
चितवनको भरतपुर महानगरपालिकाको मेयरका लागि माओवादी केन्द्रकी रेणु दाहाल र एमालेका देवी ज्ञवाली फेरि आमनेसामने हुने संकेत देखिएको छ । २०७४ को स्थानीय चुनावमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट दाहाल र एमालेका ज्ञवालीवीच कडा प्रतिस्पर्धा भएको थियो ।
एमाले पङ्क्तिले भने दाहाल पक्षले धाँधली गरेर चुनाव जितेको आरोप लगाउँदै आएको छ । १५ जेठ ०७४ मा भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना भइरहँदा मध्यरातमा मतगणनास्थलमै दाहाल पक्षले ९१ वटा मतपत्र च्यातेका थिए ।
उक्त घटनापछि पुनः मतदान गरेर दाहालले २ सय ३ मत बढी ल्याएर ज्ञवालीलाई पराजित गरेकी थिइन् ।आफूलाई धाँधली गरेर हराएको बताउने एमालेका केन्द्रीय सदस्यसमेत रहेका ज्ञवालीले पुनः मेयर उठ्ने इच्छा व्यक्त गरेका छन् ।
अघिल्लो पटक धोखाधडी गरेर हराइएको बदला लिन पनि यसपटक एमालेले ज्ञवालीलाई भरतपुरको मेयरमा उठाउने सम्भावना बलियो छ ।ज्ञवालीले मेयर पदमा उठ्ने आकांक्षा व्यक्त गरे पनि एमालेले भरतपुरमा कसलाई मेयरको उम्मेदवार बनाउने भन्ने निर्णय गरिसकेको छैन । एमालेभित्र उपमहानगर र महानगरका उम्मेदवार तोक्ने जिम्मा केन्द्रीय कमिटीलाई दिइएको छ ।
नारायणकाजी श्रेष्ठ मन्त्री बन्ने !
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल पुर्नगठन गर्ने तयारी गरेका छन् । उनले १५ चैत्र अगावै मन्त्रीमण्डल पुर्नगठन गर्ने तयारी गरेका हुन् ।मन्त्रिमण्डल हेरफेर गर्दा माओवादीले लिदै आएको केही मन्त्रालयमा पनि हेरफेर हुने बुझिएको छ ।
नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ मन्त्री बन्ने बुझिएको छ । उनले उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्रीको दाबी गरेको बुझिएको छ ।यसअघि उपप्रधानमन्त्री नराख्ने भनेका देउवाले श्रेष्ठलाई सरकारमा ल्याउनुपरेमा काँग्रेसबाट पनि उपप्रधानमन्त्री राख्ने विश्वस्त स्रोतले बताएको छ ।
काँग्रेसबाट सुजाता कोइराला सरकारमा सहभागी हुने बुझिएको छ ।नेकपा एकीकृत समाजवादी पार्टीबाट विरोध खतिवडा र रामकुमारी झाँक्रीको साटो जीवनराम श्रेष्ठ र मेटमणि चौधरी मन्त्री बन्ने निश्चितप्रायः छ ।
प्रेम आले र किसान श्रेष्ठलाई पनि फिर्ता बोलाउने तयारी भइरहँदा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले उनीहरुलाई सरकारमै राख्नेबारे कुराकानी गरेको बुझिएको छ ।
देउवाले महन्थ ठाकुर नेतृत्वको जनता समाजवादी पार्टीलाई पनि सरकारमा सहभागी गराउने पहल गरिरहेका छन् ।लोसपालाई दुई मन्त्रालय दिन देउवा सकारात्मक भएको तर ठाकुरले तीन मन्त्रालय मागेको विश्वस्त स्रोतले बताएको छ ।
के हो समाजवाद र पुँजीवाद ?
