
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र उपमहासचिव जनार्दन शर्माबीच सम्बन्धमा अझै हार्दिकता देखिएको छैन् । सार्वजनिक रुपमै प्रचण्डको आलोचनामा समय खर्चिन थालेका जनार्दनले पछिल्लो समय प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँग हिमचिम बढाएका छन् ।
शर्मा विम्स्टेक शिखर सम्मेलनमा भाग लिन जाने नेपाली सरकारी प्रतिनिधिहरुसँगै बैंककमा देखिएका थिए । कतिसम्म भने बैंककमा उनी प्रधानमन्त्री ओलीसँगै डिनरमा सहभागी भएको तस्विर सार्वजनिक भएको छ । उक्त डिनरमा उनी प्रधानमन्त्री ओली बसेकै रो’ मा बसेका थिए । ओली र शर्माको रो’ मा प्रधानमन्त्री पत्नी राधिका शाक्य र प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल थिए । अर्को रो’ मा भने परराष्ट्रमन्त्री डा. आरजु राणा, कांग्रेस नेता एनपी साउद, जसपा नेपालका नेता राजकिशोर यादव र प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा थिए ।
प्रचण्डले प्रधानमन्त्री ओलीविरुद्ध सदन, सडक र मिडिया तीनै वटा मोर्चाबाट प्रहार गरिरहेका छन् । एक किसिमले आलोचनाको बाढी बर्षाएका छन् । तर, शर्मा भने सदन र मिडियामा सरकारको आलोचना भन्दापनि देश बनाउनको लागि सबै दल मिलेर जानुपर्ने मत राखिरहेका छन् । प्रचण्डभन्दा आफूलाई अलग देखाउन उद्धत रहेको भन्दै शर्मा पार्टी पँक्तिबाट आलोचित हुँदै आएका छन् ।
आफूले पार्टीमा शुद्धिकरणको लडाईं छेडेको बताउने शर्माले यसअघि प्रचण्ड नेतृत्वको सरकारले जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्प पीडितहरुको घर निर्माणको लागि पाँच लाख दिने निर्णय गरेको भएपनि त्यो लिखित निर्णय भएको नपाईएको भन्दै सार्वजनिक रूपमै आलोचना गरेका थिए । बरु, एमाले अध्यक्ष ओली सरकारको नेतृत्वमा आएपछि चार लाख दिने निर्णय गरेको भन्दै अहिलेको सरकारलाई धन्यवाद ज्ञापन गरेका थिए ।
पार्टीको केन्द्रीय कमिटीको बैठकमा पनि जनार्दनले प्रचण्डको आलोचना गरेका थिए । प्रचण्डसँग देखिनेगरि आमनेसामने भएको मेसेज दिइरहेका शर्माले पछिल्लो समय पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको २३औंमहाधिवेशनमा आफ्नो टिम खडा गरेर पहिलोपटक हेडक्वार्टरविरुद्ध चूनौति पेश गरेका थिए ।
उनले अनेरास्ववियु क्रान्तिकारीमा आफ्नो गुट सशक्त रहेको सन्देशसमेत प्रवाह गरेका छन् । माओवादी यतिवेला ‘जनतासँग माओवादी’ कार्यक्रममा होमिएको छ । पूर्वको झापाबाट सुरू भएको अभियान अहिले नवलपरासी पुगेको छ । झापादेखि रौतहटसम्म उपमहासचिव शर्मापनि सँगै थिए । तर, यो बीचमा राजावादीहरुको प्रदर्शनपछि पार्टी नेतृत्व पँक्ति अभियान स्थगन् गरेर काठमाडौं फर्कियो । अभियान स्थगन् गर्दापनि प्रचण्डले कोहीसँग सल्लाह नगरेको बताईन्छ । चैत्र १५ गते काठमाडौंमा माओवादीसम्मिलित समाजवादी मोर्चाको प्रदर्शन थियो ।
अहिले प्रचण्ड अभियानमा होमिएका छन् । तर, अभियानमा उमहासचिवभन्दा माथिका पदाधिकारीमात्रै सहभागी हुने निर्णय गराएपछि जनार्दन नेतृत्वसँग बिच्किएको चर्चा छ । शर्माले आफूलाई रोक्नको लागि नै पदाधिकारीमा यस्तो निर्णय लिईएको भन्दै रुष्ट बनेको बताईन्छ । प्रचण्डले यतिवेला ओली नेतृत्वको वर्तमान सरकारको आयु लामो नभएको दाबी गरेका छन् ।
