
नेपाली काँग्रेसभित्र संस्थापनइतरका नेताहरु गठबन्धनबीच तालमेलको विरोधमा थिए । तर, सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा पेलेरै गए । उनले तालमेल जतिसक्दो धेरै ठाउँमा गराइछाडे ।
महानगरपालिका र उपमहानगरपालिकाहरुमा तालमेल भयो । कतिपय नगरपालिका र गाउँपालिकामा पनि तालमेल भयो ।काँग्रेसले तालमेलबाट ३२० भन्दा बढी पालिका जितेको छ । तर, काँग्रेसको संस्थापनइतरका नेताहरु तालमेलबाट नोक्शान परेको तर्क गरिरहेका छन् ।
२०७४ को चुनावमा तालमेल नगर्दा काँग्रेसले २६६ पालिका जितेको थियो । त्यतिबेला सबै दल एक्लाएक्लै चुनाव लडेका थिए । यसपटक पनि कम्युनिस्ट पार्टीहरु मिलेर चुनाव लडेको भए काँग्रेसमाथि ठूलो चुनौती हुनसक्थ्यो । यो तीतो सत्यलाई काँग्रेसको संस्थापनइतरका नेताहरु मान्न तयार छैनन् ।
वास्तवमा गठबन्धनबीच तालमेल नभएको भए काँग्रेसलाई ठूलो धक्का पर्नसक्ने चुनावी नतिजाले देखाइसकेको छ । अर्कोतर्फ, एमाले फुटेको लाभ काँग्रेसले नै लियो ।काँग्रेसले माओवादी,
नेकपा एस र जसपासँग तालमेल नगरेको भए कम्युनिस्ट पार्टीहरुबीच नै तालमेल हुने वातावरण विकास हुन्थ्यो भन्ने पछिल्लो घटनाक्रमले देखाइसकेको छ । अहिले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई मिलाउने पहल चलिसकेको छ ।
एमाले र माओवादीका दोस्रो र तेस्रो तहका नेताहरु पार्टी मिलाउन लागिपरेका छन् । प्रचण्डले आफूमाथि द’बाब बढिरहेको भन्दै आएका छन् । माधव नेपाल चुनावी नतिजाप्रति सन्तुष्ट छैनन् । आफूहरुलाई बेवास्ता भएको भन्दै आएका छन् ।
झलनाथ खनालले ओलीसँगको एकताको सम्भावना औल्याइसकेका छन् ।माओवादी नेता वर्षमान पुन प्रचण्ड र ओली मिलाउन सक्रिय छन् । अरु नेताहरुको पनि सक्रियता बढेको छ । यसले नयाँ घ’टना विकास हुनसक्ने देखिएको छ ।
ओली, प्रचण्ड र माधव नेपाल मिलेर चुनाव लडेमा काँग्रेसले ठूलो धक्का खाने अवस्था बन्न सक्छ । त्यतिबेला विकल्पमा काँग्रेसले पनि वृहत लोकतान्त्रिक एकताको विकल्प रोज्न सक्छ ।
अर्थात्, काँग्रेसका लागि राप्रपा, जसपा, लोसपा जस्ता दलहरुसँग सहकार्यको विकल्प रोज्नुपर्ने वाध्यता हुनसक्छ । गैर कम्युनिस्ट शक्तिबीच चुनावी तालमेल भएमा ओली, प्रचण्ड र माधव नेपाललाई मिल्दा पनि आफ्नो दललाई चुनाव जिताउन सजिलो नहुनसक्छ ।
यो पनि : चितवनमा जिसस प्रमुख र उपप्रमुखको लागि गोलाप्रथा हुने
चितवनमा जिल्ला समन्वय समिति (जिसस)को प्रमुख र उपप्रमुखको लागि गोला प्रथा हुने भएको छ । पाँच दलीय गठबन्धन र नेकपा (एमाले)सँग बराबर मतदाता हुने भएपछि जिससको लागि गोलाप्रथा हुने भएको हो ।
जिसस प्रमुख र उपप्रमुखको निर्वाचनमा पालिका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षले मतदान गर्न पाउँछन् । चितवनमा जिससको निर्वाचनमा सात पालिकाका १४ जना मतदाताले मतदान गर्ने छन् । जिससको निर्वाचन जित्न कम्तिमा आठ मत ल्याउनुपर्छ ।
पाँच दलीय गठबन्धनले तीन पालिका प्रमुख र दुई उपप्रमुख जितिसकेको छ । भरतपुर महानगरको प्रमुख र उपप्रमुख पनि जित्ने पक्का भइसकेको छ । अहिले भरतपुर महानगरपालिकाको मतगणना भइरहेको छ । मत गन्न बाँकी रहेका भरतपुरका तीनवटै वडाको सबै मत एमाले–राप्रपाले पाए पनि जित्ने सम्भावना टरेको छ ।
यससँगै जिससको निर्वाचनका लागि गठबन्धनसँग सात भोटमात्रै हुने भएको छ । एमालेको एक्लै सात भोट छ । एमालेले तीन पालिका प्रमुख र चार उपप्रमुख जितेको छ ।जिसस जित्न गठबन्धन र एमाले दुवैसँग पर्याप्त भोट नपुग्ने निश्चित छ ।
अब गठबन्धन वा एमाले कुनै एउटा पक्षले अर्को पक्षको एउटा भोट आफूतिर तान्नुपर्ने अवस्था बनेको छ । यदि त्यसो नभए जिससको प्रमुख र उपप्रमुखको लागि गोला प्रथा हुने छ ।पालिकामा कार्यपालिका सदस्यको निर्वाचन सकिएपछि मात्रै जिससको निर्वाचन हुने,
जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । जिससको निर्वाचनमा बराबर मत आए गोलाप्रथाबाट जिसस प्रमुख र उपप्रमुख निर्वाचित हुने उनले बताए ।‘जिससको निर्वाचनमा पालिका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउँछन् ।
पालिकाको वडाध्यक्ष वा सदस्यमा निर्वाचित जनप्रनिधिले जिसस प्रमुख र उपप्रमुखको लागि उमेदवारी दिन पाउँछन्’, उनले भने, ‘मत बराबर आए गोला प्रथाबाट जनप्रतिनिधि छान्ने काम हुन्छ ।’
पालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यका उमेदवार निर्वाचित भएको घोषणा भएको १५ दिनभित्र कार्यपालिका सदस्यको लागि निर्वाचन गर्नुपर्ने कार्कीले जानकारी दिए ।
नगरपालिकामा तीन जना र गाउँपालिकामा दुई जना कार्यपालिका सदस्य निर्वाचित हुने उनले बताए । त्यसको लागि पालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यले मत हाल्न पाउँछन् । कार्यपालिका सदस्यको निर्वाचन निर्वाचन अधिकृतले गराउने कार्कीले बताए ।
‘कार्यपालिका सदस्यको निर्वाचनमा दलित र अल्पसंख्यकलाई दलहरुले उमेदवार बनाउन पाउँछन् । निर्वाचन अधिकृतले त्यसको निर्वाचन गराउने व्यवस्था छ’, उनले भने ।