अहिले नेपालमा नेपाली राजनीतिक दलहरुले आफूलाई समाजवादी भनेर नामको पछाडि फुर्को जोड्ने चलन बढ्दै गइरहेको छ । यो सँगसँगै नेताहरुको बोलीमा समेत समाजवाद र पुँजीवादका बढी कुराहरु आउने गर्छन् ।
समाजवादी पार्टी भनेर फुर्को जोड्नेहरुमा जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टी लगायत केही ठूला पार्टी हुन् भने अन्य दलहरुले पनि समाजवादी भन्ने नामसँग साइनो गाँस्न रुचाएका छन् । त्यस्तै नेपाली काँग्रेसले समाजवादलाई पार्टीको सिद्धान्तमा राखेता पनि आफूलाई बढी मात्रामा पुँजीवादी पक्षधर भन्ने गर्दछ ।
समाजवाद आफैमा एउटा अति राम्रो शब्द हो तर यो शब्दको धेरैले दुरुपयोग गर्ने गरेका छन् । र,समाजवादी आचरण देखाउँदैनन् । त्यस्तै आफूलाई समाजवादी वा पुँजीवादी पक्षधर भन्नेहरुले पनि समाजवाद र पुँजीवाद भनेको खासमा के हो भन्ने विस्तृतमा बुझेका छैनन् ।
कार्यकर्ता तहसम्म कसैले यसबारे प्रश्न गरेमा अक्क न बक्क बन्नुपर्ने स्थिति छ । यही सन्दर्भमा समाजवाद र पुँजीवाद के हो भन्नेमा आधारित रही यो आलेख प्रस्तुत गरिएको छ ।
वास्तवमा समाजवाद राज्यको त्यस्तो आर्थिक अवस्थासँग गाँसिएको शब्द हो,जहाँ देशको सम्पूर्ण अर्थतन्त्रको स्वामित्व सरकारमा निहित हुन्छ । यसलाई अर्को शब्दमा सामाजिक स्वामित्व पनि भनिन्छ । यदि सामाजिक स्वामित्व नीति अँगाल्ने राज्य छ भने त्यसलाई समाजवादी राज्य भनिन्छ ।
सामाजिक स्वामित्व भन्नाले वस्तुको उत्पादन,नियन्त्रण र व्यवस्थापन सबै राज्यमै हुनु हो । यसरी समाजवादको सिद्धान्तलाई वकालत गर्ने व्यक्ति वा समूहलाई समाजवादी भनिन्छ । समाजवादमा निजीत्वको सम्भावना न्यून हुन्छ र सामूहिकताको सम्भावना बढी हुन्छ ।
समाजवादमा कुनैपनि कच्चा पदार्थ,औजार र उपकरण,कलकारखाना तथा श्रम सबै उत्पादनसँग सम्बन्धित तत्व हुन् । र,यसबाट उत्पादित वस्तु समूहमा संकलन गरिन्छ । अनि आवश्यकता अनुसार वितरण गरिन्छ वा यसमा निजी संघ संस्थाको कुनै गुन्जायस छैन भनिन्छ ।
सामाजिक स्वामित्वका पनि विभिन्न प्रकार छन्,जसलाई आफ्नो देश र परिवेश सुहाउँदो तरिकाले लागु गर्न सकिन्छ । जस्तै ः साझा स्वामित्व,सहकारी संस्था,प्रत्यक्ष सार्वजनिक स्वामित्व र राज्यद्वारा सञ्चालित स्वतन्त्र संस्थान आदि ।
समाजवादी सिद्धान्त लागु गरिएका देशमा व्यक्तिले गरेका उत्पादनलाई तलब वा सामानका रुपमा प्रदान नगरी उनीहरुको स्वास्थ्य,शिक्षा,सुरक्षा र अन्य आवश्यक प्रयोगमा लगाउने गरिन्छ भने लेनिनवादी दृष्टिकोणमा चाहिं राज्यले संकलन गरेका यस्ता उत्पादनलाई आवश्यकताका आधारमा नभई कामका आधारमा वितरण गनुपर्छ भन्ने रहेको छ ।
संसारका अधिकांश कम्युनिष्ट मुलुकहरुले आफूलाई समाजवादी मुलुक भन्न रुचाउँछन् र ती राज्यले सामाजिक स्वामित्व विधि अपनाउँछन् । समाजवादको उस्तै अर्थ कम्युनिष्ट हो,त्यसकारण प्रायः कम्युनिष्टहरुले नै आफूलाई समाजवादको व्याख्याता र समाजवादी भन्ने गर्छन् । उदाहरणको लागि उत्तर कोरिया,भियतनाम,क्युवा आदि । तर चीनले आफूलाई समाजवादी भन्दा पनि पुँजीवादी राज्य भन्न रुचाउने गर्छ ।
समाजवादसँग आउने अर्को शब्द पुँजीवाद पनि हो । यहाँ पुँजीवाद समाजवादको ठिक विपरीत अर्थ राख्छ । समाजवादले श्रम,उत्पादन र नियन्त्रण व्यक्तिको नभई संयुक्त रुपमा समाजको वा राज्यको हुन्छ भन्ने मान्यता राख्छ भने पुँजीवादले श्रम,उत्पादन र त्यसको नियन्त्रण व्यक्ति स्वयंको हुने कुरा गर्छ ।
