनस्थित श्री सिद्धि विनायक मन्दिरको पहिलो वार्षिक महोत्सव धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित सफलतापूर्वक सम्पन्न भएको छ।
११ देखि १४ सेप्टेम्बरसम्म आयोजना गरिएको महोत्सवमा भक्तजन, परिवार तथा विभिन्न समुदायका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
महोत्सवमा पूजा, होम, प्रसाद, भगवान् श्री सिद्धि विनायकको शोभायात्रा तथा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। विशेषगरी तेस्रो दिन प्रस्तुत गरिएको सांस्कृतिक नृत्यले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

कार्यक्रममा नर्दन टेरिटोरीका चिल्ड्रेन मन्त्री रोबिन काहिल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। सम्बोधनका क्रममा उहाँले यस्तो महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक उत्सवको साक्षी बन्न पाएकोमा आफू सम्मानित भएको बताउनुभयो।

त्यस्तै, सोलोमनका फेडरल सांसद लुक गोस्लिङ पनि कार्यक्रममा सहभागी हुनुभएको थियो। उहाँले डार्विनमा रहेको यो हिन्दू मन्दिरले हिन्दू समुदायका लागि राम्रो काम गरिरहेको बताउँदै मन्दिरको योगदानको प्रशंसा गर्नुभयो।
कार्यक्रममा हिन्दू सोसाइटी अफ नर्दन टेरिटोरीका अध्यक्ष कृष्णप्रदीप तथा मन्दिरका मुख्य पुजारीले अतिथि तथा सहभागीहरूलाई स्वागत गर्नुभएको थियो।
महोत्सवकै क्रममा नेपाली महिलाहरूको महत्वपूर्ण पर्व तीज पनि मनाइएको थियो। ठूलो संख्यामा नेपाली महिला आफ्ना श्रीमान् तथा परिवारसहित मन्दिर पुगेका थिए। उनीहरूले भगवान् शिवको पूजा गर्दै शिवलिङ्गमा जल तथा दूध अर्पण गरेका थिए।
हिन्दू तथा नेपाली समुदायका धार्मिक र सांस्कृतिक परम्परालाई एउटै स्थानमा जोड्दै सम्पन्न भएको यस कार्यक्रमले डार्विनमा धार्मिक आस्था, सांस्कृतिक संरक्षण र सामुदायिक एकताको सन्देश दिएको छ।