अब कांग्रेसले सरकारको नेतृत्व लिनुपर्ने र त्यसमा आफ्नो पार्टीको निशर्त साथ रहने सन्देश कांग्रेस नेताहरुमाझ पुर्याएका छन् । तर, यसको लागि आफ्नो पार्टीबाट दोस्रो तहका नेताहरुलाई इंगेज गराएका छैनन् । यसअघि कांग्रेससँग सत्ता–सहकार्यको गृहकार्यमा उनै शर्माले बढि भूमिका निर्वाह गरेको बताईन्छ । अहिले यस्तो सत्ताको राजनीतिमा जनार्दन कतै लागेका छैनन् । उनी अहिलेका प्रधानमन्त्री ओलीसँग सम्बन्धमा हार्दिकता निभाएर अघि बढेका छन् ।भूकम्प पीडितहरुको घर पूनर्निमाणको सवालमा उनले बालुवाटारमै पुगेर प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए । हिजो (मंगलबार) मात्रै शर्माले अर्थमन्त्री विष्णु पौडेलसँग भेटेको तस्विर सार्वजनिक गरेका छन् । उनले आफ्नै फेशबुकमार्फत उक्त सार्वजनिक गरेर ‘जाजरकोट, डोटी, बझाङ केन्द्रविन्दु भई गएको भूकम्पबाट भएको क्षति र बाढी पहिरोबाट प्रभावित जिल्लाहरुको पूनर्निमाणलाई प्राथमिकताका साथ अगाडि बढाउन र बजेट विनियोजन गर्नेबारे छलफल भएको’ भनेका छन् ।
अध्यक्ष प्रचण्ड सरकारको नेतृत्वमा भएकै बेलामा जनार्दनको नेतृत्वसँग सम्बन्ध बिग्रिएको चर्चा छ । अहिले अर्का उपमहासचिव वर्षमान पुनपनि निष्क्रिय देखिन्छन् । यसअघि विभिन्न कार्यक्रममा व्यस्त देखिएका पुनले पनि ओली सरकारको जमेर आलोचना गरेका थिए । तर, अहिले अभियानमा उमहासचिवभन्दा माथिल्लो नेतामात्रै जोडिने भनेपछि उनीपनि पार्टीको अभियानमा जोडिनबाट बञ्चित भएको भन्दै रुष्ट छन् । अहिले जनार्दन र वर्षमान दुवैले पार्टीको सक्रिय राजनीतिमा फर्कन नहुने भनेर मत राखेका पूर्व उपरराष्ट्रपति नन्दबहादुर पुनलाई उपाध्यक्षको जिम्मेवारी दिएर प्रचण्डले अभियानमा जोडेका छन् ।
अभियानमा यसअघि निस्क्रिय भएका उपाध्यक्ष कृष्णबहादुर महरापनि सक्रियताका साथ लागिपरेका छन् । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा र महासचिव देवप्रसाद गुरुङपनि प्रचण्डसँगै अभियानमा देखिँदै आएका छन् । प्रचण्ड बारा, पर्सा र चितवनको अभियानमा हुँदा जनार्दन भने कोशी प्रदेशको भ्रमणमा थिए । उनी भोजपुर र ताप्लेजुङका राजनीतिक कार्यक्रममा व्यस्त थिए । शर्मालाई पूर्वबाट सुदन किरातीले दरिलो साथ दिँदै आएको बताईन्छ । प्रचण्ड नेतृत्वको सरकारमा सुदन पर्यटनमन्त्री थिए । तर, किरातीको पनि प्रचण्डको परिवारसँग खासै सुमधुर सम्बन्ध नभएको बताईन्छ । गत फागुन १ गते जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा जनार्दनले उनै सुदनलाई आफ्नो गृहजिल्लामा लगेका थिए ।
उक्त कार्यक्रममा दुवै नेता सँगै नाचेका पनि थिए । त्यतिवेलापनि कतिपय कार्यकर्ताले तस्विरमै कमेन्ट लेखेर पार्टी एक ढिक्का बनाउन भूमिका खेल्न नेताद्धयलाई झक्झकाएका थिए । अहिले जनार्दनले नेतृत्वसँग बिग्रिएको सम्बन्धलाई सुधार गरेर अघि बढ्नेतर्फ धेरै सोच्न छाडेको बताईन्छ । उनीपनि प्रचण्डलाई देखाईदिने भन्ने भावनाले एग्रेसिभ–मुभ लिनेगरि अघि बढेको उच्च स्रोतको दाबी छ । सार्वजनिक रूपमै पार्टी विभाजनको प्रश्नको सामना गर्ने गरेका र मिडिया कुराकानीमा उनले आफू पार्टी विभाजन गर्ने खेलमा नभएको प्रष्टीकरण दिएका छन् ।
उनले माओवादी आफूले पनि बनाएको पार्टी भएकोले यहीँ बसेर पार्टीको सुदृढीकरण गर्ने प्रतिबद्धता जनाएका छन् । शर्माले आफूले पार्टी नेतृत्व हत्याउन नखोजेको र अध्यक्ष प्रचण्डलाई विस्थापित गर्नपनि नचाहेको स्पष्टीकरण मिडियामार्फत नै दिएका छन् । बरु, आफूले विधिद्धारा पार्टी नेतृत्व ल्याउनुपर्ने प्रस्ताव राखेका छन् । केन्द्रीय कमिटीमा जनार्दनले पेश गरेको फरक मतको विषयमा पनि छलफल भएको र उनले अघि सारेका माग महाधिवेशनबाट नै हल गरिने प्रचण्डको आश्वासन छ । अध्यक्ष दाहालसँग शर्माको सम्बन्धमा केन्द्रीय कमिटी बैठकयता सुधार भएकोजस्तो देखिएपनि अहिले फेरि सम्बन्ध चिसिएको चर्चा छ । दुई नेताको सम्बन्धमा सुधार वा चिसिएको भन्ने कुरा निकटभविष्यमा नै प्रष्ट हुने माओवादीनिकट स्रोतको दाबी छ ।