वस्तु उत्पादन भएपछि त्यसको बिक्री वितरण खुला बजारमा प्रतिस्पर्धाको माध्यमबाट दर कायम गरेर हुन्छ भन्नु पुँजीवाद हो । त्यस्तै पुँजीवाद र कम्युनिज्मबीच फरक छुट्याउने हो भने कम्युनिज्ममा उत्पादन र त्यसको पारिश्रमिक आफूले काम गरेको आधारमा पाउनुपर्ने हुन्छ भन्ने कुरा पाईन्छ । यसरी शुद्ध समाजवाद र समाजवादी अवस्था पाउन अहिले निकै कठिन छ र यो अवस्था कुनै मुलुकमा पनि पाईंदैन ।
विश्वको औद्योगिक क्रान्ति पश्चात प्लेटोको समयावधिमा बढी मात्रामा प्रचलनमा आएको यो समाजवादी व्यवस्था हाल इतिहास भैसकेको छ । वास्तवमा समाजवादको यो सिद्धान्तलाई सन् १८३० को सेरोफेरोमा आइपुग्दा विभिन्न रुपले अर्थ लगाउने गरिएको इतिहास छ ।
सन् १८४८ मा आइपुग्दा पुँजीवादका प्रमुख व्याख्याता कार्ल मार्क्स र एंगेल्स्ले ल्याएको कम्युनिष्ट घोषणापत्रमा समाजवादलाई हरेकको स्वतन्त्र विकासको शर्त नै सबैको स्वतन्त्र विकास हो भन्ने धारणा आएपछि यसको व्याख्या वैज्ञानिक समाजवादको ढंगले हुन थालेको हो ।
मार्क्स र एंगेल्सले ल्याएको त्यतिबेलाको अवधारणा समाजमा रहेका कुरीति,अन्धविश्वास,थिचोमिचो,चरम गरिबी,काला र गोरा बीचको प्रवृत्ति वा दास प्रथा आदि सुहाउँदो थियो,जसले गर्दा यो निकै लोकप्रिय हुनपुग्यो र मार्क्सको दर्शन अहिलेसम्म पनि उत्तिकै सह्रानीय रहेको छ ।
तर अहिलेका कम्युनिष्टले गर्ने समाजवादको व्याख्या भन्दा अहिलेको परिवेशमा सामाजिक प्रजातन्त्र वा प्रजातान्त्रिक समाजवाद भन्ने अवधारणा नै भरपर्दो र कार्यान्वयन योग्य हुन पुगेको छ । प्रजातान्त्रिक समाजवादमा उत्पादनमा राज्यको पूर्ण नियन्त्रण नभई जनताद्वारा निर्वाचित सरकारले उत्पादन र आयलाई स्वच्छतापूर्वक वितरण गर्छ ।
र,आर्थिक वृद्धिविकासलाई बढी महत्व दिन्छ भन्ने मान्यता स्थापित भएको छ । यही मान्यतालाई स्वीडेन र डेनमार्कले अपनाएका छन् । चीन जस्तो कम्युनिष्ट मुलुकले पनि यसलाई परिमार्जन गरी आत्मसात गरेको छ र चीन विश्व अर्थतन्त्रमा उदाउँदो सर्वशक्तिमान राष्ट्र बन्ने क्रममा रहेको छ ।
यसरी निष्कर्षमा के भन्न सकिन्छ भने कम्युनिष्ट र समाजवाद राजनीतिक र आर्थिक प्रणालीको रुपमा रहेको छ भने पँुजीवाद एक आर्थिक प्रणालीको रुपमा र प्रजातन्त्र राजनीतिक पाटोको रुपमा रहेको छ । यसको अर्थ समाजवादीले कम्युनिष्ट सिद्धान्तको राजनीति गर्छन् भने पुँजीवादीले पुँजीलाई आर्थिक प्रणालीको रुपमा विकास गर्ने र प्रजातन्त्रलाई राजनीतिक प्रणाली मान्दछन् । त्यसकारण सबै कम्युनिष्ट समाजवादी हुन् भने सबै समाजवादी चाहिं कम्युनिष्ट होइनन् ।
जे होस् अहिलेको बदलिँदो परिवेशमा विश्वभरबाट कम्युनिष्ट वा समाजवादी सिद्धान्त एक हिसाबले असफल साबित भैसकेको अवस्थामा संसारभर पुँजीवादको लहर आएको छ । नेपालले पनि पुँजीवादकै बाटो समाएको छ । यस्तो स्थितिमा पुँजीवादबाट हुने फाइदाको बारेमा बुझ्नुपर्ने हुन्छ । पुँजीवाद नै अहिलेको एक्काइसौं शताब्दीको सफल प्रयोग हो र यसलाई अपनाउनुपर्छ भन्ने पक्षमा निम्न मत अगाडि राख्न सकिन्छः
̵ व्यक्तिगत उत्पादनलाई खुला बजारमा प्रतिस्पर्धा गर्न दिँदा उपभोक्तालाई कम मूल्यमा,बढी गुणस्तरीय र मन लागेका उत्पादन प्रयोग गर्ने बाटो खुल्छ ।̵ खुला बजारको प्रतिस्पर्धालाई अनुमान गरी व्यक्तिले आफ्नो क्षमतालाई भरमग्दुर उपयोग गरी बढी उत्पादन गर्ने र बढी श्रम गर्ने क्षमता विकास गर्छ,जसले गर्दा उत्पादकत्वमा वृद्धि हुन्छ ।