काठमाडौं । विद्यालयमा नियमित दिनझैं चहलपहल सुरु हुँदै थियो। विद्यार्थीहरू कक्षामा प्रवेश गर्ने तयारीमा थिए भने शिक्षकहरू पनि पठनपाठनका लागि जुटिरहेका थिए। तर, केहीबेरमै आएको एउटा सूचनाले विद्यालयको अवस्था नै बदलिदियो।
भोटेकोशीमा ठूलो बाढी आएको खबर विद्यालय प्रशासनसम्म पुग्यो। समय निकै कम थियो। जोखिम बढ्दै गएको अवस्थामा त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीले तत्काल विद्यालय खाली गर्ने निर्णय लिए।
उनको निर्देशनपछि शिक्षक तथा कर्मचारीहरू विद्यार्थीलाई सुरक्षित स्थानतर्फ लैजान सक्रिय भए। करिब १५ मिनेटमै विद्यालयमा रहेका झण्डै १ हजार विद्यार्थीलाई सुरक्षित रूपमा बाहिर निकालियो।
विद्यार्थीहरूलाई सुरक्षित स्थानमा पठाएको केही मिनेटमै बाढी विद्यालय परिसरमा पस्यो। बाढीले विद्यालय भवनसहित भौतिक संरचनामा ठूलो क्षति पुर्यायो र विद्यालयलाई तहसनहस बनायो।
यदि विद्यार्थीहरू त्यही बेला विद्यालयभित्रै रहेका भए अवस्था कति भयावह हुन्थ्यो भन्ने कल्पना गर्न पनि कठिन छ।
‘बाढी आउनुभन्दा अगाडि नै हामीले सूचना पाएका थियौँ। त्यसपछि विद्यार्थीलाई तत्काल सुरक्षित ठाउँतिर पठायौँ,’ प्रधानाध्यापक दवाडीले भने।
विपद्को समयमा लामो छलफल वा निर्णयको प्रतीक्षा नगरी उनले लिएको तत्काल निर्णयले ठूलो मानवीय क्षति हुनबाट जोगाएको स्थानीयको भनाइ छ। केवल केही मिनेटको निर्णयले सयौँ विद्यार्थीको ज्यान जोगिएपछि दवाडी नेपाली मात्र होइन, विदेशी सञ्चारमाध्यमको समेत ध्यानमा परेका छन्।
विभिन्न सञ्चारमाध्यमले उनको साहसिक निर्णय र नेतृत्वको प्रशंसा गर्दै उनलाई “हिरो शिक्षक” का रूपमा प्रस्तुत गरेका छन्।
भौतिक संरचना बाढीले बगाउन सक्छ, तर सही समयमा गरिएको एउटा निर्णयले जीवन जोगाउन सक्छ भन्ने उदाहरण दवाडीको नेतृत्वले देखाएको छ।











