मंगलबार , बैसाख २९, २०८३

मकवानपुर — पदबाट राजीनामा गर्न वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध चौतर्फी दबाब सिर्जना भएको छ । मुख्यमन्त्री फेर्ने विषयमा सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्र एउटै कित्तामा उभिएपछि समस्यामा परेको मुख्यमन्त्री पाण्डेविरुद्ध पार्टी नेकपा (एस)बाट पदबाट राजीनामा दिन दबाब परेको छ ।

पाण्डे गत कात्तिक ११ गते ६ महिनापछि नेतृत्व छाड्ने गरी कांग्रेस, माओवादी र जसपाको समर्थनमा सहमतिपत्रमा हस्ताक्षर गरेर मुख्यमन्त्री बनेका थिए । पाण्डेले सहमतिविपरीत केन्द्रको निर्देशनबिना राजीनामा नदिने अडान राखेपछि माओवादी र कांग्रेसले उनीविरुद्ध हस्ताक्षर संकलन गरेर दबाब सिर्जना गरेका थिए ।

लिखित सम्झौता गरेको कारण पाण्डेले पदबाट राजीनामा दिनुपर्ने उनकै दलका सांसदहरुले दबाब दिइरहेका छन् । ‘सहमति पत्रमै हस्ताक्षर गरेपछि नैतिकतामाथि प्रश्न खडा हुन्छ । त्यसकारण पनि उहाँले पदबाट राजीनामा दिनुपर्छ भन्ने आवाज पार्टीभित्र उठेको छ,’ नेकपा एसका एक सांसदले भने ।

पार्टीभित्रबाटै राजीनामा गर्न आफूलाई दबाब सिर्जना भएपछि मुख्यमन्त्री पाण्डेले संसदीय दलको बैठक काठमाडौंमा राख्ने भएका छन् । उनले पार्टी केन्द्रीय कार्यालयमै पार्टी अध्यक्ष माधव नेपालको उपस्थितिमा संसदीय दलको बैठक आह्वान गरेका छन् । बैठक शनिबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

नेकपा (एस) की सचेतक मुनु सिग्देलले संसदीय दलको बैठकमा सहमति कार्यान्वयनमा जोड दिइने बताइन् । ‘मुख्यमन्त्रीज्युलाई हामीले सहमति कार्यान्वयनमा ध्यान दिन भनेका छौं । गठबन्धनका शीर्ष नेताको निर्णयलाई मध्यनजर गरेर संसदीय दलको बैठक बोलाइएको हो,’ उनले भनिन् ।

कांग्रेस र माओवादीले हस्ताक्षर संकलन गरेपछि हेटौंडामा बसेको नेकपा (एस) को बैठकमा पनि गठबन्धनभित्र भएको सहमति कार्यान्वयन गरेर अगाडि बढ्नुपर्ने धारणा अधिकांश सांसदले राखेको थिए । ‘सहमति कार्यान्वयन नगरेर गठबन्धनमा कमजोर पार्नुहुँदैन । मुख्यमन्त्रीले सहमतिअनुसार अघि बढ्दा उचित हुन्छ,’ उनले भनिन्,‘हाम्रो संसदीय दलको बैठक सरकार परिवर्तनकै विषयमा केन्द्रित हुन्छौं । तर हामीले मुख्यमन्त्री छाड्नु पर्दा बढीभन्दा बढी र बलियो मन्त्रालय लिनेछौं ।’

नेकपा (एस) संसदीय दल उपनेता कृष्ण शर्मा खनालले पार्टी अध्यक्षको निर्देशनअनुसार आफूहरूले निर्णय गर्ने बताए । ‘संसदीय दलको बैठकमा पार्टी अध्यक्ष स्वयं उपस्थित हुने भनिएको छ । शीर्ष नेतृत्वबीचको सहमति र पार्टीको निर्देशनपश्चात् हामी थप निर्णय गर्नेछौं,’ उनले भने ।

कांग्रेस र माओवादी केन्द्रले संसदीय दलको बैठकबाट सहमति कार्यान्वयन गर्न हस्ताक्षर संकलन गर्ने र मुख्यमन्त्रीले सहजै नछाडे आफ्नो पार्टीबाट मन्त्रिपरिषद्मा सहभागी मन्त्री तथा राज्यमन्त्रीलाई फिर्ता बोलाउनेसम्मको जिम्मेवारी संसदीय दलका नेतालाई दिइसकेको छ ।

प्रदेशसभामा हाल एकसय ७ सांसद छन् । माओवादी २३, नेपाली कांग्रेस २२, नेकपा (एस) १३ र जसपाको एकसहित ५९ सांसद छन् । कांग्रेसले सहमतिअनुसार सहजै आफूले सत्ता प्राप्त गर्नुपर्ने माग गरिरहेको छ । आगामी आर्थिक वर्ष ०७९/८० को बजेट पास भएसँगै पूर्वसहमतिअनुसार कांग्रेस नेता इन्द्रबहादुर बानियाँ सत्तारोहणको तयारीमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP