सोमबार , भाद्र १५, २०८३

पर्यटनमन्त्री प्रेम आलेले शुक्रबार विराटनगरमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पुरानो हिन्दी फिल्म ‘दिलवाले’को डायलगमार्फत् सम्झिएका छन्।

आजदेखि सुरू भएको विराट ट्रेड एक्स्पोको उद्घाटनका लागि आएका आलेले नेकपा विभाजनदेखि एमाले विभाजनसम्मको अवधि ओलीले निम्त्याएको वितण्डा भएको बताउँदै दिलवालेको चर्चित डायलग सम्झेका हुन् ।

नब्बेको दशकमा ज्यादै चर्चा पाएको अजय देवगण, रविना टन्डन, सुनिल सेट्टी अभिनित सो चलचित्रमा अजयले बोलेको एउटा डायलग बहुचर्चित बनेको थियो।

फिल्ममा अजय भन्छन्, ‘हमे तो अपनो ने लुटा, गैरो मे कहाँ दम था, मेरी किस्ती डुबी थि वहाँ, जहाँ पानी कम था।’

दुइटा ठूला कम्युनिष्ट पार्टी मिलेर बनेको नेकपा अहिले तीन चिरामा विभक्त हुनुको मुख्य दोषी एमाले अध्यक्ष केपी ओली भएको बताउँदै आलेले थोरै परिमार्जन गरेर दिलवालेको डायलग सम्झिए।

उनले भने ‘हमे तो अपनो ने लुटा, गैरो मे दम कहाँ था, मेरी किस्ती डुबी थि वहाँ जहाँ कम पानी था।’

‘यही डायलगजस्तै भयो नेकपाको अवस्था,’ उनले भने, ‘यो अवस्था कसले ल्यायो, उसलाई वैशाख ३० को चुनावमा जनताले हिसाब गरिदिनेछन्।’

ओलीको नाम उल्लेख नगरी उनले नेतृत्वका रूपमा यसको जिम्मेवारी ओलीले लिनुपर्ने बताए।

कार्यक्रममा विराटनगरका उद्योगी व्यवसायीहरूले विराटनगर विमानस्थलको अवस्था सुधारको माग गरेका थिए।

जवाफमा मन्त्री आलेले आगामी बजेटबाट माग सम्बोधन हुने वचन दिए।

‘बन्दुकबाट निस्केको गोली र प्रेम आलेको बोली उस्तै हो,’ आलेले जिकिर गरे, ‘म गर्छु भनेपछि गर्छु।’

मोरङ व्यापार संघले आयोजना गरेको रमपम ट्रेड एक्स्पोको उद्घाटन मन्त्री आलेले गरेका छन्।

आज सुरू भएको एक्स्पो चैत २६ गतेसम्म सञ्चालन हुनेछ। एक्स्पोमा ४५ करोडको कारोबार हुने आयोजकको अनुमान छ।

एक्स्पोमा ८० वटा एसीसहितका ६० वटा कुलरसहितका र १०६ वटा सामान्य स्टल छन्।

एक्स्पोमा दर्शकलाई मनोरञ्जन प्रदान गर्न विभिन्न मनोरञ्जनात्मक कार्यक्रम हुनेछ। त्यस्तै, जिपलाइन, रिभर्स बन्जी र जिप साइक्लिङ लगायतका साहसिक खेलकुदको व्यवस्था पनि गरिएको छ।

एक्स्पोमा आयोजकले लण्डन ब्रिज, बुर्ज खलिफा, बुर्ज अल अरब, सेन्ट वेसिल जस्ता अन्तर्राष्ट्रिय संरचनाको नमूना राखेर आकर्षण थपेको छ।

फोटो खिच्न मन पराउनेहरूका लागि सेल्फी जोन र साहसिक खेलहरू पनि रहेको छ। नौ दिन चल्ने एक्स्पोमा नेपालसँगै भारत, बंगलादेश र पाकिस्तानका उत्पादनहरूसमेत बिक्री वितरण हुनेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP